बुटवलमा करोडौं मूल्यको सरकारी जग्गा बेच्ने प्रयास असफल – Nepal Press
समाचार प्रभाव

बुटवलमा करोडौं मूल्यको सरकारी जग्गा बेच्ने प्रयास असफल

मालपोत कार्यालयमा गयो फिर्ता निवेदन

रुपन्देही । जनप्रतिनिधि र कर्मचारी मिलेर बेचिएको बुटवल उपमहानगरपालिका वडा नं १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता गरिने भएको छ ।

करोडौं मूल्य पर्ने यो जग्गा बिक्रीका लागि कागजपत्र मिलाएको खबर नेपाल प्रेसमा प्रकाशन भएपछि यहाँका राजनीतिक दल तथा स्थानीय खबरदारी गर्दै तत्काल रोक्न मालपोत कार्यालय पुगेका हुन् । उनीहरुले सरकारी जग्गा हडप्ने काममा लागेका जनप्रतिनिधि, कर्मचारी तथा जग्गा किनबेच गर्ने गिरोहलाई कारबाही माग गरेका छन् ।

चौतर्फी दबाब भएपछि जग्गा बेच्न चौकिल्ला सिफारिस दिएका वडा नं १७ का वडाध्यक्ष ज्ञानप्रसाद रेश्मीले नै उक्त जग्गा रोक्का गरी पुनः सरकारको नाममा फिर्ता गराउन मालपोत कार्यालयलाई पत्र लेखेका छन् ।

नापी कार्यालयमा २०२७ सालदेखि पर्ती स्पष्ट देखिने उक्त जग्गा सरकारी भए पनि मिलेमतोमा कीर्ते गरेर मालपोत कार्यालयमा कित्ता नं थपेर व्यक्तिको नाममा गराइएको थियो । यसरी व्यक्तिको नाममा बनाइएको जग्गा पुनः बेच्न लागिएपछि यसको पर्दाफास भएको हो ।

मिलेमतोमा कीर्ते गरी व्यक्तिको नाममा बनाइएको यो जग्गा नापीको रेकर्डमा सरकारी देखिए पनि मालपोत कार्यालयमा भने व्यक्तिको नाममा ४२ नं कित्ता बनाएर पास गरिएको छ । मालपोतको ढड्डामा अन्य कित्ता नं लेखिएको स्थानमा हल्का मेटेर यो थपिएको थियो ।

स्थानीयका अनुसार मुक्तिप्रसाद चापागाईंले दयाप्रसाद कँडेललाई सो जग्गा नजिकैको ६३ र २८ नं कित्ता बेचेका थिए । कँडेलले पनि गोविन्द पंगेनीलाई बेचेको भेटिन्छ । तर, पंगेनीको कित्ता नं भएको स्थानमा कोतरेर मेटाएर ४२ नं कित्ता बनाइएको र त्यो ४२ नं कित्ता अहिले हुमबहादुर पुनलाई बेचिएको छ ।

नागरिकतामा उनको ठेगाना तालावाङ ८ कास्की रहेको छ । तर, स्थानीयसँग सम्पर्क छैन । उक्त जग्गा बेच्न वडा कार्यालयबाट चौकिल्ला सिफारिस गरेका वडा नं १७ का वडाध्यक्ष रेश्मीले गल्ती भएको स्वीकार गर्दै रोक्का गर्न मालपोत कार्यालयलाई निवेदन दिइसकेको बताए ।

‘असार २७ मा बिक्रीका लागि चौकिल्ला दिएको मैले स्वीकार गर्छु, यसमा सबै कागजपत्र मिलाएर आएपछि दिने हो, कर्मचारीले बदमासी गरेर मिलाएछन्, उनीहरुले कागजपत्र मिलाएर बाहिर बाहिर कारोबार गरेको पत्तो भएन । यो रोक्न वडाबाट सिफारिस भइसकेको छ’, उनले भने ।

यो जग्गा संरक्षण गर्न लागिपरेका स्थानीय खिमानन्द पाण्डेले सबैको दबाबमा मिलेमतोमा बेचिएको सरकारी जग्गा फिर्ता आउन लागेको बताए । सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न पटक–पटक सिफारिस दिने, तिरो चलाउने, चौकिल्ला बनाएर पास गर्न पठाउने र मालपोतबाट पास गराउने सबैलाई छानबिन गरी कारबाही हुनुपर्ने र किन्ने व्यक्तिलाई समेत छानबिनमा ल्याउन स्थानीयले माग गरेका छन् ।

नेकपा एमाले बुटवलका अध्यक्ष किसन ज्ञवालीले सरकारी जग्गा बेच्ने गिरोहको गम्भीर छानबिन गरी कारबाही गर्नुपर्ने र उनीहरुको नाममा रहेको सम्पतिसमेत छानबिन गर्नुपर्ने बताए । ‘जुनसुकै पार्टीको भए पनि यसमा छुट हुनुहुँदैन, योभन्दा ठूलो अपराध केही हुँदैन’, उनले भने ।

नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले अझै पनि गिरोहले अनेक बहाना बनाएर उक्त जग्गा बेच्न योजना बनाएको सुनिएकाले तत्काल तारबार गरेर संरक्षण गर्नुपर्ने बताए ।

बुटवल उपमहानगरका प्रमुख तथा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेले यस्ता विषयमा कोही कसैलाई छुट नहुने बताउँदै उक्त जग्गा फिर्ता गरी संरक्षण गरिने प्रतिबद्धता जनाए ।

सो क्षेत्रमा शहरी स्वास्थ्य कार्यालय राख्न सरकारी जग्गा खोज्दा माफिया, जनप्रतिनिधि र कर्मचारीले आन्तरिक रुपमा यस्तो खेल गरेको प्रमाण भेटिएको स्थानीय खिमानन्द पाण्डेले बताए । मालपोत कार्यालयको केन्द्रीय श्रेस्ता तथा नापी कार्यालयमा सरकारी देखिएको उक्त जग्गा मालपोतको ढड्डामा व्यक्तिको नाममा भेटिएको थियो ।

याे पनि पढ्नुस् : बुटवलमा करोडौंको सरकारी जग्गा बेच्न जनप्रतिनिधि नै अग्रसर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *