बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा क्षति
सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ ।
ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् ।
बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् । यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ । गए राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ ।
बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्याएको क्षतिका बारेमा एकिन हुन नसकेको बताए। ‘निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ’, उनले भने । हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गए राति पहिराले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।