विमानबाट समातिएका सन्तोष- कसरी पायो प्रहरीले भारतबाट सुनचाँदी चोरीको सुराक ? – Nepal Press

विमानबाट समातिएका सन्तोष- कसरी पायो प्रहरीले भारतबाट सुनचाँदी चोरीको सुराक ?

कैलाली । भारतको पन्जाब, दिल्लीलगायतको क्षेत्रबाट एक करोडभन्दा बढीको सुनचाँदी चोरी भएको सूचना पाएसँगै अनुसन्धान थालेको थियो । केही ढिला गरी प्राप्त यो सूचनाको आधारमा विभिन्न कोणबाट अनुसन्धान थालेको प्रहरीले यो अवधिमा धनगढी र अत्तरियाबाट तीनजना पक्राउ गर्‍यो । तीमध्ये केही चोरीमा र केही चोरीका सामान व्यवस्थापनमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछानेलाई पक्राउ गरेपछि थप तथ्य बुझ्न सहज भएको प्रहरीको भनाइ छ । कैलाली प्रहरीकै सूचनाको आधारमा मुम्बई उड्न लागेको नेपाल वायु सेवा निगमको जहाजबाट यात्रु ओरालेर उनलाई पक्राउ गरिएको थियो ।

पहिलो चरणमा पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । उनलाई भारतको मुम्बई जान लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।

‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ । अहिलेसम्म चारजना पक्राउ परेका छन्’ एक प्रहरी उच्च अधिकारीले भने, ‘पहिलो चरणमा अत्तरिया र धनगढीबाट तीनजना र एकजना काठमाडौंबाट पक्राउ गरेका छौँ ।’

चोरीको सुन किनेको आरोपमा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेलाई आज कैलाली पुर्‍याइएको छ । यो घटनामा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

‘यस्ता घटनामा अन्यको पनि संलग्नता हुन सक्छ’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर