अनुसन्धान विभागमा एआईजीपीको दरबन्दी थप्दै दुई जना बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा एआईजीपी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको दरबन्दी थप गरेर दुई जनालाई बढुवा गरेको छ ।
बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थपेर हुत्तराज थापा र ओम जोशीलाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
यससँगै अब राष्ट्रिय अनुसन्धान विभागमा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुने भएका छन् । मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते अनिवार्य अवकाश पाउने भएकाले अहिले बढुवा भएका थापा र जोशीमध्ये एक जना सङ्गठन प्रमुख हुनेछन् । र, भदौ २३ पछि टेकेन्द्र कार्की अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा हुनेछन् ।
यदि पहिलो नम्बरमा थापालाई नै बढुवा गरेको अवस्थामा उनले तीन वर्षे कार्यकाल नै खान पाउने छन् भने जोशी केही समय र त्यसपछि कार्कीले पालो पाउनेछन् ।