निजामती ऐन तत्काल ल्याउन माग गर्दै कर्मचारीद्वारा आन्दोलन घोषणा (भिडिओ) – Nepal Press

निजामती ऐन तत्काल ल्याउन माग गर्दै कर्मचारीद्वारा आन्दोलन घोषणा (भिडिओ)

काठमाडौं । संयुक्त ट्रेड यूनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले प्रथम चरणको आन्दोलनले गरेको माग सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जानकारी दिइएको हो ।

दोस्रो चरणका आन्दोलनका माग सुनुवाई नभएमा आन्दोलनलाई थप शसक्त रुपमा अगाडि बढाउन बाध्य हुनेपनि सञ्जालले चेतावनी दिएको छ ।

र, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने समेत उसको भनाई छ । सञ्जालले पहिलो चरणको कार्यक्रम २०७९ भदौ २ गते सम्पन्न गरेको थियो । आगामी भदौ ५ गतेदेखि १७ गतेसम्म अर्को चरणको विरोधका कार्यक्रम सन्जालले सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरेले विगत ५ वर्षदेखि संघीय निजामति सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेको बताए । उनले आफूहरुले आम राष्ट्रसेवक कर्मचारीहरुले अघि सारेका मुद्दाहरुसहित संघीय निजामति सेवा ऐन जारी गर्न दबाब सृजना गराउन खोजेको स्पष्ट पारे ।

त्यस्तै नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने धारणा राखे । आन्दोलनको पहिलो दिन भदौ ५ गते बिहान ९ बजेदेखि साढे १० बजेसम्म सिंहदरबारमा पर्चा वितरण गर्ने, भदौ ६ गतेदेखि १७ गतेसम्म सबै कार्यालयहरुमा कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी कामकाज गर्ने, ९ गते प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सञ्जालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर