विशाल भट्टराईको प्रक्षेपण- यसकारण एमाले एक्लैको बहुमत आउँछ
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावबाट नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
खोटाङका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा स्थानीय तहको मत परिणामको आधारमा भट्टराईले उक्त दाबी पेस गरेका हुन् । एमालेविरुद्ध महागठबन्धन बनाउँदा ३८ लाख लोकप्रिय मतका साथ २०६ स्थानीय तहमा एमालेले जितेको उनले दृष्टान्त पेस गरे ।
‘वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई हेर्दा सबै दल एकातिर हुँदा पनि एमालेले सीधै ३९ सीट जित्ने देखिएको छ । बाँकी ७० वटा सीटमा गठबन्धनसँग कडा टक्कर गर्छ र अधिकांश ठाउँमा जित्छ’, भट्टराईले भने, ‘समानुपातिकतर्फ ५० भन्दा बढी सीट जितेर एमाले एक्लैले बहुमत ल्याउँछ र सरकार बनाउँछ।’
उम्मेदवार चयनमा ध्यान, पार्टीभित्रको एकता सशक्त पार्दै चुनावमा सबै पार्टी पंक्ति परिचालनको प्रभावकारी कार्ययोजनामा उनको जोड थियो ।
पार्टी उपाध्यक्ष सुवास नेम्वाङको प्रमुख अतिथिमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य लालबाबु पण्डित, प्रदेश, जिल्ला कमिटी तथा प्रदेश सम्पर्क कमिटी र केन्द्रीय विभाग एवं जनवर्गीय संगठनका नेताहरू सहभागी थिए ।