नेपाल प्रेसमा प्रकाशित समाचारप्रति सरिता तिवारीको खण्डन – Nepal Press

नेपाल प्रेसमा प्रकाशित समाचारप्रति सरिता तिवारीको खण्डन

काठमाडौं । नेपाल प्रेसमा आफ्नाबारे प्रकाशित सामग्रीहरुलाई लिएर लेखिका सरिता तिवारीले असन्तुष्टि जनाएकी छन् । प्रकाशित समाचार तथा विश्लेषणबाट आफूलाई चोट पुगेको उनको गुनासो छ ।

तीनवटा समाचार शीर्षक उल्लेख गर्दै तिवारीले नेपाल प्रेसमा खण्डन पठाएकी हुन् । आफूले ७ वर्षअघि भोगेको यौनजन्य दुर्व्यवहार सार्वजनिक गरेको विषयमा प्रकाशित समाचारले आफूमाथि अन्याय भएको उनले आरोप लगाएकी छन् ।

तिवारीले पठाएको खण्डन जस्ता तस्तैः

ममाथि २०७२ मा भएको यौनजन्य दुर्व्यवहारविरुद्ध पीडक संलग्न संगठनमा उजुरी दिई गत असार १४ गते उक्त संगठनले तोकेका व्यक्तिहरुको रोहबरमा पीडकले ममाथिको यौन हिंसाको मुद्दामा माफी मागेको विषयबारे यही सन्चार संस्थाले समेत समाचार लेखेको कुरा यहाँलाई विदितै हुनुपर्छ । यो विषयमा विभिन्न सन्चारमाध्यमबाट कतिपय गलत सूचना प्रवाह भएका र आफ्ना भनाइ प्रस्ट पार्नुपर्ने भएकाले मैले फेसबुक लाइभमार्फत् बोलेको भिडियोसमेत यहाँकै अनलाइनले समेत आर्काइभ गरेको छँदैछ । समाचार र सूचना प्रकाशन गर्ने कुनै पनि संस्थाले मेरो उक्त विषयमा समाचारहरु प्रकाशन गर्दा अन्यथा मान्नुपर्ने केही थिएन । तर यस प्रसंगमा लेखिएका तपसिलका केही समाचार र विश्लेषण भने म न्यायको अपिल गर्दै बोलिरहेको पीडितविरुद्ध न्यायको आधार नै मर्नेगरी, मेरो चरित्रदोष देखाएर ममाथि गम्भीर सामाजिक लान्छना थोपर्ने गरी, जानेर/नजानेर मेरो चरित्रहत्या नै हुने गरी लेखिएको मैले महसुस गरें । दुई घण्टा पन्ध्र मिनेट बढीको फेसबुक लाइभमार्फत् आफूले भोगेको सात वर्ष पहिलेको यौन हिंसा र त्यसको न्यायिक पहल गर्दाका कष्टप्रद उतारचढाव सबै सार्वजनिक गरी स्पष्ट नै पारिसकेको विषयमा आम मनोविज्ञानलाई दिग्भ्रमित पारी न्यायको मक्सदलाई असर पार्ने त्यस्ता समाचारले ममाथि ठूलो अन्याय भएको छ । त्यही कारण म र मेरो परिवारलाई, विशेषगरी मेरा किशोरावस्थाका छोराछोरीलाई अत्यन्तै गहिरो मानसिक असर परेको छ । ती समाचारहरुले मेरो न्यूनतम मानव अधिकार र संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६) को हननमात्रै गरेका छैनन् हदम्याद नाघेकै कारण मुद्दालाई अमुक संगठनभित्र लगी न्यायिक प्रक्रिया बढाउनुपरेको र त्यसपछि प्रकाशित भएका कतिपय गलत समाचारका कारण घटना नै सार्वजनिक गरी आफू मानसिक रुपले तनावमुक्त भई न्यायको प्रत्याभूति गर्न सकिने स्थिति बनोस् भन्ने ध्येय राख्दा उल्टै पीडितलाई नै लान्छित गरी मेरो कष्टलाई थप तनावपूर्ण बनाइदिएका छन् । यौन हिंसाबारे जहिले बोले पनि पीडितको सुनुवाइ हुने भनी छिमेकी देश भारत (हेर्नुहोस्ः प्रिया रमानीविरुद्ध एम जे अकबर मुद्दा) लगायत संसारका कतिपय देशका अदालतले समेत नजीर स्थापित गरिसकेको अवस्थामा कुनै महिलाले आफूमाथि भएको यौन हिंसाबारे तथ्यसहित बोल्न उभिँदा तपाईंसम्बद्ध सन्चार संस्थाले गरेको यस्तो असंवेदनशील लेखन/प्रकाशनले पीडितमाथि पर्न गएको नैतिक, मानसिक असर र त्यसको प्रभाव कस्तो रहला, गम्भीर विचार गरियोस् । यस सन्चार संस्थाबाट ममाथि भएको यस्तो अन्यायविरुद्ध २०७९ साउन ६ गते मैले प्रेस काउन्सिल नेपालसमक्ष उजुरी दिई त्यसबारे राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगसमक्ष समेत संज्ञानपत्र पठाइसकेकी छु ।

मेरो न्यायिक पहललाई विषयान्तर गरी आफूलाई दोषमुक्त बनाउन विपक्षले पेश गरेका तथ्यहरुले ममाथि भएको यौन हिंसालाई ठीक र जायज ठहर गर्न सक्दैनन् भन्ने सामान्य हेक्कासमेत नराखी यहाँको सन्चारमाध्यमबाट प्रकाशित तपसिलका सबै समाचारको म कठोरतापूर्क खण्डन गर्छु । त्यसरी समाचार लेखिनुको मक्सद म र मेरो न्यायिक पहललाई खारेज गर्नु नै ठहरिन्छ भन्ने निर्क्योल गरी यस्तो अन्यायपूर्ण समाचारका कारण मैले व्यहोर्नुपरेको सामाजिक लान्छना, मानमर्दन साथै मानसिक/मनोवैज्ञानिक क्षतिमाथि आत्मालोचना र माफीसहित nepalpress.com मा छापिएका ती समाचारहरु तुरुन्त हटाउनुहुन अनुरोध गर्दछु । राज्यको चौथो अंगका रुपमा आवद्ध यहाँको संस्थाले मलगायत सबै महिला तथा अन्य लिङ्गीमाथि हुने यौनजन्य हिंसामा उचित सम्वेदनशीलता प्रदर्शन गरोस् र आइन्दा यसरी न्यायको ध्येय नै मर्ने गरी आम जनमानसलाई दिग्भ्रमित गर्ने समाचार प्रकाशन नगर्ने सतर्कता अपनाओस् भन्ने पनि कामना गर्दछु । सूचना, ज्ञान प्रशारण र न्यायको क्षेत्रमा काम गर्न रुचि राख्ने व्यक्ति भएकाले म आगामी दिनहरुमा यहाँको संस्थाले प्रदर्शन गर्ने सम्वेदनशीलता र पक्षधरता कस्तो रहनेछ भन्ने विषयमा पनि निरन्तर सचेत अध्ययन गर्ने नै छु ।
धन्यवाद ।

सम्पादकीय नोटः
महिला हिंसा र दुर्व्यवहारसँग सम्बन्धित गम्भीर विषयहरुलाई नेपालप्रेसले लगातार उजागर र पैरवी गर्दै आएको सर्वविदितै छ । यस्ता मुद्दाहरुमा हामी यथेष्ट संवेदनशील छौं । यद्यपि घटनाको यथार्थ विश्लेषण नगरिकन कसैको व्यक्तिगत बयानलाई नै सर्वोपरि सत्य मानेर अर्को पक्षलाई हानी-नोक्सानी पुर्याउने भूल पनि हामी गर्दैनौं ।

सरिता तिवारीका सन्दर्भमा हामीबाट कुनै व्यक्तिगत पूर्वाग्रह राखिएको छैन । उहाँले उद्धृत गर्नुभएका सामग्रीहरुको समीक्षा गर्दा ती पत्रकारिताका मूल्य-मान्यताको दायराभित्रै रहेको तथा सत्यबाट विचलित नरहेको हाम्रो निष्कर्ष छ । उहाँको मागबमोजिम प्रकाशित सामग्रीहरु हटाउन असमर्थ छौ‌ं । पत्रकार आचारसंहिता तथा विभिन्न नियम-कानूनअनुसार पनि एकपटक प्रकाशित सामग्री तथ्य-प्रमाणबाट गलत सावित नभएसम्म हटाउन नमिल्ने स्मरण गराइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर