बटौलीमा ६७ वर्षदेखि निरन्तर जात्रा प्रदर्शन
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित राधाकृष्ण अमर कीर्तन मन्दिरमा ६७ वर्षदेखि निरन्तर प्रदर्शन गरिँदै आएको श्रीकृष्ण जात्रालाई यो वर्ष थप वृहत् बनाउन खोजिएको छ । कोरोना महामारीका कारण विगत २ वर्ष यहाँ ठूलो उत्सव नमनाइएकाले यस पटक भव्य रूपमा मनाउने तयारी गरिएको हो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी ३ दिनसम्म श्रीकृष्ण जन्माष्टमी उत्सव सुरु भएको छ । वि.सं २०१२ सालमा स्थापना भई निरन्तर श्रीकृष्ण जात्रा प्रदर्शन गरिँदै आएको सो मन्दिरमा यसवर्ष श्रीकृष्णको जन्म, विभिन्न धार्मिक नृत्यहरू, प्राचीन झाँकीहरू र रथयात्रा समारोहको तयारी गरिएको छ ।
‘पहिले पुरानो बुटवलमा गरिन्थ्यो, जनसहभागिता बढ्दै गएपछि त्यहाँ ठाउँ साँघुरो भयो र ०५३ देखि अहिलेको ठाउँमा सारिएको हो, हजुरबुवा, बुबा हुँदै मेरो पालोसम्म निरन्तर चलाएका छौँ’, कलाकार मुरली कसौधनले भने ।
मन्दिर व्यवस्थापन समितिका अनुसार भगवान् श्रीकृष्णको जन्मदिनमा विशेष पूजाआजा गरिनुका साथै हरेक वर्ष विभिन्न झाँकी र रथयात्रासहितका कार्यक्रमहरूको आयोजना गर्दै आएको मन्दिर समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए ।
सधैँजस्तो यस वर्ष पनि हजारौँ दशनार्थीहरुले कृष्ण मन्दिरमा अवलोकन गर्ने बताउँदै परापूर्व कालदेखि नै यस मन्दिरको विशेष महत्त्व रहेको उनको भनाइ छ ।
व्यवस्थापन समितिका सल्लाहकार जीवनप्रसाद ओझाले पुरानो खस्यौली बजारमा रहेको कृष्ण मन्दिरलाई व्यवस्थित गर्दै २०१२ सालमा बुटवल ५ नेपालगञ्जरोडमा मन्दिर बनाएर पूजा सुरु गरिएको थियो ।
तत्कालीन समयका पुजारीसमेत रहेका हरेराम बाजेले स्थापना गरेको सो मन्दिरमा पछि राजा महेन्द्रले मूर्ति स्थापना गर्न भनि सुझाव दिएपछि मन्दिरमा मुक्ति स्थापना गरिएको पण्डित कपिल अधिकारीको भनाइ छ ।
उता श्रीकृष्ण जन्माष्टमी पर्वका लागि विभिन्न झाँकी र रथयात्राको व्यवस्थापन गर्दै आएका कलाकार मुरलीप्रसाद कसौधनले श्रीकृष्ण जन्माष्टमी उत्सव, झाँकी र रथयात्राको सम्पूर्ण तयारी पूरा भएको बताए ।
कार्यक्रममा १६ वटा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने र भोलिपल्ट नगर परिक्रमा गराई विधिवत विसर्जन गरिने कसौधनले जानकारी दिए ।
हरेक वर्ष गरिँदै आएको श्रीकृष्ण जात्रा तथा जन्माष्टमी उत्सवलाई कोरोना कहरका कारण गत २ वर्ष रोकिएको थियो तर यस वर्ष भव्यरुपमा मनाउने तयारी रहेको पनि मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वमा हरेक वर्ष झन्डै ५ लाख खर्च हुने र त्यसका लागि समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र अन्य शुभचिन्तकहरूबाट संकलन गरिएको रकमबाट अक्षयकोष स्थापना गरिएको समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।