नागरिकता विधेयक समितिमा छलफल गर्नुपर्ने एमालेको अडान
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक छलफलका लागि विषयगत समितिमा पठाउनुपर्ने अडान राखेको छ ।
केहीबेरअघिको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेका प्रतिनिधिले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विषयलाई राजनीति गर्न नहुने बताएका छन् । बैठकमा प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरू कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङ सहभागी थिए ।
बैठकमा प्रमुख सचेतक भट्टराईले राष्ट्रपतिले त्रुटि सच्याउन दिएको अवसरलाई गम्भीर समीक्षा गर्दै कम्तीमा छलफल गरेर पठाउनुपर्ने बताए ।
यसअघि सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले नागरिकता विधेयक जस्ताको तस्तै पुन: पारित गर्ने निर्णय गरेको थियो । आज बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गर्दैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सुझावसहित उक्त विधेयक फिर्ता गरेकी थिइन् ।