युएन साइप्रस शान्ति मिसनमा खटिने पहिलो नेपाली पुलिस अफिसर बने अधिकारी
काठमाडौं । नेपाल प्रहरीका डीएसपी मोहनमणी अधिकारी संयुक्त राष्ट्र संघको साइप्रस शान्ति मिसनका लागि खटिने पहिलो प्रहरी अधिकृत बनेका छन् ।
राष्ट्र संघले विश्वव्यापी विज्ञापनबाट अधिकारीलाई छनोट गरेको थियो । अधिकारी २०६७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । अधिकारीलाई मिसनको प्लानिङ अफिसरको जिम्मेवारी दिइएको छ ।
‘विश्वभरबाट छनोट हुन पाएकोमा निकै खुशी लागेको छ । यो मेरा लागि मात्र नभएर नेपालका लागि पनि खुशीको कुरा हो’, हाल कार्यक्षेत्रमा रहेका अधिकारीले नेपाल प्रेससँग भने ।
प्रहरीका डीएसपी र एसपी दर्जाका लागि उक्त विज्ञापन आह्वान गरिएको थियो । नेपालबाट दुई जना सर्ट लिस्ट भएका थिए ।
शसस्त्र प्रहरीका एक जना एसपी पनि सर्ट लिस्टमा परेका थिए । अधिकारी कम्तिमा एक वर्ष उक्त जिम्मेवारीमा रहनेछन् ।