प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि सिफारिस समितिमा अध्ययन सुरू – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि सिफारिस समितिमा अध्ययन सुरू

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरू भएको छ ।

महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेण्डा छ । समितिको आजको बैठकको सभापतित्व ज्येष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठकमा समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।

एमाले सांसद कृष्णभक्त पोखरेलले पाँच महिनासम्म महाअभियोग त्यत्तिकै थन्याएर राखेको भन्दै आपत्ति जनाए ।

‘हामी कस्तो थिति बसाल्दै छौं ? प्रधानन्यायाधीशजस्तो व्यक्तिविरुद्धको महाअभियोग पाँच महिनासम्म किन राखियो ? कसरी राखियो ? दर्ता भएको सात दिनभित्र अगाडि प्रक्रिया बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘यहाँहरू पक्षमा हुनुहुन्छ । हामी (एमाले) न्युट्रल छौं । चोलेन्द्रको बारेमा छोडेर न्यायिक मन प्रयोग गरेर सोचौं, हामी कति पूर्वाग्रही ? जज नै पक्षधर भएपछि के हुन्छ ? हुन त हामीले यही नै विधि बनाएका छौं । खाली पाँच महिना अड्काइयो भन्ने हो ।’

पोखरेलले नेपालको इतिहासमा प्रधानन्यायाधीशमाथि महाअभियोग आए पनि पास नभएको बताए । उनले भने, ‘के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गरौ । तीन महिना भनेको ठाउँमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ । कार्यविधिसँगसँगै कार्यतालिका र समयावधि किटान गरौं । तीन महिना भने पनि हामीसँग समय छैन ।’

कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले एक महिनापछि सबै दल चुनावमा केन्द्रित हुने भएकाले छोटो कार्यविधि बनाउनुपर्ने बताए । ‘समय तीन महिनाभित्र भनेको हो । त्यसकारण हामीसँग समय छ । हाउसले आएपछि नै दिएन, अब त्यतातिर दोषरोपण नगरौं । आएको छ काम अगाडि बढाऔं । अबको बैठकबाट दस्तावेजमाथि नै अध्ययन सुरू गरौं । दस्तावेज (महाअभियोग) आउँदाको समय सम्झियौं भने यसको महत्त्व याद हुन्छ । त्यसबेला जताततै आन्दोलन विरोध थियो,’ उनले भने, ‘नागरिक समाज र जनआकांक्षलाई पनि समेटौं । एक महिनापछि हामी सबै चुनावमा केन्द्रित हुन्छौ । त्यसकारण छोटो कार्यविधि बनाऔं । बुझ्नपर्ने व्यक्ति र सरोकारवालासँग छलफल गर्नुपर्ने हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर