गठबन्धनको निर्णय- नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद्मा पेश गर्ने निर्णय लिएको छ ।
आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ ।
गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द वन्दीले विधेयकलाई यसअघिकै प्रक्रियाबाट पारित गरिने बताए ।
‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद्मा पेस गर्छ ।’
उनले विधेयकलाई समितिमा नलैजाने निर्णय भएको जानकारी दिए ।
‘पहिले पनि समितिमा लगिएको होइन । अहिले पनि समितिमा जाँदैन । हाउसमै छलफल हुन्छ । संसद् बैठकबाटै पारित गर्ने गरी पेश गर्छौँ,’ उनले भने ।
यसअघि सरकारले प्रतिनिधिसभामा सर्टकर्ट विधिबाट एक दिनमा नागरिकता विधेयक पारित गरेको थियो ।
समितिमा नलगीकन हतारमा पारित गरेकोमा सरकार आलोचित बनेको थियो । तर, अब पनि सरकारले पुरानै शैली दोहोर्याउने भएको छ ।
देशै बेच्न तयार हुने गठबन्धनले गर्ने यहि हो। अबको चुनावमा यदि हामी जनताले यिनलाई हराएनौं भने ठूलो दु:ख पाउँछौं। नेपाली नेपाल मै अल्पमतमा परेर अरूको दास हुनेछौ। मौका चुनावमा आउँदैछ। खेर नफालौं।