कपिलवस्तुमा बल गर्दै बलदेव, प्रभावशाली नेताले छाडेपछि मधेसवादी दल कमजोर – Nepal Press
आम चुनाव-२०७९

कपिलवस्तुमा बल गर्दै बलदेव, प्रभावशाली नेताले छाडेपछि मधेसवादी दल कमजोर

कांग्रेस-एमालेबाट कहाँ कसको चर्चा ?

रुपन्देही । आसन्न चुनावका लागि कपिलवस्तुमा नेताहरूले दाबी पेस गर्न थालेका छन् । यसअघि मधेसकेन्द्रित दलबाट निर्वाचित प्रभावशाली नेता एमाले तथा कांग्रेसमा प्रवेश गरेसँगै यसपालि यहाँको राजनीतिक समीकरण फेरिने आंकलन छ ।

कपिलवस्तुमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन् । ७४ सालको निर्वाचनमा एमालेको समर्थनमा १ नम्बर क्षेत्रबाट माओवादीका चक्रपाणि खनाल ‘बलदेव’, २ नम्बर क्षेत्रबाट तत्कालीन स्वतन्त्र (हाल एमाले) वृजेश गुप्ता र ३ नम्बर क्षेत्रबाट कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका थिए ।

बलदेवले २९ हजार ७९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए । दुवैजना ‘हेभीवेट’ नेता भएकोले यो पटक सत्तागठबन्धनमा यो क्षेत्र कसको पोल्टामा पर्छ भन्ने चासोका साथ हेरिएको छ ।

पूर्वराजदूत उपाध्याय कांग्रेसका प्रभावशाली नेता हुन् । उनी २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु-२ बाट विजयी भएका थिए भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचन जितेका उपाध्याय पटक-पटक मन्त्री भइसकेका छन् । माओवादीका स्थायी कमिटी सदस्य खनाल तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन् । माओवादी अध्यक्ष प्रचण्डको अतिविश्वास पात्र भएकाले यहाँ बलदेवले मौका पाउने चर्चा छ । यही क्षेत्रमा कांग्रेसबाट अर्का नेता अतहर कलाम पनि बलिया प्रतिस्पर्धी हुन् । मधेसी समुदायको वर्चश्वलाई आधार देखाउँदै उनी निकटले कलामको पक्षमा लबिङ गरिरहेका छन् ।

माओवादीलाई टिकट दिन नहुने अडानमा रहेको कांग्रेसकै नेताबीच कलाम र दीपकुमारमध्ये कसलाई अघि सार्ने भन्ने मतभेद बढेको छ ।

नेपाल समाजवादी पार्टीबाट दानबहादुर चौधरी र जसपाबाट सहश्रराम यादवको चर्चा भएपनि उनीहरूले गठबन्धनको टुंगो नलागेकाले केही धारणा सार्वजनिक गरेका छैनन् ।

एमालेबाट क्षेत्रमा केन्द्रीय लेखा आयोग उपाध्यक्ष तथा लुम्बिनी प्रदेशको लेखा समिति सभापति विष्णु पन्थी बलिया दाबेदार हुन् । उनीसँगै पूर्वसांसद बलराम अधिकारीले पनि तयारी गरेका छन् । तर, स्थानीयस्ततरमा पन्थी नै लोकप्रिय रहेको भन्दै नेताकार्यकर्ताले छलफल थालेका छन् ।

१ नम्बर क्षेत्रबाट गत निर्वाचनमा प्रदेशसभा (१) बाट एमालेका पन्थी २५ हजार ५२७ मतका साथ विजयी हुँदा कांग्रेसका पुरन चौधरीले १६ हजार ६८३ मत ल्याएका थिए । प्रदेशसभा १ (२) बाट तत्कालीन संघीय समाजवादी फोरमका सहस्रराम यादव ७ हजार ३९८ मतका साथ विजयी हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मधुसुदन शरण चौधरीले ६ हजार ६४ मत ल्याएका थिए । यादव अहिले लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्री छन् ।

यसपटक कपिलवस्तुको २ नम्बर क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् । यसअघि २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेर जितेका उनी अहिले एमालेमा छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १४ गते एमालेमा प्रवेश गराएका थिए ।

उनी कपिलवस्तुबाट लगातार ४ पटक जितेर जिल्लामा आफ्नो वर्चश्व जमाएका छन् । गत निर्वाचनमा उनले कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेशराज आचार्यलाई पराजित गरेका थिए । गुप्ता ३५ हजार १२७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसबाट आचार्य नै प्रमुख दाबेदार रहेको कांग्रेस नेताहरू बताउँछन् । यद्यपि १ नं क्षेत्र गठबन्धनलाई छोड्नपरेमा कांग्रेस नेता दीपकुमार उपाध्याय वा उनका छोरा आशिष उपाध्याय यहाँका बलियो दाबेदार बन्न सक्नेछन् ।

गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर जिल्लामा एकछत्र दबदबा कायम राखेका छन् । एमालेबाट गुप्तासँगै पूर्वसांसद बलराम अधिकारीले पनि लबिङ गरिरहेका छन् तर गुप्तालाई नै प्रतिनिधि सभामा अगाडि सारेर अधिकारीलाई प्रदेश सभामा पठाउने एमालेको तयारी देखिन्छ । यहाँबाट माओवादीले रुद्रलाल बन्जाडेलाई उम्मेदारको रुपमा चर्चामा ल्याएको छ ।

गत निर्वाचनमा कपिलवस्तु प्रदेशसभा २(१) मा एमालेका दृगनारायण पाण्डेय १९ हजार २४४ मतका साथ विजयी हुँदा कांग्रेसका जवाहरलाल चौधरीले १७ हजार ६६ ल्याएका थिए । पाण्डेय प्रदेशसभाका पदमुक्त सांसद हुन् । प्रदेशसभा २(२) मा सूर्य चिह्न लिएर उम्मेदवार बनेका धर्मबहादुर लाल श्रीवास्तव १० हजार ४३६ मतका साथ विजयी हुँदा कांग्रेसका सुधाकर पाण्डेयले १० हजार ५० मत ल्याएका थिए । श्रीवास्तव पनि अहिले एमालेमा प्रवेश गरेका छन् । उनी लुम्बिनी प्रदेशका पूर्वमन्त्री पनि हुन् ।

३ नम्बर क्षेत्रमा कांग्रेसबाट अभिषेकप्रताप साह अहिले पनि बलियो दावेदार हुन् । उनले तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए । साहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए । मंगल गुप्ता वृजेशसँगै एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेसबाट प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडिया पनि आकांक्षी छन् । एमालेले गुप्तालाई अगाडि सार्ने देखिन्छ । गुप्ता एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत हुन् । प्रदेशसभा ३ (१) मा अर्जुनकुमार केसी ९ हजार ४३ मतका साथ विजयी हुँदा राजपाका रविदत्त मिश्रले ८ हजार १९७ मत ल्याएका थिए । प्रदेशसभा ३ (२) मा कांग्रेसका वीरेन्द्रकुमार कनोडिया ६ हजार ६७९ मतका साथ विजयी हुँदा जाबेद आलम खाँले ६ हजार ३७ ल्याएका थिए । यहाँबाट जनता प्रगतिशील पार्टीबाट ईश्वरदयाल मिश्र र माओवादीबाट जावेद मुसलमान आकांक्षी छन् ।

एमाले कपिलवस्तुका नेता विष्णु पन्थीले स्थानीय निर्वाचन समीक्षासँगै पार्टी संघीय निर्वाचनतर्फ केन्द्रित भएको बताए । पन्थीले जिल्लाका १ र २ नम्बर क्षेत्रमा मजबुत भए पनि ३ नम्बर क्षेत्रमा केही कमजोर रहेको बताए । कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले जिल्लामा कांग्रेस मजबुत भए पनि आन्तरिक समस्या धेरै हुँदा निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताए । स्थानीय निर्वाचनमा १० पालिकामध्ये ४ वटा कांग्रेसले जितेको छ ।

उत्तरी क्षेत्रमा एमालेको बलियो संगठन भएको र दक्षिणी क्षेत्रका प्रभावशाली नेताहरू बृजेश गुप्ता, मंगल गुप्ता, धर्मबहादुर लाल श्रीवास्तवलगायत एमाले प्रवेश गरेकाले एमालेलाई सहज भएपनि एमालेबाहेकका सबै पार्टीको गठबन्धन बनेमा पुरानो बर्चश्व जोगाउनसमेत चुनौती हुनेछ ।

गठबन्धनमा के छ तयारी ?

सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले ३ निर्वाचन क्षेत्र र ६ प्रदेश क्षेत्रमा पार्टी तथा नेताहरू समेट्नेगरी केही छलफल गरिसकेका छन् । प्रारम्भिक छलफलअनुसार १ नं क्षेत्रको संघमा माओवादीका बलदेव, १ को १मा कांग्रेसबाट दीपकुमारका छोरा आशीष उपाध्याय वा दोलख घिमिरे र १ को २ मा जसपाका सहश्रराम यादवलाई उम्मेदारी बनाउने गरी छलफल भएको छ ।

यहाँबाट कांग्रेसका बलिया दाबेदार अतहर कमाललाई समानुपातिकमा राख्ने र दीपकुमारको छोरालाई दिएर मिलाउने गरी कुरा भएको एक नेताले बताए ।

क्षेत्र नं २ बाट सबै कांग्रेसलाई दिनेगरी छलफल भएको छ । यहाँबाट संघमा सुरेन्द्रराज आचार्य तथा प्रदेश १ मा दीर्घबहादुर पाण्डेय २ मा सुधारखर पाण्डेलाई उम्मेदार बनाउनेगरी छलफल भएको छ ।

क्षेत्र नं ३ को संघमा कांग्रेसका अभिषेकप्रताप शाह र प्रदेश १ मा वीरेन्द्र कनौडिया र २ मा माओवादीलाई छुट्टाउने गरी छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर