सिंहदरबारबाट लखेटिएपछि वसन्तपुरमा अनशन बसिन् निहारिका
काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले वसन्तपुरबाट आमरण अनशन सुरु गरेकी छन् । दोस्रो पटक अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई प्रहरीले त्यहाँबाट लखेटेपछि वसन्तपुर गएकी हुन् ।
यसअघि सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै उनी अनशन बसेकी हुन् । पहिलो पटक अनशन बसेकाे समयमा गृहमन्त्रीले दिएको आश्वासनअनुसार काम नभएको उनको आरोप छ ।
उनले नेपाल प्रेससँग भनिन्, ‘गृह मन्त्रालयले झुटो आश्वासन दियो । गृहमन्त्रीले नै झुट बोल्नुभयो । अपराधी समातियो भनेर झुट बोल्नुभयो । डिएनए टेस्टको प्रक्रिया पनि अगाडि बढ्यो भनेर झुटो आश्वासन पाएकाले आमरण अनशन सुरु गरिएको हो । बच्चाले न्याय नपाएसम्म अनशन जारी राख्छु ।’
एक पुरुषले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएपछि छोडेको निहारिकाको आरोप छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । तर, सो अदालतले पेसी नतोकेर मुद्दालाई अलपत्र बनाइरहेको गुनासो उनको छ ।
गत १८ गते उनको मुद्दाको पेशी थियो । पेशीका लागि उनी बिरामी बच्चा बोकेर जनकपुर पुगेकी थिइन् । त्यहाँ गएपछि २५ गतेलाई पेशी सारिएको छ । बच्चाको डिएनए टेस्ट गराउनुपर्ने तथा आरोपीलाई पक्राउ गर्नुपर्ने माग निहारिकाले राखेकी छन् ।