‘सास रहुञ्जेल चेस छोड्न सक्दिनँ’ (भिडिओ)
काठमाडौं । नेपालमा कमै मानिसहरू होलान्, जो चेस खेल्दैनन् । टाइम पासका लागि घर–घरमा खेलिने खेल हो यो । तर, चेस खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भाग लिन थालेको भने धेरै भएको छैन ।
बाघचाल–बुद्धिचाल संघलाई वि.सं २०४८ सालमा बुद्धिचाल संघ नामाकरण गरिएको थियो जसको अध्यक्ष थिए नारायणकृष्ण जोशी । सन् २००४ मा स्पेनको कालभियामा भएको ३६ औं चेस ओलम्पियाड खेल्दै नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा इन्ट्री गर्यो । उक्त प्रतियोगितामा नेपालको पुरुष टिमले मात्रै भाग लिएको थियो । महिला टिमले भने सन् २०१४ देखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न थालको हो ।
नेपालको चेसलाई नजिकबाट नियालिरहेकाहरुले चिन्ने एउटा नाम हो मोनालिसा खम्बु । उनी नेपालको चेस इतिहासमा सर्वाधिक सफल महिला खेलाडी हुन् । नेपालको पहिलो राष्ट्रिय महिला चेस च्याम्पियन साथै अन्तर्राष्ट्रिय चेसमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडी पनि हुन्, मोनालिसा । हालै सम्पन्न चेस संघको साधारण सभाबाट उनी सचिव पदमा निर्वाचित भएकी छिन् । सफल खेल जीवनदेखि संघको प्रतिनिधिका साथै नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय चेस आर्विटर अर्थात जज सम्मको भूमिका उनले निर्वाह गरिसकेकी छन् ।
स्कुलका ती दिन
खोटाङको रतन्छा सकेला गाउँपालिकामा एउटा शिक्षित परिवारमा जन्म लिएकी मोनालिसाले आफ्नो बाल्यकाल खोटाङमै बिताइन् । कक्षा आठमा पढ्दै गर्दा उनी राम्रो पठनपाठनका लागि भनेर राजधानी आएकी थिइन् । पहिलो पटक गाउँबाट आएको मान्छेलाई काठमाडौंमा त्यति सहज हुँदैन । स्कुल बिदा भएको बेला समय बिताउन गाह्रो भइरहँदा पहिलो पटक ठूलोममीको छोरीले चेस बोर्ड किनेर ल्याइदिएको उनी सम्झिन्छिन् ।
आठ कक्षा पढ्दासम्म मोनालिसालाई चेसको गोटी कसरी चाल्ने थाहा थिएन । त्यस बेला दिदीले टाइम पासका लागि थमाइदिएको छिट्टै उनको दिनचर्या बन्न पुग्यो । यसमै उनले आफ्नो करिअर बनाइन् ।
सुरुमा उनलाई चेस खेल्न भाइले सिकाइदिएका थिए । बिस्तारै मोनालिसाको चेसप्रति लगाव बढ्दै गयो । उनी झोलामा चेस बोर्ड बोकेरै स्कुल जान थालिन् । कतै कसैलाई फुर्सदिलो देख्यो कि निकालेर ‘खेलौँ न’ भनेर तेर्स्याइहाल्थिन् । ती दिनहरू अहिले मानसपटलमा घुम्दा उनको अनुहारमा अहिले पनि रोमाञ्च भरिन्छ ।
‘मलाई चेसको लत नै लाग्यो । दिनभरि भाइसित खेलेर बस्थेँ । जति बेला पनि खेलौँ खेलौँ हुन्थ्यो,’ उनले सुनाइन् ।
मोनालिसा सुरु–सुरुमा भाइसित सधैँ हार्ने गर्थिन् । बिस्तारै उनले चालहरू बुझ्न थालिन् । कसरी जित्ने भन्ने आइडिया हुँदै गयो । कक्षा नौमा पढ्दा विद्यालयमा आयोजना भएको चेस प्रतियोगितामा उनी प्रथम नै भइन् । त्यही प्रतियोगिताले उनलाई विद्यालय स्तरीय प्रतियोगिताहरूको बाटो खोलिदियो ।
कक्षा १० मा पढ्दा उनले पहिलो स्कुल स्तरीय प्रतियोगिता खेल्ने मौका पाइन् । अन्नपूर्ण स्कुलले हरेक वर्ष आयोजना गर्ने अन्तर विद्यालय चेस प्रतियोगितामा उनी आफ्नै स्कुलकी खेलाडीलाई पराजित गर्दै प्रथम भइन् । त्यसपछि उनको जीवनमा प्रथम हुने लहर चल्न थाल्यो ।
सुरुवाती दिनमा महेन्द्र ढकाल उनका प्रशिक्षक थिए । उनको अहिलेसम्मको सफलताको केही श्रेय ढकाललाई पनि जाने मोनालिसा बताउँछिन् ।
उनी उमेर समूहका प्रतियोगिताहरूमा पनि प्रथम हुन थालिन् । एसियन गेम्सको इतिहासमा पहिलो पटक सन् २००६ मा चेसलाई समावेश गरिएको थियो । त्यसको लागि भएको छनोट खेलमा प्रथम हुँदै मोनालिसाले एसियन गेम्स खेल्ने मौका पाइन् । यत्तिका सफलता पाइसक्दा पनि उनले चेस नै मेरो करियर हो भनेर कहिले सोचिनन् ।
उनी भन्छिन्, ‘म चेसमा लागेको १८/२० वर्ष भयो । अझै पनि मेरो पुरा करिअर चेस हो । तर चेस नै खेलेर बाँच्छु भन्नेमा अझै ढुक्क छैन । मभन्दा राम्रो अर्को नआएर मात्रै म चेसमा टिकिरहेको जस्तो लाग्छ ।’
तर एसियन गेम्समा छनोट भएपछि र खेलेर नेपाल फर्किएपछि पाएको सम्मान र हौसलाले उनलाई चेसमा लागिरहन प्रेरणा भने पक्कै दिएको छ ।
२००६ को डिसेम्बरमा दोहामा एसियन गेम्स आयोजना भएको थियो । उक्त प्रतियोगितामा मोनालिसा चेस खेल्न नेपालबाट छनोट भएकी थिइन् । त्यही उनको पहिलो अन्तर्राष्ट्रिय अनुभव हो ।
‘एसियन गेम्समा मोनालिसा छनोट भएको भनेपछि म पढ्ने स्कुलमा एक किसिमको हर्षोल्लास नै भयो । मेरो उपलब्धि सेलिब्रेट गर्नका लागि एक दिन स्कुल नै छुट्टी दिइएको थियो,’ मोनालिसा सम्झिन्छिन् ।
एसियन गेम्सबाट फकिँदा स्कुलका साथीहरू तीन वटा गाडी रिजर्भ गरेर उनलाई स्वागत गर्न एयरपोर्टमा आएका थिए । त्यस बेलाका फोटो हेर्दा अहिले पनि मक्ख पर्छिन् उनी ।
‘म खादा र मालाले पुरिएकी थिएँ । त्यस बेलाको अनुभूति शब्दमा बयानै गर्न सक्दिनँ । अबका दिनमा मैले त्यस्तो सम्मान सायदै पाउँछु होला,’ मोनालिसा भन्छिन् ।
त्यही स्वागत र सम्मानले आफूलाई जस्तोसुकै प्रतिकुलतामा पनि चेस नछोड्न प्रेरणा दिने उनको भनाइ छ ।
महिला खेलाडीमाथिको दुर्व्यवहार
जुनसुकै खेल किन नहोस्, महिला खेलाडीले भोग्नुपर्ने समस्या प्रायः उस्तै हुने गर्छन् । मोनालिसाले पनि ती दिनहरूमा धेरै खाले समस्या भोगिन् । तत्कालीन महिला खेलाडी तथा संघका महिला प्रतिनिधिहरूले समस्या बुझिदिएको भए चेस करियरमा धेरै अगाडी बढ्ने रहेछु भन्ने उनलाई अहिले लाग्छ । महिलामाथिको दुर्व्यवहार कम गर्न ‘गुड टच’ र ‘ब्याड टच’का बारेमा सचेतना तालिम दिनु अत्यन्तै जरुरी रहेको उनी बताउँछिन् ।
‘केटीले भोग्ने समस्याहरू प्रायः केटा मान्छेलाई महसुस हुँदैन रहेछ । गुड टच, ब्याड टचको बारेमा ज्ञान नभएर पनि महिला खेलाडीहरुले धेरै दुख पाएका छन्,’ उनले भनिन् ।
यस्तो कुरा निरन्तर खेलकुदमा लागिरहने ले महिला खेलाडीलाई कसरी मोटिभेट गर्ने कसरी आफ्नो खेलालाई निरन्तरता दिने अझ धेरै राम्रो प्रदर्शन गर्न सक्न कसरी बनाउने भनेर सोचिरहँदा यस्ता कुराहरूमा ध्यान दिन जरुरी छ,’ उनले भनिन् ।
महिला दुर्व्यवहारका समस्या न्यूनीकरण गर्न खेलकुदको सर्वोच्च निकायहरूले पनि छुट्टै निर्देशिका बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘जेन्डर’ विषयमा मास्टर्स गरिरहेको भएर पनि उनी यस्ता कुराहरूमा अत्यन्त संवेदनशील हुन थालेकी छन् ।
‘सास रहुञ्जेल चेस छाड्दिनँ’
चेसलाई बुद्धिको खेल भन्ने गरिन्छ । त्यसैले पनि यसले मान्छेको बौद्धिक शक्ति बढाउने तथा धैर्यता सिकाउने विश्वास लिइन्छ । विभिन्न अध्ययनहरूले चेस खेल्ने मान्छेहरूलाई अल्जाइमर, डिमेन्सिया जस्ता रोग लाग्ने सम्भावना कम हुने साथै बच्चाहरूको गणित राम्रो हुने देखाएको मोनालिसा बताउँछिन् ।
मोनालिसाले कहिले पनि यो जीवन सोचेकै थिइनन् । अहिले उनी जुन ठाउँमा छिन्, त्यसका लागि चेसप्रति सधैँ आभारी छिन् ।
‘अहिले म जुन ठाउँमा उभिएको छु, जस्तो किसिमले मलाई मान्छेहरूले चिन्नु हुन्छ, र सम्मान दिनुहुन्छ, यो जीवन मैले कहिले सोचको थिइन । त्यसैले म चेसलाई पूजा नै गर्छु । चेसबाट टाढा हुन्छु भनेर चाहिँ कहिले पनि लागेन । जुनसुकै विकल्प आए पनि म सधैँ चेसलाई नै छनोट गर्छु,’ उनले भनिन् ।
चेसमा कहिले आफ्नो करियर नदेखे पनि मोनालिसाका लागि चेस सास जस्तै हो । उनलाई चेसका लागि धेरै थोक गर्नु छ उनले । नेपालमा चेसलाई धेरैमाथि पुर्याउने सोचेकी छिन् । चेसमा महिलाहरूको सहभागिता बढाउनेदेखि लिएर आफूजस्तै जज र नेतृत्वमा पनि सबल महिला ल्याउने उनको योजना छ ।
‘चेस भनेको मेरो सास जस्तै हो । म सास नजाउन्जेलसम्म चेस छोड्न सक्दिन,’ उनी भन्छिन्, ‘भविष्यमा पनि कुनै न कुनै रूपमा चेसमा लागिरहन्छु ।’
बेथिति चिर्न संघमा
कुनै पनि खेलको ज्ञान तथा अनुभव भएको व्यक्ति संघमा आयो भने आगामी पुस्ताले दुख भोग्नुपर्दैन विश्वास गरिन्छ । मोनालिसाको पनि संघसम्म पुग्नुको त्यत्ति एउटा उद्देश्य छ । आगामी पुस्ताले आफूले खेल खेल्दा भोगेको दुख भोग्नु नपरोस् भन्ने उनी चाहन्छिन् । संघमा रहेका बेथितीलाई चिर्नु र चेसमा लाग्ने खेलाडीको हकका लागि लड्नु उनको एक मात्र उद्देश्य हो ।
‘मभन्दा अगाडी पनि महिला प्रतिनिधिहरु आउनुभयो, तर सबै जना कोटा पुरा गर्न मात्रै संघमा आएजस्तो भयो । म आएपछि आफ्नो कुराहरू पनि राख्छु । एजेन्डाहरु सुनाउँछु,’ उनी भन्छिन् ।
मोनालिसाले नेपाल च्याम्पियन बनेको बेलादेखि नै संघमा प्रवेश पाएकी हुन् । व्यक्तिगत इच्छाले भन्दा समयको मागका कारण आफूले खेलाडीबाट संघको प्रतिनिधिमा भूमिका परिवर्तन गर्नुपरेको उनको भनाइ छ ।
खेलाडीलाई पदाधिकारीमा रूपान्तरण हुनु पक्कै सजिलो हुँदैन । मोनालिसा अझै पनि चेस खेल्न मन पराउँछिन् । तर चेस खेल्नुभन्दा पनि खेल्न आएकाहरूलाई वातावरण सहज बनाइदिनु उनको अहिलेको प्राथमिकता हो । आगामी पुस्ताको भविष्य चेसमा सुनिश्चित गराउन उनले आफ्नो भूमिका परिवर्तन गरेर खेलाडीबाट संघको प्रतिनिधि बनेकी छन् ।
‘मलाई अझै खेल्न मन लाग्छ । तर म एक्लै खेलिरहेँ भने व्यक्तिगत फाइदा होला, तर संघमा आएँ भने मजस्ता धेरै मान्छेलाई खेल्ने वातावरण सृजना गरिदिन सक्छु भन्ने लागेर यो निर्णय लिएकी हुँ,’ उनले संघमा आउनुको कारण खोलिन् ।
४४औँ ओलम्पियाडमा जज अनुभव
खासमा उनी जजभन्दा पनि खेलाडी नै बन्न रुचाउँछिन् । जज बन्नु उनका निम्ति बाध्यताजस्तै हो । संघमा प्रवेश गरेपछि उनले खेल्न छाडिन् । भारतमा आर्विटर अर्थात् जज बनिरहँदा उनलाई साह्रै खेल्न मन लाग्यो ।
४४औँ चेस ओलम्पियाड रसियामा हुने भनिएको थियो । तर द्वन्द्वले गर्दा ५ महिना अगाडि नै भारतमा भएको हो । उनले जजका रूपमा आफ्नो भारत भ्रमणको अनुभूति यसरी सुनाइन्:
खेलाडी हुँदा मलाई चेस बोर्ड मात्रै मेरो दुनियाँ हो भन्ने लाग्थ्यो । कसरी खेल जित्ने भन्ने मात्रै ध्याउन्न हुन्थ्यो । तर अहिले जजको भूमिकामा उनले चेस बोर्ड भन्दा बाहिरको दुनियाँ नियाल्ने अवसर पाएकी छन् । जिम्मेवारी थपिएको महसुस भएको छ । विभिन्न राष्ट्रका व्यक्तिहरूसँग विचार आदानप्रदान गर्न पाएँ । समग्र चेस विकासमा हामीले के गर्न सक्छौँ भन्ने ज्ञान हासिल गरेँ । खेलाडीको मानसिक स्वास्थ्यलगायतका विषयमा अन्तर्राष्ट्रिय स्तरमा कुरा राख्ने मौका पाएँ । असाध्यै रमाइलो र निकै फलदायी भ्रमण भयो । त्यहाँ सिकेका कुराले मैले चेस क्षेत्रमा अझै राम्रो गर्न सक्छु भन्ने लागेको छ ।
चेस पछि पर्नुको कारण
अन्य खेलको तुलनामा चेस किन पछि पर्यो । मोनालिसाको विचारमा चेस इनडोर गेम भएकाले चर्चामा आउन नसकेको हो ।
‘नेपालमा त कुनै पनि खेल विकसित छैन,’ उनी भन्छिन्, ‘सात वर्ष संघमा बिताइरहँदा मलाई के महसुस भएको छ भने संघका मान्छेमा तानासाही प्रवृत्ति हाबी छ । सम्भावित र उपयुक्त मान्छे छान्नेभन्दा पनि को चाहिँ ऊसँग वफादार हो भनेर ‘यस म्यान’ लाई टिममा राख्दा चेस पछि परेको छ ।’
मोनालिसासँगै अहिले चेसको नेतृत्वमा आएका नवनिर्वाचित पदाधिकारीहरूको आगामी योजना भनेको चेसको ग्रास रुट विकास गर्ने हो । १० वर्षभन्दा मुनिका बालबालिकाहरूमा स्कुलमै गएर ‘चेस इन स्कुल’ भन्ने कार्यक्रम सुरुवात गर्ने उनीहरूको योजना छ ।
मोनालिसाले चेसमा भविष्य खोजेका खेलाडीहरूलाई निरन्तरता दिन आग्रह गरिन् । ‘जो पनि चेस खेलमा लाग्नु भएको छ, खेल्न नछाड्नुस् भन्न चाहन्छु । नेतृत्वमा राम्रो मान्छेहरू आएका छौँ । तपाईँहरूको समस्याको समाधानमा हामी लाग्नेछौँ । हाम्रो तहबाट हामी सहयोग गर्नेछौँ,’ उनले भनिन् ।