‘मुभ अन’ भइन् सपना, फर्किइन् उही आर्यघाट (भिडिओ)
काठमाडौं । दुई वर्षअघि म्याग्दीकी सपना रोका मगर अचानक मिडिया र सोसल मिडियामा छाइन् । प्रशंसा र बधाई प्रशस्त खाइन् । सन्दर्भ थियो- बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा उनको नाम समावेश हुनु ।
१०० सूचीमा पर्नुका पछाडि सपनाले दागबत्ती दिएका सयौं बेवारिसे लासहरु थिए । बेवारिसे लासहरुलाई बेवारिसे भइरहन नदिएर दागबत्ती दिँदै सदगद् गर्नु उनको दिनचर्या थियो । आफैं सडकमा बेवारिसे जीवनको आरोह, अवरोह गुजारेर आएकी सपनाले सडकभन्दा एक सिँढी माथि उक्लिएर बेवारिसेहरुलाई आर्यघाटमा पुर्याएर जलाएकी थिइन् ।
उनी बीबीसीको १०० प्रभावशाली सूचीमा परेपछि चर्चामात्रै चुलिएन, चौतर्फी प्रशंसा भयो । उनी धेरैका लागि उत्प्रेरणा बनिन् । धेरैका लागि आइकन बनिन् । १८ वर्षे कलिलो उमेरमा उनले गरेको काम प्रशंसालायक छँदै थियो ।
अचानक सारा मानिसको नजरमा परेकी सपना अचानक नै विवादमा तानिइन् । उनीमाथि अनेकानेक टीकाटिप्पणी भए, सहनेसम्म सहिन् । तर, उनको कलिलो धैर्यताले पनि थेग्न नसक्ने अवस्था आइपरेपछि अचानक गायब बनिन् ।
उनी कहाँ गइन्, के गर्दैछिन्, कसैले सोधखोज गरेन । आठ-नौ महिनासम्म दृश्यबाट ओझेल परेकी सपनालाई यहीबीचमा अनेक रोगले जकडे । टन्सिल भयो । एपेन्डिक्स भयो । अस्पतालमा लामो समय बिताइन् । मानसिक तनावबाट पार पाउन आफैंले आफैंलाई उत्प्रेरित गरिन् । परिवारलाई समय दिइन् ।
उनको फेसबुक पाकिस्तानबाट ह्याक भयो । सञ्जालबाट लापता भइन् । यत्तिका लामो समय हराउनुको रहस्य खोतल्छिन् सपना, ‘यो बीचमा आफूले आफैलाई नजिकबाट बुझ्ने र भेट्टाउने प्रयास गरेकी थिएँ ।’
– अनि आफूलाई भेटाउनुभयो त ?
थोरै मुसुक्क २१ वर्षे हाँसो हाँसेर मुख खोल्छिन्, ‘अलिकति भेट्टाएँ । अलिकति बाँकी छ ।’
अहिले सपना जब ऐनाअघि उभिन्छिन्, उनलाई आफैंलाई भेटेजस्तो लाग्छ । उनलाई लाग्छ, हिजोको सपना कमजोर थिई, जोकोहीलाई विश्वास गरिहराल्ने सपना थिई । रोइहाल्ने, जिद्दी गर्ने सपना थिई । परिपक्व नभएकी सपना थिइन् । तर, आजको सपना त्यस्ती छैनन्, बलियी छिन् ।
सपनालाई आमाले भन्ने गर्थिन्, ‘लास जलाउने काम गर्छु भनेर अगाडि बढेकी छेस् । ताली र गालीको पछि नलाग ।’
तर, ताली-गाली दुवै आफैं सपनाको पछि लागे । तालीले साथ दियो । सँगै गालीले पिछा छाडेन । अलिकति राम्रो काम गर्यो, तालीको वर्षा । सानो गल्ती गर्यो, ‘श्रद्धाञ्जली’को ओइरो ! तर, आफूलाई दुइटै कुराले उस्तो नखिचेको सपनाको स्वीकारोक्ति छ ।
सोसल मिडियामा आएका गालीबारे सपना बोल्छिन्, ‘रिलको जमानामा रियल काम गर्नेहरु पछि परेका हुन्छन् । सोसल मिडिया ठूलो महलमा सजाएको डमी हो, बाहिर जे देखायो, त्यहीमात्रै देखिन्छ । केही मान्छे खुट्टा तान्न पनि आए । उनीहरु सफल पनि भए । उनीहरुले जे देखाए, दर्शकले त्यही मानेर गाली गर्नुभयो । तर, सपनाले राम्रो काम गरिरहेको रहेछ भनेर विस्तारै बुझ्दै जानुभयो ।’
जीवनलाई दुई मोहडाबाट हेर्छिन् सपना । एक, सार्वजनिक जीवन । अर्को, निजी जीवन । निजी र सार्वजनिक जीवनलाई एक ठाउँमा राखेर तुलना गरिएको निको लाग्दैन उनलाई ।
‘बाहिर सबैलाई मोटिभेट गर्ने सपना सिरानी मुखमा कोचेर आफ्नै मनसँगको पो युद्ध लडिरहेकी छे कि ! सबैलाई हाँस्नुपर्छ भनेर हँसाउने सपना निजी जीवनमा रोएर पो रात कटाइरहेकी छे कि ! बाहिरको चित्रलाई हेरेर भित्रको चरित्रलाई वर्णन गर्नु हुँदैन भन्छु म,’ गम्भीर बनेर एक सासमै बोलिपठाउँछिन् ।
सपनालाई थाहा छ, मानसिक रुपमा जब कोही बलियो हुन्छ, उसलाई कसैले लडाउन सक्दैन । तर, उनलाई मानसिक रुपमै गलाइयो । आरोप–प्रत्यारोपले टर्चर दियो । सपनाभित्रको ‘सपना’लाई साइलेन्स गराइयो । उनलाई लाग्छ, कहिलेकाहीँ आफैंले आफूलाई बुझ्न सकिँदैन । धेरै तनाव हुन्छ । उनको प्रश्न छ, ‘मभित्रको ‘म’लाई कसले बुझेको छ ?’
उनलाई रातको १२-१ बजे फोन आउँछ । ‘कसरी मुभ अन हुने दिदी’ भनेर सोध्छन् । आफैं मुभ अन हुने गोरेटोको खोजीमा निस्किएकी सपना आफैंलाई निचोरेर भन्छिन्, ‘पहिला तिमी आफू जस्तो बन । अनि दोस्रो व्यक्ति जस्तो बन । जब आफूलाई माया गर्न सकिँदैन, अरुलाई कसरी माया गर्न सकिन्छ ?’
हर रात आउने फोन र हर रात दिने जवाफले थाहै नपाई सपनालाई बलियो बनाउँदै लगेको रहेछ । अरुलाई ढाडस दिँदादिँदै आफू बलियो बनिसकेकी रहेछन् । मुभ अन भइसकेकी रहेछन् । सपनाले आफैभित्र पनि अनेक सपना देख्न थालिन् । सपनैसपनाको संसारमा विचरण गर्न थालिन् ।
– अनि सपनाभित्रको सपना चाहिँ कस्तो रहेछ ?
‘मभित्रको सपना कमजोर थियो । आरोह-अवरोहलाई झेलेर सँगै छेउमा सुतेको साथीले सुन्ला कि भनेर मुख थुनेर रोइरहेकी सपना । अहिले मैले मलाई यो अवस्थामा ल्याउन धेरै संघर्ष गरेकी छु । सबैले बाहिरबाट हेर्दा वाउ भन्छन् । यहाँसम्म आइपुग्न मैले धेरैपटक मर्नुपरेको थियो । सक्दिनँ कि भनेर गिभ अप गरिसकेकी थिएँ । मेरो विगत सबैलाई अवगत नै छ । हिजो बेवारिसे अवस्थामा मर्नबाट बाँचेकी मान्छे । मरेकी भए कुहिएको शव घरमा हुन्थ्यो कि ! आफूले आफैलाई जितेर आएकी छु ।’
– अरुका लागि आइडल, भित्रभित्रै चाहिँ यति कमजोर ?
‘अहिले २१ वर्षकी भएँ । परिवारको जिम्मेवारी मसँगै छ । दुनियाँले चिनेको मम्मी-बाबाकी छोरी, उहाँहरुको अपेक्षा कति धेरै होलान् ! बेवारिसे लासहरु हजारौंको संख्यामा छन् । उनीहरुको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । कोठामा सिरक ओढेर सुतिरहँदा पनि ध्यान अस्पतालको लासमा जान्थ्यो, जो दिनदिनै गल्दै गइरहेको छ । यस्तैयस्तै कारणले कमजोर भएँ कि !’
भर्खरै सपनाले लामो विश्रामपछि चारवटा लासलाई दागबत्ती दिइन् ।
यो बीचमा कतिपयले ‘लास जलाउँछौं’ भनेर गृह मन्त्रालयमा गएर पैसाको डिल गरे । बानेश्वरको अस्पतालमा लास लिन जाँदा उनलाई भनियो, ‘तपाईंहरु यहाँबाट लास लिएर जाने, अनि गृह मन्त्रालयमा पैसा माग्ने ?’
प्रश्नको तीरले सपनाको मनमा पीर पार्यो । उनले मास्क खोलेर आफू सपना रोका भएको बताइन् । अनि अस्पतालका कर्मचारीले भने, ‘यत्रो महिना कता हराउनुभयो ? दुईचारजना आएर माथि पैसाको डिमान्ड गरेछन् । हाम्रो जागिर नै जालाजस्तो भयो । तपाईं आउनुभयो, अब सजिलो हुन्छ ।’
अरु कसैले लास उठाएकोप्रति सपनाको दुःखेसो छैन । यदि कसैले राम्रोसँग व्यवस्थापन गरे विदेश जाने, पढ्ने योजनामा छिन् । तर, गलत नियत राखेर लास चलाउनेहरुले दुर्गन्ध फैलाएको गुनासो छ उनको । भन्छिन्, ‘यहाँ कुहिएको लासमाथि राजनीति हुन्छ । एउटा लास जलाउन १०-१२ हजार लाग्छ । तर, पैसा जबरजस्ती मगाउने होइन नि !’
कसैले ‘छ्या लास’ भन्यो भने पनि सपनालाई रिस उठ्छ । भर्खरै पशुपतिमा चारवटा लासलाई दुइटा चितामा राखेर जलाएकी थिइन् । छेवैको चितामा फूलमालासहित जलाइएको अर्को लास थियो । मलामीहरु पनि टन्नै थिए ।
सपना सुनाउँछिन्, ‘त्यो देखेपछि मेरो आँखा भरिएर आयो । दुई चितामा चारवटा लास जलाइरहेकी थिएँ एक्लै । सोचेँ, एक दिन म पनि सजावटका साथ लास जलाउँछु । बेवारिसे लास भएको व्यक्तिले पनि कसैको कोखबाट जन्म लिएको थियो । दुर्भाग्यले मलामीविहीन हुनुप¥यो । यसरी बेवारिसे भएर कसैलाई मर्न नपरोस् ।’
हिजो सपनाले जति लास जलाइन्, अहिले त्यति नै संख्यामा लास अस्पतालमा थुप्रिएको छ । अस्पतालहरुबाट उनलाई फोन आइरहेको छ । तर, आर्थिक कारणले सकिरहेकी छैनन् । १४ वटा लास जलाउनुपर्नेछ उनलाई । त्यसका लागि एक लाख ४० हजार लाग्छ ।
तर, लासलाई कुहिएर बस्न नदिन दृढ छिन् सपना ।
उनी पुनः घाटमा सानोतिनो आँट र साहस लिएर नआएको बताउँछिन् । जस्तो अप्ठ्यारो पनि झेल्नसक्ने संकल्प लिएर आइपुगेको बताउँछिन् ।
यो बीचमा मोडिटेसन गरिन् । म्युजिक सुनिन् । किताबहरु पढिन् । आफैंले आफैंलाई ऐनामा हेर्दा उनलाई आफ्नै माया लागेर आउँथ्यो । विचरा लाग्थ्यो ।
सपना सुनाउँछिन्, ‘अहिले ऐना हेरेर मुस्कुराउँछु । बलियी ठान्छु । तपाईं कस्तो हुनुहुन्छ भनेर ऐना र तपाईंलाई बाहेक कसैलाई थाहा हुँदैन । पछिल्लो समय आफूले आफैंलाई धेरै माया गर्न सक्ने बनेर मैदानमा आएकी छु ।’
यो बीचमै कहिलेकाहीँ पशुपति जान्थिन् । त्यहाँका ससाना भाइबहिनीहरुले लास लिएर कहिले आउनुहुन्छ भनेर सोध्थे । के गर्दैछौ भनेर मान्छेहरुले सोध्थे । तिनै प्रेमपूर्वक सोधखोज गर्नेहरुले फेरि फर्काएर ल्याएको सपनाको भनाइ छ ।
अन्त्यमा सपनासँग गरिएका थप प्रश्नोत्तरः
– बीबीसीको १०० सूचीमा परेपछि अचानक बुम हुनुभयो । अचानक सेलिब्रिटी हुनुभयो । त्यसलाई ह्याण्डल गर्न नसकेर पनि साइलेन्स हुनुभएको हो ?
ह्याण्डिल गर्न नसकेर होइन । कसलाई कसरी उत्तर दिनुपर्छ थाहा छ । तर, सत्य बोलेर पनि गलत भइन्छ भने साइलेन्स बस्नु नै उपयुक्त हुन्छ ।
– अब साइलेन्स बस्नुहुन्न ?
मैले मभित्रको मलाई महसुस गरिसकें । हिजो जे थिएँ, आज र भोलि त्यही हुनेछु ।
– कतिपय संगतले यस्तो अवस्थामा आइपुगें भन्नुभयो । संगतहरु चिन्नसक्ने भएँ भन्नुभयो । सही संगत कसरी चिन्नुपर्ने रहेछ ?
चिनी र नून मिक्स गर्दा चिन्न गाह्रो हुन्छ । कसले वास्तवमा साथ दिएको हुन्छ, उसलाई महसुस गर्नुपर्ने रहेछ । हिजोका दिनमा फेक मान्छेका कारण राम्रो मान्छेलाई पनि पन्छाएँ होला । राम्रा मान्छेको गुनासो पनि होला, सरी भन्न चाहन्छु । आजभोलि चाहिँ कुन मान्छेले कुन नियतमा कुरा गरिरहेको छ, बुझ्न सक्छु । साँचो कि झूट बोलिरहेको छ, छुट्याउन सक्छु ।
– लास जलाउन आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हिजो मैले सिक्री बेचेर पनि लास जलाएँ । मोबाइललाई सात दिनसम्म बन्धकी राखेर पनि जलाएको छु । पहिला सहयोगी मनहरुले सहयोग गर्नुहुन्थ्यो । बीचमा ग्याप भइदिएँ । अब अलिकति समय लाग्छ । दिवंगत आत्माहरुलाई जलाउने काममा सहयोग पाउँछु भन्ने आशा छ ।
– आर्थिक पारदर्शिताको कुरा पनि होला नि ?
‘सपनाको समृद्ध चाहना’ भन्ने मेरो संस्था छ । यति सहयोग गरिदिनुभयो भनेर खुलेआम भन्छु । प्रश्न आउने अवस्था आउनै दिन्नँ । यदि प्रश्न आएमा उत्तर दिन तयार छु ।
मलाई ठूलो ठाउँमा पुग्नु छैन । हामीले लिने भनेको आशीर्वाद न हो । लासहरुको उचित व्यवस्थापन गरौं भन्ने लाग्छ । तर, पशुपतिमा धेरै लास लिएर जाँदा मलामी भएको लास भए मेरो बेवारिसे लासलाई जलाउन दिइँदैन । उत्तिकै पैसा लिएर जलाउँदा पनि जलाउन दिँदैन । उनीहरुको पनि आफन्त भए वर्षौंदेखि कुहिएर बस्नुपर्दैन थियो होला । फ्रिजभित्र लुगाफाटा जसरी राख्नु पर्दैन थियो होला नि !
एकदमै राम्रो उत्कृष्ट यथार्थ जीवन मा मेल खाएको सपना रोका मगर को जीवन संग संबंधित लेख लेख्नुभएको छ।यसरी नै उत्प्रेरणा र साहस उत्साह मुलक लेख समप्रेसण गर्दै जानुस् शुभकामना छ।
“एक दिन म पनि सजावटका साथ लास जलाउँछु । बेवारिसे लास भएको व्यक्तिले पनि कसैको कोखबाट जन्म लिएको थियो । दुर्भाग्यले मलामीविहीन हुनुप¥यो ।” 😥
महान बिचार मन छुयो…