प्रधानमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको गुनासो- बजेटमा विभेद भयो
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य दुई मन्त्रीले सामूहिक भेटेका छन् ।
बालुवाटारस्थित निवास पुगेर मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । उनीहरू बीच करिब ४० मिनेट संवाद भएको थियो ।
भेटका क्रममा मुख्यमन्त्री भट्टले संसदीय सरकारले सुदूरपश्चिम प्रदेशलाई उपलब्ध गराउने बजेटमा विभेद गरेको गुनासो गरेका थिए । उनले यहाँको विकास र समृद्धिका लागि संघीय सरकारले बजेट बढाउनु पर्ने बताएका थिए ।
सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोबाट हुनसक्ने सम्भावित क्षतिको विषयमा पनि संघीय सरकार गम्भीर बन्नु पर्नेमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । जवाफमा देउवाले यो विषयमा आफू पनि गम्भीर रहेको बताएका छन् ।
तत्काल गेटा मेडिकल कलेज सञ्चालन गर्न र र सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । भेटमा गठन्धनमा सीट बाँडफाँटको प्रसंग कोट्याउन खोज्दा देउवाले यस विषयमा कार्यदलले काम गरिरहेको भन्दै थप बोल्न नचाहेको एक मन्त्रीले बताए ।