चोरी गरेको रुपैयाँ फिर्ता मागेपछि अर्जुनको अपहरणपछि हत्या गरेको खुलासा – Nepal Press

चोरी गरेको रुपैयाँ फिर्ता मागेपछि अर्जुनको अपहरणपछि हत्या गरेको खुलासा

जनकपुरधाम । साउन २३ मा महोत्तरीको लोहरपट्टी नगरपालिका ८ स्थित नहरमा फालेको अवस्थामा मृत फेला परेका अर्जुन साहको अपहरणपछि हत्या भएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ घर भएका साहको साउन २० मा एक समूहले अपहरण भएको थियो । साह बेपत्ता भएपछि उनको आफ्न्तले प्रहरीमा उजुरी गरेलगत्तै धनुषा र महोत्तरीको प्रहरी खोजतलासमा जुटे । तर प्रहरीले खोज्न नसकेका अर्जनको शव तीन दिनपछि नहरमा फेला पर्यो ।

एक वर्ष अगाडि साहको घरमा चोरी भएको थियो । चोरीमा संलग्नहरुले रकम फिर्ता गर्ने सहमति गरेर कपाली कागज पनि बनाइदियो । तर साहको परिवारले रकम मागेपछि योजनावद्ध तरिकाले उनको अपहरण गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार साहको घरबाट १ लाख नगद र सुनका गरहना धनुषाको औरही गाउँपालिका २ की किरण भन्ने प्रमिला महरा, उनका श्रीमान बिगुल मुखिया र महोत्तरीको लोहरपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएका कृष्ण यादव चोरी गरेका थिए ।

चोरी भएको ६ महिनापछि उनीहरुको संलग्नताबारे पीडित परिवारले थाहा पाए । त्यसपछि पीडित साहकी आमाले प्रहरीमा उजुरी गर्छु भनेपछि उनीहरु छलफल गर्न तयार भए । आपसी छलफलमा उनीहरु चोरी गरेको स्वीकार गर्दै बिगुल मुखियाले १ लाख १७ हजार र कृष्ण यादवले २ लाख ४६ हजारको तमसुक कागज बनाइदिएका थिए ।

तमसुक बनाएको करिब ५ महिनासम्म पनि रुपैयाँ नतिरेपछि साहकी आमाले प्रहरीमा उजुरी गर्ने पुनः चेतावनी दिएकी थिइन् । सोही कारण चोरीमा संलग्न उनीहरु साहको अपहरण गरी हत्या गर्ने योजना बनाएका थिए ।

योजनाअनुसार कृष्ण यादवले साहको हत्या गर्न आफ्नै दाजु जितकुमार यादव र सन्तोष कुमारलाई ३० हजार रुपैयाँमा डिल गरे । साह टेम्पु चलाएर परिवार पाल्थे । उनलाई योजनावद्ध तरिकाले १ हजारमा टेम्पु भाडा गरेर जितकुमार र सन्तोषले महोत्तरीको लोहरपट्टी लगेर घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘साहको हत्यामा कृष्ण, बिगुल र उनका श्रीमती प्रमिलाको संलग्नता रहेको आशंकामा उनीहरुलाई समात्यौं’, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान गर्दा घटना घटाएको स्वीकारे । त्यसपछि ३० हजार रुपैयाँ लिएर हत्या गर्ने सन्तोष र जितकुमारलाई पनि पक्राउ गरिएको छ ।’

घटनाको छानबिनका लागि प्रदेश प्रहरी, महोत्तरी र धनुषा प्रहरी तथा मातहतका कार्यालयहरुबाट समेत प्रहरी खटेको थियो । पक्राउ परेका पाँचै जनामाथि धनुषा प्रहरीले ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा चलाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *