गणेशमान-पुष्पलाल र कृष्णप्रसाद भट्टराई-मदन भण्डारी भिडेका ती दुई ‘हेभीवेट’ चुनाव – Nepal Press
इतिहासमा आम निर्वाचन

गणेशमान-पुष्पलाल र कृष्णप्रसाद भट्टराई-मदन भण्डारी भिडेका ती दुई ‘हेभीवेट’ चुनाव

इटहरी । २०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि नेपाली चुनावी भिडन्तमा हेभीवेट भिडन्तको नाममा केही मझौला नेताहरुमात्रै भिडेका छन् । शेखर कोइराला र विजयकुमार गच्छदार, सुजाता कोइराला र उपेन्द्र यादव अनि बाबुराम भट्टराई र विष्णु पौडेल हुँदै बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आदि यस्ता केही उदाहरण हुन् ।

२०१५ को पहिलो आम निर्वाचन र २०४८ को दोस्रो आम निर्वाचनलाई हेर्ने हो भने यस्ता हेभीवेट भिडन्तहरु उच्च तहमै भएको थियो । अहिले जस्तो समानुपातिक कोटाबाट लुसुक्क प्रतिनिधिसभामा छिर्ने चोर बाटो नभएको प्रत्यक्ष चुनावी जमानामा पछिल्लो आधा दशकमा जस्तो गठबन्धन आतंक थिएन । र, शीर्ष नेताहरु चुनावमा शीर्षस्तरमै भिड्न पछि पर्दैन थिए ।

जस्तै २०१५ फागुन ७ गते भएको प्रथम आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेपाल प्रजा परिषददेखि नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह आमनेसामने भएका थिए । उनीहरुले काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव भिडेका थिए ।

यस्तै दोस्रो हेभीवेट चुनाव नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र नेकपा (एमाले) का महासचिव मदन भण्डारीबीच २०४८ वैशाख २९ मा भएको थियो । उनीहरु पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै भिडेका थिए । यो सामग्रीमा ती दुवै हेभीवेट चुनावी भिडन्तको सामान्य चर्चा गरिएको छ ।

गणेशमानले पुष्पलाललाई हराएको २०१५ सालको हेभीवेट भिडन्त

२०१५ सालको चुनाव अगाडि गणेशमान काठमाडौंका मतदातामाझ व्यापक चिनिएका नेता थिए । १९९७ सालमा नेपाल प्रजा परिषदका सदस्य भएर राणाको जेल परेका आँटिला युवा भनेर चर्चामा आएका थिए । उनी २००१ मा जेल तोडेर भागेपछि झन् चर्चित भए । राजा त्रिभुवनलाई राणाबाट फुत्काएर काठमाडौंबाट पाल्पा पुर्‍याउने कांग्रेसको मिसन पूरा गर्न काठमाडौं आएर असफल भएपछि तराईको ठोरीमा पुग्दानपुग्दै पुनः पक्राउ परेपछि फेरि गणेशमान चर्चामा आए ।

२००७ सालको क्रान्ति सम्पन्न हुने चरणमा सबैभन्दा ढिलो फागुन २ गते जेलबाट रिहा हुने प्रजातन्त्र कैदीको रुपमा पनि उनी चर्चामै रहे । २००७ साल फागुन ७ को राणा-कांग्रेस-स्वतन्त्र सरकारदेखि २००८ मंसिर १ को मातृकाप्रसाद कोइराला सरकारको मन्त्री भएपछि उनी सत्तामा पटकपटक पुगे ।

गणेशमान र पुष्पलालको रोचक कुरा चैँ गणेशमानलाई राजनीतिक चेत भर्ने काम पुष्पलालका दाइ गंगालालले गरेका थिए । गंगालाल र गणेशमान जेलमेट थिए ।

यसरी सडकदेखि सत्तासम्म पुगेर चर्चित गणेशमान सिंहसँगै चुनाव लड्ने जोखिम मोलेका थिए पुप्पलाल श्रेष्ठले । २००६ वैशाख १० गते भारतकोे कलकत्तामा भूमिगत रुपमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका पुष्पलालले गणेशमान सिंह जस्तो आम नागरिकमा चर्चित हुने खासै धेरै मौका पाएनन् । सडकदेखि सत्तासम्म उनको देखिने शक्तिशाली प्रभाव थिएन । तर, चार सहिदमा एक गंगालालका भाइ भएकाले राजनीतिक र सचेत नागरिक वृत्त भने पुष्पलाल मज्जाले चिन्थ्यो ।

धेरैले चिनेको व्यक्तित्व भएका गणेशमान सिंहलाई टक्कर दिने उम्मेदवार पुष्पलाल नै थिए । पुष्पलाललाई नेपाली कांग्रेस सभापति बीपी कोइरालाले नै बलियो उम्मेदवार मानेका थिए । यसको खुलासा गणेशमान सिंह पत्नी मंगलादेवी सिंहको पुस्तक ‘नारी संघर्षका पाइलाहरु’मा उल्लेख गरिएको छ । गणेशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ र मंगलादेवीले क्षेत्र नम्बर ४ भक्तपुर उपत्यकाबाट उम्मेदवार बन्ने चर्चा हुँदा बीपीले मंगलादेवीलाई दाबी छाड्न आग्रह गरेका थिए ।

मंगलादेवी सिंहले पुस्तकमा त्यो प्रसंगबारे भनेकी छिन्, ‘बीपीले आएर सम्झाउन थाल्नुभयो, मंगलाजी तपाईंलाई नउठाउने हाम्रो इच्छा होइन, तपाईंजस्तो महिला नेतालाई उठाएर जिताउन सके पार्टीको गौरव बढ्ने निश्चित थियो । तर, गणेशमानजी उठ्न लाग्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी बलियो छ । तपाईंले हारेमा बरु केही नहोला । तर, गणेशमानजीले हार्नुभयो भने पार्टीको के हालत होला ? त्यसकारण गणेशमानजीको लागि पनि नउठिदिनुहोस् । ताकि शक्ति विभाजित भएर विपक्षीले जित्ने मौका नपाओस् ।’

बीपीले पुष्पलाललाई बलियो देखे पनि तीन घोगा मकै र हँसिया चुनाव चिन्हबाट उठेका पुष्पलाललाई रुख चुनाव चिन्हका गणेशमान सिंहले तीन हजार बढी मतान्तरले हराएका थिए । डा. बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’का अनुसार गणेशमान सिंहको मत १० हजार ९८६ आएको थियो भने पुष्पलालको मत ७ हजार ८४८ आएको थियो ।

गणेशमान र पुष्पलालको रोचक कुरा चैँ गणेशमानलाई राजनीतिक चेत भर्ने काम पुष्पलालका दाइ गंगालालले गरेका थिए । गंगालाल र गणेशमान जेलमेट थिए । उनै जेलमेट तथा आफ्ना राजनीतिक मेन्टरका भाइसँग चुनाव लडेर जीत निकालेका थिए गशेणमानले । सहिद हुनु अगाडि पनि गंगालाल र गणेशमानको भावुक भेट भएको थियो । त्यो बेला गणेशमानलाई गंगालालले भनेका थिए, ‘डन्ट फर्गेट माई ब्लड गणेशमान दाइ ।’ माथवरसिंह बस्नेतले संकलन गरेको गणेशमान सिंहको आत्मकथा ‘मेरो कथाका पानाहरु’ पुस्तकमा गणेशमान सिंहले यो प्रसंग ल्याएका छन् ।

मदन भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएको २०४८ सालको चुनाव

२०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट शक्तिको हैसियत चौथो थियो । कुल १०९ सीटमा दुईतिहाइ मत अर्थात् ७४ सीट ल्याएको नेपाली कांग्रेस, १९ सीट ल्याएको राष्ट्रिय गोरखा परिषद, पाँच सीट ल्याएको संयुक्त प्रजातान्त्रिक मोर्चापछि ४ सीट ल्याएको थियो कम्युनिष्ट पार्टीले । तर, २०४८ को दोस्रो आम निर्वाचनमा यो गणित एकाएक बदलिएर नेकपा (एमाले) कुल २०५ चुनाव क्षेत्रमा ६९ सीट ल्याएर प्रमुख प्रतिपक्षी दल बन्न सफल भएको थियो ।

बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराएको र देशभर राम्रो जनमत आएपछि मदनको अन्तर्वार्ता न्यूजविकमा समेत आएको थियो । सन् १९९१ मे २७ (२०४८ जेठ १३) मा उनको अन्तर्वार्ता प्रकाशन भएको थियो । जसको शीर्षक थियो, ‘इन नेपाल, कार्ल मार्क्स लिभ्स ।’

यसमा मदन भण्डारीको क्रेजले उत्तिकै काम गरेको थियो । उनै मदन भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा पराजित गरेका थिए । त्यो पनि गणेशमान सिंह र पुष्पलालले भिडेको झैं काठमाडौं क्षेत्र नम्बर १ कै चुनावमा । मदन भण्डारीले ७५१ मतान्तरले चुनाव जितेका थिए । भण्डारीको मत २७ हजार ३७२ आउँदा भट्टराईको मत २६ हजार ६२१ आएको थियो ।

अझ रोचक कुरा दोस्रो आम निर्वाचनमा पराजित भट्टराई २०१५ को पहिलो आम निर्वाचनमा समेत पराजित भएका थिए । उनले क्षेत्र नम्बर १०४ को गोरखा क्षेत्रबाट पहिलो आम निर्वाचनमा राष्ट्रिय गोरखा परिषदका नेता विश्वनाथ सुवेदीसँग ३२५ मतान्तरले चुनाव हारेका थिए । सुवेदीको मत ३ हजार १३३ आउँदा भट्टराईले २ हजार ८०८ मत ल्याएका थिए ।

बाहुनले रक्सी खाएको भन्दै आफूलाई मतदाताले मत नदिएर हारेको भट्टराईले आत्मकथा ‘मेरो म’मा खुलाएका छन् । उनले रक्सीबारेमा लेखेका छन्, ‘२०१५ सालको प्रथम निर्वाचनमा मैले चुनाव हार्ने कारण पहाडमा हिँड्दा दुई–तीन जना भरियाहरुले प्लास्टिकको टुम्लेटहरुमा भरिभराउ रक्सी झुन्ड्याएर हिँड्नु पनि एक भएको थियो ।’

मदन भण्डारीले चुनाव जिते पनि उनी सहज जीत हुने कुरामा भने ढुक्क थिएनन् । त्यही भएर उनले क्षेत्र नम्बर ५ काठमाडौंमा पनि उम्मेदवारी दिएका थिए । एमालेले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएका मनमोहन अधिकारीको ठाउँका कांग्रेस उम्मेदवार फिर्ता गरेको अवस्थामा काठमाडाैं क्षेत्र नम्बर १ को उम्मेदवारी फिर्ताको सर्त राखेको थियो । सर्त पूरा भएन । चुनाव भयो । जहाँ भण्डारी भाग्यमानी देखिए । बहालवाला प्रधानमन्त्रीलाई हराएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा मदन चर्चामा आए ।

जस्तै सन् १९९१ मे १५ (२०४८ जेठ १) मा अमेरिकी अखबार लस एन्जलस टाइम्सले मदन भण्डारीसँगै एमालेको समग्र काठमाडौंको सकारात्मक चुनावी नतिजा आएपछि लेखेको थियो, ‘काठमाण्डु गोज्स् मार्क्सिस्ट ।’ बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराएको र देशभर राम्रो जनमत आएपछि मदनको अन्तर्वार्ता न्यूजविकमा समेत आएको थियो । सन् १९९१ मे २७ (२०४८ जेठ १३) मा उनको अन्तर्वार्ता प्रकाशन भएको थियो । जसको शीर्षक थियो, ‘इन नेपाल, कार्ल मार्क्स लिभ्स ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर