ओली-लिङदेन भेट : चुनावी तालमेलको ढोका खुल्ने संकेत – Nepal Press

ओली-लिङदेन भेट : चुनावी तालमेलको ढोका खुल्ने संकेत

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको पहलकदमी सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर विस्तृत कुराकानी गरेका छन् ।

हिजो ओलीको निजी निवास बालकोटमा अध्यक्षद्वयबीच लामो भेटवार्ता भएको हो । राप्रपा स्रोतका अनुसार उक्त भेटवार्तामा दुवै नेता चुनावी तालमेलका विषयमा सकारात्मक देखिएका थिए ।

‘कुराकानी निस्कर्षमा पुगिसकेको छैन, तर सकारात्मक दिशामा छ,’ स्रोतले भन्यो ।

यसअघि राप्रपा महामन्त्री कुन्ती शाहीले अध्यक्ष ओलीलाई भेटेकी थिइन् । गत बुधबार भएको भेटमा पनि चुनावी तालमेलको विषयमा चर्चा भएको थियो । सोही भेटपछि दुई अध्यक्षबीच वार्ताको वातावरण बनेको हो ।

एमाले र राप्रपा दुवैले चुनावी तालमेलका विषयमा कुनै औपचारिक निर्णय गरेका छैनन् । एमाले नेताहरुले देशव्यापीरुपमा कुनै पार्टीसँग गठवन्धन नगर्ने तर स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने बताइरहेका छन् । राप्रपा नेताहरु पनि सत्तारुढ गठवन्धन वा एमालेमध्ये एकातिर मिल्नुपर्ने पक्षमा छन् ।

गत स्थानीय चुनावमा एमालेले राप्रपाबाट फुटेर बनेको राप्रपा नेपालसँग केही स्थानमा तालमेल गरेको थियो । तर निर्वाचनको परिणाम हेर्दा राप्रपा नेपालसँग उल्लेख्य जनमत देखिएन । त्यसैले संघीय र प्रदेश चुनावमा एमाले राप्रपातिर मोडिने सम्भावना बढेको हो ।

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङदेन एउटै जिल्लावासी पनि हुन् । अघिल्लो चुनावमा दुवै नेताले एक–अर्कालाई सघाएका थिए । तर राष्ट्रिय सभाको चुनावमा एमालेलाई साथ नदिएपछि ओली राप्रपासँग रुष्ट बनेका थिए । त्यही आवेगमा उनले स्थानीय तहको चुनावमा राप्रपालाई पन्छाएर राप्रपा नेपालसँग तालमेल गरेको बताइन्छ ।

राप्रपाको कार्यसम्पादन बैठकले तालमेलबारे औपचारिक निर्णय गर्ने छ । त्यसअघि लिङ्देनले ओलीसँग छलफल अघि बढाएका हुन् । हिजोको भेटमा राष्ट्रिय राजनीतिका अन्य समसामयिक विषयमा पनि छलफल भएको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर