निहारिकाले फेरि सुरु गरिन् आमरण अनशन, सिंहदरबार गेटबाट प्रहरीले उठायो
काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले दोस्रो पटक आमरण अनशन सुरु गरेकी छन् । सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनी फेरि अनशन बसेकी हुन् ।
निहारिका आज आफ्नो २ वर्षको बच्चासहित अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी थिइन् । तर, अनशन बस्नासाथ प्रहरीले उनलाई त्यहाँबाट उठाएको छ । आफूलाई जता लगिए पनि आमरण अनशन जारी राख्ने निहारिकाले बताइन् ।
एक पुरुषले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएपछि छोडेको निहारिकाको आरोप छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । तर, सो अदालतले पेसी नतोकेर मुद्दालाई अलपत्र बनाइरहेको गुनासो उनको छ ।
गत १८ गते उनको मुद्दाको पेशी थियो । पेशीका लागि उनी बिरामी बच्चा बोकेर जनकपुर पुगेकी थिइन् । त्यहाँ गएपछि २५ गतेलाई पेशी सारिएको छ । बच्चाको डिएनए टेस्ट गराउनुपर्ने तथा आरोपीलाई पक्राउ गर्नुपर्ने माग निहारिकाले राखेकी छन् ।
यसअघि पनि यिनै मागहरू अघि सारेर उनी गत जेठमा आमरण अनशन बसेकी थिइन् । सरकारी निकायहरूसँग ५ बुँदे सहमतिपछि गृहमन्त्री बालकृष्ण खाँडले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए । ती सहमतिका कुनै पनि बुँदाहरू सरकारले कार्यान्वयन नगरेको निहारिकाको गुनासो छ ।
आफू अब माग पूरा नभएसम्म कुनै हालतमा अनशन नतोड्ने निहारिकाले बताइन् ।
‘यो राज्यले जाबो एउटा डीएनए टेस्ट पनि गर्न सक्दैन ?’ उनले प्रश्न गर्दै भनिन्, ‘अपराधी अहिले पनि खुल्ला हिँडिरहेको छ । त्यसैले अब म फेरि अनशन बस्छु । मेरो बच्चाको न्यायका लागि सबैले साथ दिनुहोला । म मरेँ भने मेरो लास जलाउने अधिकार पनि यो राज्यलाई छैन ।’