नेपाली महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने – Nepal Press

नेपाली महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएका छिन् ।

नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्न मंगलबार दिउसो साढे १ बजे भारततर्फ प्रस्थान गर्दैछिन् ।
दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाईटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।

दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने गोप्य रहेको बताईन् । ‘प्रतियोगिताको लागि सम्झौता भएको हो । आईलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’ दीपाले भनिन् ।

आज अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाईटेड भिड्ने छन् । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर