ह्वाइट हर्स म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत – Nepal Press

ह्वाइट हर्स म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंको एक म्यानपावर कम्पनीमा छापा मारेर ८७ थान पासपोर्ट जफत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा बिहीबार दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स म्यानपावर कम्पनीमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजातसहित फेला परेका ८७ थान पासपोर्ट जफत गरेको हो ।

छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको हो । म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए ।

त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए ।

उनका अनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारवाही हुन्छ । ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो ।

म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए ।

विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरु मलेसिया जाने तर्खरमा थिए ।

त्यसरी मलेसिया जान लागेका युवालाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनीहरुले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए । त्यस्तै, म्यानपावरका कर्मचारीले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन् ।

यसबारे विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए । विभागले बुधबार मात्रै कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत म्यान पावर कम्पनीमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो ।

उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुबै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर