अर्थ र पर्यटन मन्त्रालय खाली राखेर ६ सचिवको सरुवा – Nepal Press

अर्थ र पर्यटन मन्त्रालय खाली राखेर ६ सचिवको सरुवा

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गर्ने निर्णय बिहीबार गरे पनि टुंगो भने शुक्रवार मात्रै लगाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गर्ने र २ जना सचिवको पदस्थापन गर्ने निर्णय गरेको हो ।

जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ भने राष्ट्रपति कार्यालयका सचिव डा.तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा राखिएको छ ।

यसै गरी अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको छ भने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको उपराष्ट्रपति कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

सरकारले बिहीबार मात्रै प्रशासनतर्फ सहसचिवबाट सचिवमा बढुवा गरेका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । लेखा परीक्षणतर्फ नायव महालेखापरीक्षकबाट उप–महालेखापरीक्षकमा बढुवा गरेका बिन्दु विष्टलाई महालेखा परीक्षकको कार्यालयमा नै पदस्थापन गरेको छ ।

सचिव जगेडामा तर अर्थ र पर्यटन मन्त्रालय सचिवविहीन

सरकारले ६ जना सचिवलाई एक मन्त्रालयबाट अर्को मन्त्रालय वा एक निकायबाट अर्को निकाय सरुवा गरे पनि अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिवविहीन भएका छन् । यद्यपि एक जना सचिव भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ ।

स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाबारे छलफल भए पनि पत्र बनुन्जेल केही सचिवको फेरबदल भएको छ । सबैभन्दा महत्त्वपूर्ण मानिएको अर्थ सचिव र धेरैले जान चाहेको पर्यटन सचिवको पद भने रिक्त राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर