११ सय थान कम्प्युटर भेटिएको कल सेन्टर ठगी प्रकरण- झारा टार्ने अनुसन्धान नहुने प्रहरीको दाबी
काठमाडौं। नेपालीसँग मिलेर चिनियाँ गिरोहले ठगी गर्न सञ्चालन गरेको कल सेन्टर प्रकरणमा यस पटक गम्भीर रुपमा अनुसन्धान भइरहेको दाबी प्रहरीले गरेको छ ।
अघिल्ला घटनाहरूमा अभद्र कसुरमा हिरासतमा राखेर झारा टारेको भन्दै आलोचित प्रहरीले यस पटक त्यो गल्ती नगर्ने एक अनुसन्धान अधिकृतले बताए ।
‘चिनियाँ गिरोहले यस पटक पनि सजिलै उन्मुक्ति पाउँछन् भन्ने जुनखालको हल्ला हाल बाहिर सुनिरहेको छ, त्यस्तो यस पटक हुँदैन। हामी गहिराइसम्म पुगेर अनुसन्धान गरिरहेका छौँ’, अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन् ।
काठमाडौं प्रहरीले साउन ९ गते तीनकुने स्थित स्काइ वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेको थियो । कल सेन्टरको आवरणमा सञ्चालन भइरहेको उक्त कम्पनीको कार्यालयबाट प्रहरीले एक जना चिनियाँ, २ जना भारतीय र ३३ जना नेपालीलाई पक्राउ गरेको थियो ।
प्रहरीले ३ सय ६२ थान ल्यापटप, ७ सय ४८ थान डेस्कटप र एउटा डिभिआर बरामद गरेको थियो । प्रहरीले गत वर्ष यस्तै काम गरेर बसिरहेका चिनियाँ गिरोहलाई अभद्र व्यवहारमा मुद्दा चढाएर चीन दूतावासको जिम्मा लगाएपछि प्रहरी अनुसन्धान यस पटक पनि फितलो हुन आशंका भइरहेको छ । चिनिया गिरोहको यो धन्दा नेपालको शक्ति केन्द्रहरूसम्म पनि जोडिएको बताइन्छ ।
‘अब केही समयमा धेरै कुराहरू बाहिर ल्याउन सकिएला’, अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन् । कल सेन्टरबाट बरामद भएका डिभाइसको फरेन्सिक परीक्षणबाट प्रमाणहरू भेटिन सक्ने प्रहरीको अनुमान छ । कल सेन्टरकै आवरणमा ठगी धन्धा चलाएको भन्दै प्रहरीले ठमेलमा पनि छापा मारेको थियो । त्यहाँबाट पनि चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । कल सेन्टरको आवरणमा ठगी धन्धा काठमाडौंमा मात्र होइन रुपन्देहीमा पनि सञ्चालन भएको पाइएको थियो ।
साइबर ब्युरोले गरेको त्यो अनुसन्धान
नेपाल प्रहरीको साइबर ब्युरोले एक महिनाअघि कल सेन्टर चलाउने गिरोहलाई पक्राउ गरे मुद्दा चलाएको थियो ।
धुम्बाराहीस्थित अर्बिट नेक्सस प्रालीमा कल सेन्टरको आवरणमा विदेशमा बस्ने नागरिकलाई ठगी भइरहेको भन्दै प्रहरीले सञ्चालक, उनलाई प्रयोग गरेर ठगी धन्धा चलाउने दुई भारतीय र १० जना कर्मचारीलाई पक्राउ गरेको थियो ।
उनीहरूले कम्प्युटरमा स्क्याम नोटिफिकेसन पठाएर आफू माइक्रोसफ्टको कर्मचारी भन्दै मर्मत गरिदिने नाममा बैंक खातासम्म पहुँच राखेर पैसा झिक्ने काम गरेको प्रहरीको दाबी थियो । प्रहरी अनुसन्धानबाट करिब ७ सय जनालाई उनीहरूले ठगेको पाइएको थियो। ब्युरोले विदेशमा बस्ने विदेशी नागरिकहरू भए पनि पीडितहरूलाई सम्पर्कमा ल्याइरहेको छ ।
अहिले दुवै भारतीय नागरिक पुर्पक्षका लागि कारागारमा रहेका छन्। गम्भिी ररुपमा अनुसन्धान गर्ने हो भने चिनियाँ गिरोहले पनि गरेको ठगीको विभिन्न तहसम्म पुग्न सकिने र कसुर स्थापित गर्न सकिने ब्युरोका अधिकारीहरू बताउँछन् ।
‘कतैबाट दबाब नहुने हो भने यसको पनि अनुसन्धान गर्न सकिन्छ’, ब्युरोका एक अधिकारी भन्छन्। हालसालै हुन्डी र क्रिप्टोमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठ प्रकरणमा प्रहरीले उनको सहयोग बिनै प्रहरीले फरेन्सिक ल्याबबाट अनुसन्धान सहज बनाएको थियो।
मोबाइल र ल्यापटप लक खोल्न उनले सहयोग नगरेपनि फरेन्सिकबाट उनको धन्धाका विवरणहरू पत्ता लागेको अधिकारीहरू बताउँछन्।