कतार प्रहरीको नाममा भइरहेको ठगीमा श्रममन्त्रीको कुनै संलग्नता छैन : मन्त्रालय – Nepal Press

कतार प्रहरीको नाममा भइरहेको ठगीमा श्रममन्त्रीको कुनै संलग्नता छैन : मन्त्रालय

काठमाडौं । ‘कतार प्रहरीको नाममा फेरी ठगीधन्दा सुरू’ भन्ने शिर्षकमा केही सञ्चारमाध्यममा प्रशारित समाचार र त्यसमा श्रममन्त्रीको नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलको नाम जोड्ने गरी समाचार प्रसारण भएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो ।

‘केही पत्रिकाबाट विना प्रमाण, कपोकल्पित, काल्पनिक समाचार प्रसारण गरी मन्त्रालय र स्वयं माननीय मन्त्रीज्यूको नामसमेत जोडेर वैदेशिक रोजगार प्रणालीमा भ्रम सिर्जना गर्ने, व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकोमा खेद प्रकट गर्दै यसबाट भ्रममा नपर्न सबै प्रति सादर अनुरोध गर्दछौ । साथै यस कार्यमा यस मन्त्रालय र माननीय मन्त्रीज्यूको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछौ ।’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले वैदेशिक रोजगार विभाग इजाजत पत्र लिएर वैदेशिक रोजगार व्यवसाय गरिरहेको मेनपावर कम्पनीमाथी वुधबार आकस्मिक अनुगमन गरी त्यससम्बन्धी कार्य शंकास्पद देखिएकोले यस सम्बन्धी कागजात बरामद गरेको र बाँकी अन्य आवश्यक अनुसन्धान कार्यसमेत भैरहेको व्यहोरा जनाएको छ ।

साथै यस्ता किसिमका शंकास्पद क्रियाकलाप सञ्चालन गरी व्यवसायलाई नै बदनामी गराउने र अमर्यादित तुल्याउने कार्य कसैबाट पनि नगर्नु नगराउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ । मन्त्रालयले यस किसिमका क्रियाकलाप सञ्चालन गरेको फेला पारेमा प्रचलित ऐन कानून अनुसार कारवाही गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *