पाल्पा २ मा एकीकृत समाजवादीलाई नछोड्न कांग्रेसमा दबाब, टिकट पाउन नेताहरुको दौडधुप – Nepal Press

पाल्पा २ मा एकीकृत समाजवादीलाई नछोड्न कांग्रेसमा दबाब, टिकट पाउन नेताहरुको दौडधुप

रुपन्देही । तीन महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पाको क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरुले ५०० मत पनि ल्याउन सकेनन् । तर एकीकृत समाजवादीले गठबन्धन दलमा लुम्बिनी प्रदेशबाट संघमा पाउनुपर्ने क्षेत्रको सूचीमा पहिलो नम्बरमा यही क्षेत्र राखेको छ ।

नेकपा एसका प्रदेश अध्यक्ष रहेका नेता सोमप्रसाद पाण्डे यहाँका निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालका सम्धी भएकाले पनि गठबन्धनबाट उनले टिकट पाउने सम्भावना बलियो छ । स्थानीय तह निर्वाचनमा ५०० मत नपाएका नेकपा एसले सिंगो क्षेत्र दाबी गर्दा गठबन्धनमा रहेका अन्य दलहरु आश्चर्यमा परेका छन् । स्थानीय निर्वाचनमा २९ हजारभन्दा बढी मत ल्याएको कांग्रेसलाई यो क्षेत्र छोड्नुपर्ने दबाब आइलागेको छ ।

त्यसो त पाण्डे यहाँबाट २०५१ सालदेखि २०७४ सम्मका सबै निर्वाचन लड्दै आएका छन् । पाण्डेले २०५१ र २०५६ सालको आम निर्वाचन, २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा तथा २०७४ सालको संसदीय निर्वाचन लडे । जसमध्ये २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनबाहेक सबै निर्वाचन पाण्डेले जितेका छन् ।

२०७४ सालमा पाण्डेले नेपाली कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरेका थिए । पाण्डेले ३४ हजार ८९९ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका नेपालले २४ हजार ५५४ मत पाएका थिए । सत्ता गठबन्धनबाट पाण्डेले नै टिकट पाउनुपर्ने बलियो तर्क नेकपा एसले राखेको छ ।

कांग्रेसबाट गत निर्वाचनमा पराजित हरिप्रसाद नेपाल, लुम्बिनी प्रदेशका ऊर्जा तथा सिञ्चाइमन्त्री वीरबहादुर राना र नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पनि दाबी गरेका छन् । नेपाल पार्टीको संस्थापन समूहका हुन् भने राना इतर समूहका । सो क्षेत्रमा गठबन्धनबाट पाण्डेले टिकट पाएमा प्रदेशसभामा नेपाली कांग्रेस र माओवादीले टिकट पाउने गरी भागबन्डा हुने अनुमान छ ।

तर, स्थानीय तहको मतभारअनुसार ५०० नकटाएको पार्टीका उम्मेदवारलाई २९ हजार कटाएको कांग्रेसले छोडेर कसरी जिताउन सकिन्छ भन्ने बलियो तर्क कांग्रेसका स्थानीय नेता-कार्यकर्ताले उठाउन थालेका छन् ।

यहाँबाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य ठाकुर गैरे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीको चर्चा भए पनि गैरेले नै टिकट पाउने आंकलन स्थानीय नेताहरुको छ । युवा नेता गैरे कार्यकर्ताबीच परिचित रहेको र स्थानीय तहको निर्वाचनमा निकै राम्रो नतिजा निकालेकाले उनैले टिकट पाउने नेताहरु बताउँछन् ।

अनेरास्ववियूको अध्यक्ष भइसकेका गैरेका समकालीन नेताहरु मन्त्रीसमेत भइसकेका छन् । तर, उनले अहिलेसम्म पार्टीबाट निर्वाचनको टिकटसम्म पाउन सकेका छैनन् । आफूले संसदीय टिकट कस्तो हुन्छ भन्ने अनुभव अहिलेसम्म गर्न नपाएको गैरेले बताए ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्षहरुले ३० हजार ५६६ मत पाए भने कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३, नेकपा एकीकृत समाजवादीले ४३३ र राप्रपाले ३३६ मत पाएका थिए ।

क्षेत्र नं १ मा एमालेका तीन आकांक्षी

एमालेको बलियो संगठन रहेको क्षेत्र नम्बर १ मा तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । यसअघि विजयी दलबहादुर रानाले पुनः उठ्ने तयारी गरेका छन् । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा प्रदेश सांसद नारायण आचार्यले पालो पाउनुपर्ने दाबी गरेका छन् ।

२०७४ सालमा वाम गठबन्धनबाट निर्वाचन लडेका रानाले नेपाली कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरेका थिए । रानाले ३२ हजार ५४९ मत पाउँदा कांग्रेसका घिमिरेले २३ हजार ९२३ मत ल्याएका थिए । राधाकृष्णले पाल्पामा ३ वटा निर्वाचन क्षेत्र हुँदा क्षेत्र नम्बर ३ बाट २०७० दोस्रो संविधानसभा निर्वाचन जितेका थिए । स्थानीय नेताहरुका अनुसार यसपटक कँडेल वा आचार्यलाई अवसर दिनुपर्ने दबाब बढेको छ ।

सत्ता गठबन्धनको तर्फबाट यो क्षेत्र नेपाली कांग्रेसले पाउने सम्भावना छ । कांग्रेसबाट जिल्ला उपसभापति ज्ञानबहादुर गाहा र पूर्वजिल्ला उपसभापति देवराज ढकालको दावेदारी छ ।

स्थानीय तह निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ मा एमालेका वडाध्यक्षहरुले ३४ हजार ७७१ मत पाएका छन् । नेपाली कांग्रेसका वडाध्यक्षहरुले २७ हजार १५०, माओवादीले १ हजार १६४ र राप्रपाले २२३ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर