माओवादीप्रति जनतामा आकर्षण छ, चुनावमा पहिलो वामपन्थी पार्टी बन्ने प्रबल सम्भावना : प्रचण्ड (भिडिओ) – Nepal Press

माओवादीप्रति जनतामा आकर्षण छ, चुनावमा पहिलो वामपन्थी पार्टी बन्ने प्रबल सम्भावना : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रूपमा स्थापित हुने आशा व्यक्त गरेका छन् ।

जनतामा माओवादीप्रति आकर्षण देखिएको तर स्थानीय चुनावमा पार्टीभित्रको अन्तर्विरोधले सोचेजस्तो नतिजा नआएको उनले बताए ।

पोस्टबहादुर स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावमा दोस्रो शक्ति बन्ने अवसर गुमेको गुनासो गरे ।

उनले भने, ‘सबैतिरको हिसाब गर्दा १७५ वरिपरि जित्छौँ भन्ने देखिन्थ्यो । हामी दोस्रो पार्टी हुन सक्थ्यौँ । ०७४ सालको निर्वाचनमा जितेका स्थानीय तहलाई मात्रै बचाउन सकेको भए देशको दोस्रो ठूलो र कम्युनिष्ट आन्दोलनको पहिलो पार्टी हामी बनिसकेका थियौँ । तर, हामीले जितेका ५० भन्दा बढी सिटहरू गुमे ।’

उनले जनतामा पार्टीको जनमत भने नखस्किएको बताए ।

‘हाम्रो आकर्षण घटेर सिट गुमेको भए हामीले कमजोरी गर्‍यौँ, जनताले साथ दिएनन् भन्ने हुन्थ्यो । तर पार्टीभित्रकै अन्तर्विरोधका कारण हामीले ती स्थानहरू गुमायौँ । हाम्रै साथीहरूबाट अन्तर्घात भयो ।’

अहिले माओवादीप्रति जनतामा आकर्षण देखा परेको प्रचण्डले दाबी गरे । यसलाई बचाउन सकेमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो वामपन्थी शक्ति बन्न सकिने उनको भनाइ थियो ।

‘अहिले फेरि पूर्व माओवादी र अरू कम्युनिस्ट घटकबाट माओवादीमा दिनदिनै ठूलो संख्यामा आउने लहर चलिरहेको छ । यो सबैलाई बचाउनसक्यौं भने वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने पुरै सम्भावना छ,’ प्रचण्डले भने ।

गठबन्धनलाई अगाडि बढाउनु पर्ने र वामपन्थी आन्दोलनलाई एकजुट गराउनुपर्ने दोहोरो जिम्मेवारी रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *