माओवादीमा २१ पदाधिकारी प्रस्ताव, महासचिवमा आधा दर्जन नेताको दाबी – Nepal Press

माओवादीमा २१ पदाधिकारी प्रस्ताव, महासचिवमा आधा दर्जन नेताको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन पेचिलो बन्दै गएका वेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ पद प्रस्ताव गरेका छन् । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो ।

शुक्रबारको बैठकले पदाधिकारी चयन गर्ने भने पनि महासचिवमै सात नेताले दाबी गरेका कारण टुंगो नलागेको बताइएको छ । माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एकएक जना हुनेछन् । उपमहासचिव ७ र सचिव ९ जना रहने प्रस्ताव आएको ती नेताले बताए ।

अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् ।
अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ ।

कतिपय नेताले उपमहासचिवको संख्या घटाएर उपाध्यक्षको संख्या थप्न सुझावसमेत दिएका छन् । सिनियर नेताहरुको व्यवस्थापन गर्न उपाध्यक्ष पदको संख्या बढाउन सुझाव आएको एक स्थायी कमिटी सदस्यले बताए ।

माओवादीको महासचिवमा देव गुरुङको सम्भावना बढेको छ । यद्यपि हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले पनि महासचिवमा दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर