एउटै चुनाव चिन्हबाट लड्ने जानकारी गराउन माओवादी र नेसपा आयोग जाँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने जानकारी दिन नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा निर्वाचन आयोगमा जाँदैछन् ।
दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर एउटै चिन्ह्रबाट चुनाव लड्ने जानकारी गराउने कार्यक्रम रहेको पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रमेश मल्लले बताए । उनले भने, ‘दुई पार्टी एक चुनाव चिन्हको मान्यताबाट अघि बढिने र निर्वाचन आयोगमा पनि सोही बमोजिम जानकारी गराउने हाे । अध्यक्षज्यू जानुहुँदैन ।पार्टीका अरु नेता जानुहुन्छ हाेला ।’
माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको थियो ।
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।
योबाहेक सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।
यो सहमतिसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने निश्चित भएको छ ।