बुटवलको अलपत्र सडक छिट्टै सक्न ठेकेदारलाई कबुल गराइयो – Nepal Press

बुटवलको अलपत्र सडक छिट्टै सक्न ठेकेदारलाई कबुल गराइयो

विशेष अनुगमन समिति गठन, हप्तैपिच्छे समीक्षा गरिने

रुपन्देही । ६ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक निर्माणका लागि सरोकारवालाले ठेकेदारलाई छिट्टै सम्पन्न गर्ने गरी सार्वजनिक प्रतिबद्धता गराएका छन् ।

बुटवल उपमहानगरपालिकाको सहजीकरणमा सोमबार सरोकारवालासँग सामूहिकरूपमा निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । यसअघि पनि उनले सीडीओ र आयोजना प्रमुखहरूसँग पटक-पटक प्रतिबद्धता जनाएपनि काम सकिएको थिएन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल क्षेत्रका कार्यालय प्रमुखहरु, उद्योगी व्यवसायी, नागरिक समाजसहितको उपस्थितिमा भएको कार्यक्रममा ठेकेदारले प्रतिबद्धता जनाएका हुन् ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका कार्यालयहरुबीच समन्वय र सहकार्य आवश्यक रहेकाले जनताको भावनाअनुसार काम गर्न आग्रह गरे । त्यसका लागि आयोजनाले पनि ताकेता गर्नुपर्ने उनको जोड थिय ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तरसरकारी कार्यालयबीच समन्वय र सहकार्य भएमा सडक निर्माणको काम तीब्र हुने विश्वास व्यक्त गरे । उनले जनताको समस्यालाई ध्यानमा राखेर निर्माण आयोजना र निर्माण कम्पनीले गम्भीरतापूर्वक काम अघि बढाउन चासो दिनुपर्ने बताए ।

कार्यक्रममा रुपन्देहीका सीडीओ भरतमणि पाण्डेले सरकारी काममा आलटाल नगर्न र सबै सरकारी आयोजनाहरूलाई सहयोग गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रका विकास निर्माणका काममा सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

कार्यक्रममा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपककुमार झा, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, भन्सार कार्यालय भैरहवाका प्रमुख ज्ञानेन्द्र ढकाल, नेपाल टेलिकमका भगवानलाल कलवारले सडक विस्तारको कामलाई चुस्त बनाउन समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका नारायण घिमिरे, राजनीतिक दलका प्रतिनिधिहरु पदम श्रेष्ठ, ऋषिराम बस्याल, महेन्द्र भुसाल, विरेन्द्र विक, व्यवसायी यज्ञ पोखरेललगायतले बोल्दै सडक विस्तारको काम समयमा पूरा गराउनका लागि सरोकारवालाहरुले बढी चासो दिनुपर्ने बताएका थिए ।

विशेष अनुगमन सहजीकरण समिति गठन

सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न २ वटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।

बुटवलतर्फको लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र सिद्धार्थनगरतर्फको लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिति बनाइएको हो ।

समितिमा विद्युत प्राधिकरण र खानेपानी संस्थानका बुटवल र सिद्धार्थनगरका कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन र बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख सदस्य सचिव रहेका छन् ।

समितिले प्रत्येक हप्ता बैठक बसेर कार्यप्रगतिबारे समीक्षा गर्ने र समन्वय र सहकार्य गर्नुपर्ने कार्यालयहरूका बीचमा समन्वय र सहकार्यका लागि पहल गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर