चिनियाँ नागरिककाे अपहरणमा प्रहरी संलग्नता- कलसेन्टर अप्रेसनपछि ट्रयापमा पार्न खाेजिएकाे प्रारम्भिक निष्कर्ष – Nepal Press

चिनियाँ नागरिककाे अपहरणमा प्रहरी संलग्नता- कलसेन्टर अप्रेसनपछि ट्रयापमा पार्न खाेजिएकाे प्रारम्भिक निष्कर्ष

काठमाडौं। बुधबार साँझ प्रहरीसहितको गिरोहबाट अपहरणमा परेका चिनियाँ नागरिक अवैध कल सेन्टर संचालनमा सक्रिय भएको हुन सक्ने प्रारम्भिक निस्कर्ष निकालिएको छ। चिनियाँ नागरिक याङ याङ कल सेन्टर संचालनमा सक्रिय रहेको हुन सक्ने केही प्रमाणहरु फेला परेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए।

पछिल्लो समय चिनियाँ नागरिकहरुले संचालन गरेका कल सेन्टरमा प्रहरीले अप्रेसन चलाएपछि गिरोहले पैसा उठाउन याङलाई अपहरण गरेको हुन सक्ने प्रारम्भिक निस्कर्ष निकालिएको हाे।

प्रहरीले पछिल्लो दुई साता यता रुपन्देही र काठमाडौंमा गरी तीनवटा कल सेन्टरमा छापा मारेको छ। चिनियाँको लगानी रहेको भनिएका ती कल सेन्टरबाट मासिक करोडौँ रुपैयाँ ठगी हुने गरेको दावी प्रहरीको छ। प्रहरीको यहि अप्रेसनको डर देखाएर याङबाट फिरौती उठाउन खोजिकएको अनुसन्धान अधिकारी बताउछन्।

लाजिम्पाटस्थित एक फ्ल्याटमा बस्दै आएका याङलाई दुई जना प्रहरीसहितको टोलीले बुधबार अपहरण गरेर नयाँ बसपार्कस्थित एक होटलमा बन्धक बनाएको दावी गरिएको छ। काठमाडौं प्रहरीका अनुसार अपहरणकारीले याङका आफन्तसँग एक करोड रुपैयाँ फिरौती माग गरेका थिए।त्यसबारे सूचना पाएको प्रहरीले दुई जना प्रहरीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी जवान २८ वर्षीय शिव सुनार र हवल्दार ३७ वर्षीय कर्णबहादुर गुरुङसहित छन्।

गुरुङ उच्च अदालत पाटनका एक न्यायाधिशका पीएसओ हुन्। पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। उनीहरुको साथबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल बरामद भएको थियो। गिरोहले याङका दोभाषे २६ वर्षीय सुर्यबहादुर राईलाई नियन्त्रणमा लिएर उनीसम्म पुगेको र बन्धक बनाएको दावी प्रहरीको छ।

पक्राउ पर्ने अन्यमा गोरखाको सिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दीका २९ वर्षीय रोहित मगर, प्युठानको प्युठान नगरपालिकाका २८ वर्षीय विशाल मगर र नुवाकोटोको शिवपुरी गाउँपालिकाका २७ वर्षीय विनोद केसी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *