पश्चिम नवलपरासी: हृदयेशलाई विरासत जोगाउने चुनौती, होला त विनोद चौधरीको ‘इन्ट्री’ ? – Nepal Press

पश्चिम नवलपरासी: हृदयेशलाई विरासत जोगाउने चुनौती, होला त विनोद चौधरीको ‘इन्ट्री’ ?

रुपन्देही । पछिल्लो समय नेपाली कांग्रेसको राजनीति र सरकारको बजेटमै हस्तक्षेपकारी भूमिका खेलेको आरोप खेपेका उद्योगपति विनोद चौधरीले आगामी निर्वाचनमा पश्चिम नवलपरासीबाट चुनावी लडाइँमा ‘इन्ट्री’ गर्ने चर्चा चलेको छ ।

यस क्षेत्रबाट केन्द्रीय राजनीतिमा पुगेका कांग्रेस नेता देवेन्द्रराज कँडेल, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसहितका नेताहरु आफ्नो क्षेत्र सुरक्षित बनाउन लागेका वेला उद्योगपति चौधरीको इन्ट्री चर्चाले थप तरंगित बनाएको छ । तर, कांग्रेसका स्थानीय नेताहरु यो विषय पार्टीबाट औपचारिक कुरा नआएको बताउँछन् ।

प्रतिनिधिसभामा २ र प्रदेशसभाका ४ सीट रहेको जिल्लामा सत्तारुढ पाँच दलको गठबन्धन, एमालेको तयारी, पटक-पटक चुनाव जित्दै आएका नेता हृदयेश त्रिपाठीको रणनीति, तराई केन्द्रित दलको समर्थनले यहाँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । त्यसमाथि उद्योगपति चौधरीको प्रवेश हुने हल्लाले यहाँको चुनावी राजनीति बढी पेचिलो बनेको छ ।

गएको स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धनले एमालेविरुद्ध अपेक्षित परिणाम निकाल्न सकेन । त्यसैले आउने चुनावमा पनि गठबन्धन बलियो नहुने आकलन गरिएको छ । मतका हिसाबले बलियोे कांग्रेस आन्तरिक गुटबन्दीको शिकार बन्दै आएको छ । गठबन्धनका कारण अझै विवाद बढ्नसक्ने आकलन स्थानीय नेताको छ ।

उद्योगपति चौधरी आउने सम्भावनासँगै सत्ता गठबन्धनभित्रका आकांक्षीहरु झस्किएका छन् । अर्बपति चौधरीको क्षेत्र नम्बर १ मा ‘इन्ट्री’ हुने हल्लाले गठबन्धन दलका आकांक्षीहरु भाग खोसिने त्रासमा छन् । यो क्षेत्रबाट २०७४ सालमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी नेकपा एमालेको सहयोगमा सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।

निर्वाचनअघिसम्म राजपामा सक्रिय त्रिपाठी निर्वाचनको मुखमा उक्त पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसका नेता देवकरणप्रसाद कलवारलाई ५ हजार १ मतान्तरले पराजित गरेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त्रिपाठी कांग्रेसका नेता देवकरणसँगै पराजित भएका थिए । त्रिपाठी २०४८, २०५१, २०५६, २०६४ र २०७४ साल गरी ५ पटक नवलपरासीबाट निर्वाचित भएका छन् । अहिले त्रिपाठी एमालेको साथ लिएर र सत्ता गठबन्धनबाट कांग्रेसका देवकरण वा चौधरीमध्ये एक उम्मेदवार हुने चर्चा छ ।

एमालेका नेताहरुले त्रिपाठीको पक्षबाट प्रदेशसभामा निर्वाचित अजय शाहीले पार्टीलाई धोका दिएको र उनी आफैंले साथ नदिएकाले यसपटक काँध थाप्न नसकिने दबाब दिन थालेका छन् । त्रिपाठीलाई एमालेले यसपटक साथ दिने विषय नटुंगिए पनि अध्यक्ष केपी ओलीसँगै तालमेल गर्न त्रिपाठीले प्रयास गरिरहेका छन् । एमालेबाट जिल्ला अध्यक्ष रहेका प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरिता खनाल र सिन्धु जलेशा आकांक्षी छन् । त्यसैले त्रिपाठीलाई समर्थन दिन एमालेलाई चुनौती छ ।

कांग्रेसको एउटा समूह आगामी निर्वाचनमा देवकरणलाई समानुपातिकमा पठाएर विनोद चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउनसपर्ने पक्षमा छ । उक्त समूह जिल्लाको विकास गर्नुपर्ने योजनाका साथ चौधरीलाई ल्याउने तयारीमा लागेको छ । तर, अर्को समूह जिल्लामै लामो समय काम गरेका नेतालाई नै प्राथमिकता दिनुपर्ने अडानमा छ ।

जनता प्रगतिशील पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डे १ नम्बर क्षेत्रमा आफ्नो पार्टीको संगठन बलियो र त्रिपाठीको प्रभाव क्षेत्र भएकाले त्रिपाठी नै उम्मेदवार हुने दाबी गर्छन् । उनले सकेसम्म एमालेसँग नभए सत्ता गठबन्धनसँग सहकार्य हुने बताए ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभामा एमालेका दीपेन्द्र अधिकारीले २० हजार ५०६ र सूर्य चिन्ह लिएका स्वतन्त्र उम्मेदवार अजय शाहीले १९ हजार ३३३ मत पाएका थिए । अधिकारीका निकटतम प्रतिस्पर्धी कांग्रेसका विक्रम खनालले १८ हजार ५०२ र शाहीका निकटतम प्रतिस्पर्धी कांग्रेसकै मुकुलकुमार आचार्यले १२ हजार ६०३ मत पाएका थिए । शाही अहिले ५ दलीय गठबन्धनमा रहेर लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभामा एमालेको तर्फबाट सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे, रामु अर्याल, दीपकराज शर्मा, राधिका शर्मा र पुण्य पौडेल आकांक्षी छन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका विक्रम खनाल र मुकुलकुमार आचार्यले पुनः दोहोरिने मनसाय राखेका छन् ।

२ नम्बरमा दोहोरिएलान् त कँडेल ?

नवलपरासीबाट केन्द्रमा प्रभाव जमाएका कांग्रेस नेता देवेन्द्रराज कँडेलको क्षेत्र हो २ नम्बर । पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री कँडेल पुनः उम्मेदवार हुने तयारीमा छन् । यसअघि यहीबाट निर्वाचित र पार्टी संस्थापन लाइनमा रहेकाले उनले टिकट पाउने सम्भावना बलियो छ ।

कँडेलले माओवादीका घनश्याम यादवलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । कँडेलले ३४ हजार १३० मत ल्याउँदा यादवले २३ हजार ८९८ मत मात्र पाएका थिए ।

यादव अहिले माओवादीबाट टिकटका दाबेदार भए पनि गठबन्धन गर्दा कसको पल्ला भारी हुने निश्चित छैन । माओवादीले जिल्लामा दुईमध्ये १ सीट दावी गरेकाले कँडेललाई आफ्नो क्षेत्र जोगाउन चुनौती छ ।

माओवादी केन्द्रका कार्यकर्ताहरु एउटा निर्वाचन क्षेत्र कांग्रेसले पाउँदा अर्को कुनै हालतमा छोड्न नसकिने बरु नवलपरासीमा अलग-अलग उम्मेदवार बन्ने वा विकल्प खोज्नेमा छलफल चलाउन थालेका छन् ।

एमालेले यो क्षेत्रबाट बैजनाथ चौधरीलाई अगाडि सार्ने तयारी गरेको छ । चौधरी एमाले लुम्बिनी प्रदेशका सहइन्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् । क्षेत्र नम्बर २ (क) मा एमाले माओवादी गठबन्धनका चौधरी र २ (ख) मा कांग्रेसका बैजनाथ कलवारले जितेका थिए ।

बैजनाथ चौधरी २० हजार ९०७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका गुणनिधि तिवारीले १७ हजार ११६ मत पाएका थिए । क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका बैजनाथ कलवार १४ हजार ५१५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजपाका नगेन्द्र अग्रहरिले १० हजार ४३६ मत पाएका थिए ।

प्रदेशसभाका आकांक्षीहरु धेरै भए पनि मुख खोल्न सकेका छैनन् । यसअघि अन्तर्घातका कारण पराजय व्यहोरेका कांग्रेसका तिवारी र कलवार फेरि पनि प्रदेशसभामा उम्मेदवार हुने तयारीमा छन् ।

एमालेबाट चौधरी प्रतिनिधिसभामा एकल आकांक्षी जस्तै देखिएका छन् । प्रदेशसभातर्फ २ (क) मा केशव भण्डारी, थानप्रसाद गैरे, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, दधिराम अर्याल र उपसचिव राजन आचार्य आकांक्षी छन् । त्यसैगरी २ (ख) मा लक्ष्मी क्षेत्री, श्यामकुमार बस्याल र वीरेन्द्र यादव आकांक्षी छन् ।

स्थानीय निर्वाचनमा अन्तर्घात पीडित गठबन्धन

गत स्थानीय निर्वाचनमा जिल्लाका ७ तहमध्ये कांग्रेस र एमालेले ३-३ र माओवादी केन्द्रले एकवटामा जीत निकालेका छन् । जिल्लामा मधेसवादी दलहरूको प्रभाव पनि छ । यहाँ राप्रपाको पनि जनमत राम्रै देखिएको छ ।

एमाले जिल्ला उपसचिव राजन आचार्य आउँदो निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउने निश्चित रहेको दावी गर्छन् । यहाँ राप्रपाको मत दुवै क्षेत्रमा निर्णायक देखिन्छ ।

वडागत मतभारमा कांग्रेस बलियो

पश्चिम नवलपरासी क्षेत्र नं १ को स्थानीय तह निर्वाचनको वडागत मतभारमा कांग्रेस ३० हजार ३४२, एमाले २६ हजार ७७९, राप्रपा ६ हजार ६८७, माओवादी ५ हजार ३४७, जसपा ३ हजार ५५९, नेकपा एस १ हजार १४१ र लोसपा १०० मत रहेको छ ।

त्यसैगरी क्षेत्र नं २ मा कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपा ४ हजार ५८० र एसको ८८५ मत रहेको छ ।


प्रतिक्रिया

One thought on “पश्चिम नवलपरासी: हृदयेशलाई विरासत जोगाउने चुनौती, होला त विनोद चौधरीको ‘इन्ट्री’ ?

  1. अध्ययन विना लेखनको हतारो । विनोद चौधरीको उमेदवारी चर्चा पश्चिम नवलरासी होइन वरू पूर्व नपलपरासीको पश्चिम अर्थात 2 नं क्षेत्र हो जहा हाल एमालेका तीलक महत सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर