हजार प्रति पुस्तक छापेर बाँड्दै हिँड्नु चाहिँ साहित्यिक ओज हो र ?
आख्यानकार बडाल भन्छन्- र त साहित्यमा युवालाई निषेध गरिन्छ
काठमाडौं । ‘लेखनमा करियर’ ! साहित्यिक वृत्तमा यो चर्चित विषय हुँदै हो । सँगै नेपाली मिडियाका लागि पनि प्रायः खुराकको रुपमा आइरहने शब्द । ‘लेखनमा करियर’ एंगल दियो, दुईचार लेखक-प्रकाशकको बाइट लियो, बेस्ट सेलिङ भनिएका पुस्तकहरुको विवरण थप गर्यो । यत्ति भए रिपोर्टिङका लागि सरदरको कोरम पुगी गो !
पंक्तिकार स्वयंले झण्डै आधा दर्जन हाराहारीको संख्यामा रिपोर्टिङ भ्याइसकेको छ । रिपोर्टिङका लागि रिपोर्टिङ गरिएका त्यस्ता शब्दका थुप्रोहरु उस्तो प्रभावकारी भएको अनुभूत चाहिँ भएको छैन । तर पनि लेखनमा करियर छ !
बुद्धिसागर, सुविन भट्टराई, राजन मुकारुङ, उपेन्द्र सुब्बा, कुमार नगरकोटी, अमर न्यौपानेले लेखेरै जीवन-जीविका चलाइरहेकै छन् । न्यूनत्तम १० हजार कपी पुस्तकलाई आधार मान्ने हो भने पनि पाँच-सात लाखको रोयल्टी बुझेकै छन् । सँगै अग्रीम भुक्तानी पनि लिइरहेकै छन् । तर, करियर छ भन्दैमा ‘लेखनदास शैली’मा अनेकानेक ढड्डा लेखिरहेका लेखकहरुमाथि निर्मम समीक्षा बाँकी नै होला !
रहरपहरमा लेखिएका पुस्तकहरुलाई एक कुनामा थन्काएर बाँकी लेखकका पुस्तकलाई हेर्ने हो भने लेखनमा करियर त छ । करियर नै देखेर लेखनमा आइपुगेका एक लेखक हुन्, सुरेश बडाल । पहिलो कथा संग्रह ‘रहर’ ल्याएर पाठकबाट ‘वार्म वेलकम’ पाएका बडालको नयाँ उपन्यास आउँदैछ, ‘मायाका मसिना अक्षर’ ।
विशेषतः युवा पुस्ताको सम्बन्ध, प्रेम, मनोविज्ञानमाथि बडालले लेखेका कथाहरु खुबै रुचाइए । अहिले उपन्यासमा पनि आफ्नै दौंतारीहरुको कथालाई पस्किने प्रयास गरेका छन् । तर, कथा संग्रहभन्दा थोरै फरक, शिल्प र शैलीका हिसाबले उपन्यासमा चाहिँ थोरबहुत इम्प्रुभमेन्ट भएको बताउँछन् उपन्यासकार ।
नयाँ उपन्यासलाई प्रेमकै पात्र वरिपरि घुमाएका छन् बडालले । तर, ठ्याक्कै प्रेमकथा भनिहाल्दैनन् । भन्छन्, ‘प्रेमको कथाभन्दा पनि प्रेम बुझाउने कथा भन्छु म । अहिलेको समयको कथा लेखेको हो । कतिपय लेखकले सस्तो विषय भनेर लेख्ने आँट गर्दैनन् । कतिपयलाई यो समयसँग त्यति धेरै तादात्म्य पनि छैन । तर, म यो पुस्ताको भएर कथा लेख्न सक्छु भन्ने लागेर लेखेको हुँ ।’
प्रेम त बुझाउने भन्दा पनि मान्छेको वैयक्तिक बुझाइ होइन र ?
‘जस्तो मैले कथा भन्छु, मेरो दृष्टिकोणबाट भन्छु । मेरो कथामा पात्रहरुको प्रेम हुन्छ ।’
बडाललाई लाग्छ, यहाँ प्रेमलाई मान्छेहरुले एकदमै हल्का रुपमा लिए । चिप कन्टेन्ट बनाएर बुझ्छन् । प्रेम त बुढाबुढीको हुन्छ, पशुसँगको हुन्छ, ईश्वरसँगको हुन्छ । तर, जब युवाको कथा लेखिन्छ, त्यहाँ युवाकै भाषा चाहियो । उसकै गतिविधि र पात्र चाहियो ।
अहिलेको समाजमा मान्छेले धेरै थोक देख्छ । तर, उसले तत्काल अपेक्षा गरेको पाउँदैन । त्यसैले सम्बन्धमा धोका, ढाँट्ने, छल्ने र अप्ठ्यारा आउँछन् ।
‘युवाको कथामा बेरोजगारी, फ्रस्टेसन आउँछन् । प्रेम पनि आउँछ । तर, प्रेमलाई केन्द्रमा राखियो भने मिठास आउँछ’, बडाल भन्छन्, ‘अहिले बुढाहरुले देश चलाइरहेका छन् । युवाले चुनौती दिन्छु भन्छन् । तर, यहाँ बालेनलाई नै स्वीकार्न गाह्रो छ । उनीहरु झिँजो मान्छन्, युवालाई अन्डरस्टिमेट गर्छन् । र त साहित्यमा युवालाई निषेध गरिन्छ ।’
भनिन्छ, युवा भनेको चेतना र विचारमाथिको परिपक्वताले हुन्छ ।
यसको तात्पर्य युवालाई साइड लगाउन ग्रान्ट खोजेको बताउँछन् बडाल । थप्छन्, ‘४५/५० पुग्दा पनि उसले पाउने सफलता पाएन भने विचार पनि युवा हुनुपर्छ भन्छन् । अहिलेको डिजिटल युगलाई दैनिक उपयोग गर्न राम्रोसँग जान्दैन । ढंगले फोटो हाल्न सक्दैन । म्यासेन्जरमा जताततै कल गर्दिन्छ । टिकटकसम्म बनाउन जान्दैन । युवा भनेको त सक्रियताले, दैनिक प्रस्तुतिले हुने हो ।’
युवालाई लिएर प्रेमको कथा पस्किन लागेका बडालले उपन्यासमा मीठा कथा भन्न खोजेका छन् । सँगै विषाक्त बनेका कथाहरुलाई भन्न खोजेका छन् । जे चिजलाई अहिलेका युवाले प्रेम भनिरहेका छन्, त्यो होइन भन्न पनि खोजेका छन् ।
बडाल भन्न चाहन्छन्, सबैको भावना हुन्छ । सँगै जिउन नसकिने अवस्था भए साथीको रुपमा भावनात्मक सम्बन्ध अगाडि बढाउन सकिएला नि ! तर, लाइन क्रस गरेर कसैको भावनामाथि खेलवाड गर्नु, आफ्नो स्वार्थपूर्ति गर्नु गलत हो ।
– सम्बन्धहरु किन यसरी विषाक्त बनिरहेका छन् ?
बडाल भन्छन्, ‘संसार साँघुरो छ । हिजोको मान्छेले जति दुनियाँ देख्थ्यो, त्योभन्दा बढी देख्छ । त्यहीअनुसार महत्वाकांक्षा बढ्छ । चाहना बढ्छ । कोहीसँग सम्बन्धमा खटपट हुँदा त्योभन्दा बेटर लगत्तै खोज्छ । हिजोको समयमा त्यस्तो थिएन । चेतना, प्रविधि थिएन । साँघुरो समाज थियो । अहिलेको समाजमा मान्छेले धेरै थोक देख्छ । तर, उसले तत्काल अपेक्षा गरेको पाउँदैन । त्यसैले सम्बन्धमा धोका, ढाँट्ने, छल्ने र अप्ठ्यारा आउँछन् ।’
– अरुलाई प्रेम बुझाउन पुस्तक लेख्नुभयो । तर, आफ्नै प्रेम चाहिँ कस्तो छ ?
म केही सम्बन्धमा रहेँ । तर, मैले उपन्यासमा लेखेजस्तो चाहिँ भएको होइन, मेरो फरक हो । मेरो सम्बन्धको आधारभूत चरणमा के थाहा भयो भने त्यो प्रेम होइन । मसँग जोडिएको मान्छे र म दुवैलाई जबरजस्ती प्रेम गर्नु गाह्रो कुरा हो । यो निरन्तर भयो भने यसले पछि दुःखाउन सक्छ । यदि हामी आ-आफ्नो बाटो लाग्यौं भने पछुतो हुँदैन ।
मैले अर्को मान्छेलाई बुझाउन सकेँ । यदि मैले बुझाउन नसकेको भए, टक्सिक रिलेसनलाई लिएर गएको भए अर्कै अवस्था हुन्थ्यो । म छुट्टिए पनि उसको माया लागेर आयो । उसँग छुट्नु नै मेरो प्रेम हो ।
– पाठकलाई प्रेम बुझाउने मान्छे तपाईं त ! आफ्नो सम्बन्धलाई पनि रिफ्रेस बनाउँदै लैजान सक्नुहुन्थ्यो होला नि !
संसारमा चप्पलको त उस्तै साइजको अर्को जोडा हुन्छ । उसको पृष्ठभूमि फरक होला, चाहना र सपना फरक होलान् । हामी संयोगले भेटियौं । जरुरी छैन नि सँगै जानु ! गन्तव्य अर्कै थियो होला । ऊ जानु अन्तै थियो होला । जब हामी फरक छौं भन्ने चिज सुरुको पाइला चाल्नेवेला थाहा हुन्छ, जहाँबाट हात समाएर हिँड्ने वेला थाहा हुन्छ, त्यसपछि सँगै हिँड्नु हुँदैन ।
हरेक मान्छेसँग हरेक मान्छेको सम्बन्ध बन्दैन । मान्छेहरु फरक फरक बाटो हिँड्छन् । प्रेम भनेको जिन्दगी बिताउने मान्छेसँग मात्रै गर्न सकिन्छ ।
– वेलावेला नेपालका वामपन्थीहरु प्रेममाथि बहसमा उत्रिएका देखिन्छन् । मार्क्सवादको एंगलबाट हेरिरहेका भेटिन्छन् । प्रेमलाई सिद्धान्तको चस्मा कति आवश्यक हो ?
त्यसरी हेर्न नपर्ने हो । जब वादको चस्मा लगाएर हेर्छ, त्यो मान्छे विरोधाभाषमा बाँच्छ । यदि मार्क्सवादी कोणबाट हेर्ने हो भने विवाह संस्थामा वर्ग छ । यदि त्यसरी कसैले हेर्छ भने त्यो मान्छे फस्छ । वैवाहिक संस्था त प्रेमको गलत प्रयोग हो । मान्छेलाई प्रकृतिको सामान्य कम्पोनेन्ट मानेर हेर्ने हो भने त्यहाँ विवाह संस्था, हिंसा, विवाहेत्तर सम्बन्ध आउँछन् । यी सब चिज त समाजले बनाएका हुन् । त्योभन्दा पृथक हो प्रेम भनेको ।
– तर, प्रेममा वर्ग हुन्छ नि ?
प्रेममा वर्ग हुन्छ । मेरै किताबमा पनि कतै न कतै बहस हुन्छ । प्रेममात्रै हुँदा प्रेम सम्भव छ । तर, जब त्यसलाई सामाजिक स्वीकारोक्तिसहितको अवस्था बनाउनतिर लागियो भने प्रेम ध्वस्त भएर जान्छ । यहाँ त प्रेममा जात पनि हुन्छ । रुकुम घटनामा प्रेममात्रै भएको भए त्यो घटना नै हुँदैन थियो । हाम्रो बाध्यता के हुन्छ भने प्रेमलाई सामाजिक स्वीकारोक्तिमा लानुपर्ने हुन्छ । त्यहाँ जात र वर्ग बाधक भइदिन्छ ।
– मार्क्सवादीहरुले त विवाहेत्तर सम्बन्धलाई पनि इन्कार गरिदिन्छन् । तर, गाइँगुइँ त विवाहेत्तर सम्बन्धकै चलिरहेको हुन्छ नि ?
त्यो अवधारणाले विवाहलाई मान्दैन । जोइपोइ भनेर बस्दैनन् । तर, विरोधाभास छन् । यही समाजमा कार्य-व्यवहार धानेर बसेका छन् । तर, सिद्धान्त जड बोक्नु परेको छ भने त्यस्तो आइहाल्छ । तर, यो विषयलाई कसरी सामान्यीकरण गर्न सकियो भने ‘हामी माक्र्सवादी हौं, प्रेम जतिसँग पनि हुनसक्छ ।’ यहाँ विवाह एकजनासँग हुन्छ । तर, प्रेम अरुसँग पनि हुनसक्छ भनेर आफूलाई ढाकछेप गर्ने सुविधा उनीहरुलाई नै छ । हामीलाई चाहिँ छैन ।
प्रेममात्रै हुँदा प्रेम सम्भव छ । तर, जब त्यसलाई सामाजिक स्वीकारोक्तिसहितको अवस्था बनाउनतिर लागियो भने प्रेम ध्वस्त भएर जान्छ । यहाँ त प्रेममा जात पनि हुन्छ ।
समाजमा बस्ने हो भने अनुशासन चाहिन्छ, हुन्छ । अनुशासन मानिएन भने फाल्तु भइन्छ । मलाई पनि असामाजिक हुन कत्ति मनपर्छ । दुईतीन जनासँग प्रेम हुन्छ कि हुँदैन भनेर पुस्तकमा पनि लखेको छु । हिजोका दिनमा चेतना हुँदा पनि सम्बन्ध थियो मान्छेको । पछि समाज आयो, मर्यादा आयो, इज्जत आयो । यो सबै मान्छेले बनाए, यी सबै चिजमा बाँच्ने हो मान्छे । मैले भन्ने गरेको छु, मान्छेहरु नांगिन त्यतिवेला सुरु गरे, जब लुगा लगाउन थाले ।
– संसारभर असफल प्रेमहरुलाई आदर्श मानिएको छ । सफल प्रेम नभएका त छैनन् होला नि ?
सफल प्रेमलाई पनि आदर्शीकरण गरिएका छन् । तर, त्यो एउटा फेजबाट टुंगिन्छ । सफल भयो, टुंगियो । कथामा त हामीलाई भावनात्मक उद्वेलन चाहिन्छ । ट्राजेडी भएर खिन्नताको विन्दुमा गएको कथाले जिन्दगीभर सम्झना दिन्छ ।
रुकुमको घटनाले मान्छेको दिल दुःखायो । तर, कति ठाउँमा अन्तरजातीय विवाह सुन्दर ढंगले भएका छन् । त्यो कथा भोलिबाट सकिन्छ । त्यसले लामो समयसम्म हन्ट गर्दैन, नाइटमेयर दिँदैन । तर, रिक्तताले मान्छेलाई पछिसम्म पिरोल्छ । त्यसैले होला कि !
– प्रेमकै कथा लेख्दा पनि समाज, राजनीति आउनुपर्छ भनिन्छ । यी चिज आएन भने प्रेम हल्का हुन्छ भनेर भन्छन् । तपाईंलाई कस्तो लाग्छ ?
कुरा ठीक हो । कुनै व्यक्ति समाजले बनाएको हुन्छ । उसको दृष्टिकोण धरातलले बनाउँछ । मैले किताबमा मान्छेको मानसिक अवस्थामात्रै लेखेको छु । कोही मानसिक रुपमा दोसाँधमा उभिँदा कुन निर्णय गर्छ, कस्तो अवस्थामा छ ।
हामी आजभोलि प्रेममात्रै डिफाइन गर्नलाई प्रेमबारे लेखिरहेका छैनौं । प्रेमलाई समाजले कसरी बुझिरहेको छ, गलत बुझाइले के निम्त्याएको छ भनेर लेखिरहेका छौं । तँलाई मार्छु, म पनि मर्छु भन्ने अवस्थामा किन पुगेका छन् । धेरै विरोधाभाष छ । उसको आचरणले अरुलाई तनाव दिएको छ । कसैले भ्रम फैलाइदिएको होला ! उसको महत्वाकांक्षाले अर्कोतिर आकर्षित भयो होला । यस्ता चिजहरु लेख्नुपर्ने भएकाले मेरो प्रयास पनि त्यही हो ।
– किशोरकिशोरीले गर्ने प्रेमका कथाको कुरा गर्दा प्रकाश कोविद, युधिर थापा शीर्ष स्थानमा आउँछन् । ती लेखकहरुले नितान्त व्यक्तिगत प्रेम सम्बन्धमाथि कलम चलाए । तर, उनीहरुलाई साहित्यिक वृत्तमा एकदमै हल्का रुपमा लिइन्छ । यस्तो किन भएको हो ?
ती लेखकको लेखकीय शैली वा कन्टेन्टमाथि बहस भएको मान्दिनँ । कुरा विशुद्ध व्यापारको हो । उनीहरुका पुस्तक व्यवसायिक रुपमा सफल पुस्तक हुन् । हरेक पुस्तालाई पुस्तक पढाउन बाध्य बनाउने लेखकहरु हो थापा, कोविद । असल पाठक बनाउने नर्सरी हो । तर, उनीहरुलाई जसरी प्रश्न गरिन्छ, त्यो सर्टेन कुण्ठाहरु हुन् ।
कोही लेखकले जुन पुस्ताको कथा लेख्दैछ, त्यही पुस्ताको बोलीचालीमा लेख्ने हो । भारी, गम्भीर र दार्शनिक शब्द राखेर टीनएजरको कथा लेख्दा राम्रोसँग सम्प्रेषण नहुन सक्ला । उनीहरुको शैली सरल भयो होला । तर, लेखक नै नमान्ने भन्ने त हुँदैन नि !
– व्यवसायिक रुपमा सफल हुनुमात्रै लेखकीय ओज हो र ?
अनि हजार प्रति पुस्तक छापेर बाँड्दै हिँड्नु चाहिँ ओज हो र ? अहिलेको कर्पोरेट दुनियाँमा सामाचार पनि रुचिपूर्ण तवरले लेख्नुपर्छ । आफ्नो विचारलाई कुन तरीकाले भन्दा सफल भइन्छ, त्यसरी भन्नुपर्छ ।
कति हजार र लाख जना पाठकसम्म पुस्तक पुग्यो भन्नेले अर्थ राख्छ । जति वजनदार साहित्य भयो, त्यति मान्छेले किनेर पढ्ने हो । त्यो चिजलाई अन्डरस्टिमेड गर्न सकिन्छ र ?