गुल्मीमा तोडिएला एमालेको वर्चश्व ? सत्ता गठबन्धनमै छ हानथाप – Nepal Press

गुल्मीमा तोडिएला एमालेको वर्चश्व ? सत्ता गठबन्धनमै छ हानथाप

रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएसँगै दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । ठूला दलका प्रभावशाली नेताहरुको चर्चा चलिरहँदा गठबन्धनमै रहेका साना दलको कुनै भाउ नभएको गुनासो पनि आउन थालेको छ ।

नेकपा एमालेका दुई प्रभावशाली नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, राजेन्द्र अर्याल, नेपाली कांग्रेसका नेताहरु चन्द्र भण्डारी,चन्द्र केसी, डा. दामोदर भुसाल, नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री, नेकपा माओवादीका लीलामणि पौडेल यहाँबाट संघीय निर्वाचनको तयारीमा लागेका छन् ।

गत निर्वाचनमा दुइटै क्षेत्रमा वाम गठबन्धनबाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज विष्टले निर्वाचन जितेका थिए । २०७४ सालमा क्षेत्र नम्बर १ बाट ज्ञवालीले ३७ हजार ८१४ मत ल्याएर जिते भने कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए । २०७० सालको निर्वाचनमा कांग्रेसका भण्डारीले एमालेका ज्ञवालीलाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर २ मा एमालेका नेता गोकर्णराज विष्टले ३४ हजार ६१४ ल्याएर जितेका थिए । कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार २५७ मत ल्याएका थिए । अहिले यहाँको राजनीतिक समीकरण फेरिएको छ । तीन महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा ५ दलको गठबन्धनबाट यसअघि एमालेले जितेका अधिकांश पालिकामा कांग्रेस माओवादीले जितेका छन् ।

एकल प्रतिस्पर्धामा अहिले पनि एमाले बलियो देखिन्छ । तर, गठबन्धनको मत जोड्दा एमाले पछाडि देखिएको छ । पाँचदलीय सत्ता गठबन्धनले लुम्बिनी प्रदेशमा आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका वडाध्यक्षहरुको मत ३५ हजार ७०२ र सत्ता गठबन्धनका दलका वडाध्यक्षहरुको मत ३८ हजार ३६१ छ ।

यस्तै क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका वडाध्यक्षहरुको मत ३२ हजार ४२१ र एमालेको ३१ हजार २५३ रहेको छ ।

क्षेत्र नम्बर १ मा एमालेबाट पुनः प्रदीप ज्ञवाली र २ बाट गोकर्णराज विष्ट नै उठ्ने तयारी गरी मैदानमा पुगेका छन् । तर, क्षेत्र नं २ मा प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले आफूले टिकट पाउने गरी मैदानमा खटिएका छन् ।

सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ मा कांग्रेस नेता डा.चन्द्र भण्डारीको दाबी छ । तर, भण्डारी रुपन्देही २ मा उठ्ने चर्चाले त्यहाँ उनलाई उम्मेदवार बनाउन नचाहने समूहलाई बल पुगेको छ । पार्टीमा संस्थापन इतर समूहमा रहेको र गुल्मीमा संस्थापन समूहका चन्द्र केसी पार्टीमा बलियो भएकाले उनले रोजेको क्षेत्र भण्डारीले पाउने छैनन् । गठबन्धनमा माओवादी वा नेकपा एसलाई एक क्षेत्र दिनुपरेमा यहाँ भण्डारीको सम्भावना कम रहने बताइन्छ ।

माओवादीले गठबन्धनमा यो क्षेत्र पाएमा पूर्वसचिव लीलामणि पौडेललाई अगाडि सार्ने तयारी गरेको छ । उक्त क्षेत्र नपाए २ नं क्षेत्रमा दाबी गर्ने गरी छलफल अघि बढाएको पार्टी स्रोले जनाएको छ ।

क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको दाबी छ । झाँक्रीले यसपटकको निर्वाचनमा समानुपातिकमा नबस्ने र जन्मभूमि गुल्मीबाट नै उठ्ने बताएकाले यहाँ गठबन्धनको भागबन्डामा समस्या हुने देखिएको छ ।

यहाँबाट कांग्रेस नेता डा. दामोदर भुसालले टिकट पाउन पार्टी संस्थापन समूहमा बलियो दावेदारी पेश गरेकाले भागबन्डामा छोड्न नहुने बताइरहेका छन् । भुसालले पार्टीबाट आफू अहिले क्षेत्र नं २ को निर्विकल्प उम्मेदवार भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका गुल्मी सभापति खिलध्वज पन्थीले पार्टी केन्द्रको निर्णय स्वीकार गरेर अगाडि बढ्ने बताए । माओवादी केन्द्र गुल्मीका पूर्वअध्यक्ष वीरबहादुर कार्की २ निर्वाचन क्षेत्रमध्ये गठबन्धनबाट एउटा आफूहरुले पाउनुपर्ने बताउँछन् ।

एमाले केन्द्रीय सदस्य जंग नेपालीले अहिलेसम्म पार्टीमा उम्मेदवार कसलाई उठाउने भनेर छलफल नभए पनि पार्टी पदाधिकारी तथा पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट संघका लागि पहिलो प्राथमिकतामा पर्ने बताउँछन् । सत्ता गठबन्धनले जतिसुकै बल गरेर निर्वाचन लडे पनि गुल्मीमा एमालेको जीतलाई रोक्न नसक्ने उनको दाबी छ ।

गुल्मीमा गठबन्धनमा रहेका जसपा र जनमोर्चाले स्थानीय तहको निर्वाचनमा पनि स्थान नपाएको र अहिले पनि वास्ता नगरिएको गुनासो गरेका छन् ।


प्रतिक्रिया

One thought on “गुल्मीमा तोडिएला एमालेको वर्चश्व ? सत्ता गठबन्धनमै छ हानथाप

  1. यश पटक गुल्मी १ मा काङ्ग्रेस ले जितने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर