सामाजिक काम गर्न ‘जय नेपाल सेवा समिति’ बनाउन गगनको प्रस्ताव – Nepal Press

सामाजिक काम गर्न ‘जय नेपाल सेवा समिति’ बनाउन गगनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय नेपाली राजनीतिक दलहरू सामाजिक अभियानबाटविमूख हुँदै गएको बताएका छन् ।

आज कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू सामाजिक काम छाडेर नितान्त राजनीतिक मेसिनजस्तो मात्रै भएको बताएका हुन् ।

‘एक समय नेपाल विद्यार्थी संघ र कांग्रेसको सदस्य हुँदा गौरवको विषय थियो । त्यतिबेला वडाध्यक्ष बनौंला, सांसद बनौंला राज्यको माथिल्लो तहमा पुगौंला भन्ने थिएन,’ उनले भने,‘किनभने त्यतिबेला पार्टी भनेको ठूलो सामाजिक आन्दोलन थियो । पछिल्लो समय सामाजिक आन्दोलनको स्वरुपबाट विमुख भएको छ । सबै पार्टीहरूमा त्यो समस्या छ ।’

पार्टीहरूले सामाजिक काम छाडेपनि त्यसका कार्यकर्ता कसैले नछाडेको उनले बताए । त्यसमा कार्यकर्ता र नेताकै मनोवृत्तिमा आएको परिवर्तन नै मुख्य कारण रहेको बताउँदै उनले भने,‘जस्तो सामाजिक काम गर्नुपर्ने भयो भने हामी के भन्छौं भने यो त पार्टी हो यहाँ त राजनीतिक कुरा गर्ने हो संगठनको कुरा गर्ने हो ।’

यही मनोवृत्तिले सामाजिक काम गर्दा कुनै अरु सामाजिक संघसंस्था खोज्दै हिँड्ने प्रवृत्ति बढेको उनी बताउँछन् ।
‘यहाँबाट निस्किसकेपछि विभिन्न सामाजिक संस्था आवद्ध हुन्छौं । कोही, गुठी आवद्ध हुन्छौं, कोही परोपकारी संस्था, कोही जेसिज कोही लायन्स, रोटरी कोही क्लब या यस्तै सामाजिक संस्थामा गएर सामाजिक काम गर्छौं’, उनले भने,‘त्यहाँ गएर कोही रक्तदान गरौंला कोही स्वास्थ्यको शिबिर चलाउला, कोही विद्यार्थीलाई सहयोग गरौंला, कोही सरसफाई कोही वृक्षारोपण गर्छौं । तर पार्टीलाई चाँही संगठन गर्ने हो र विशुद्ध राजनीतिक मेसिन बनाएका छौं ।’

अब यसलाई बदल्नुपर्ने महामन्त्री थापाले बताए । त्यसका लागि आफूसँग एजेन्डा रहेको पनि उनले बताए । ‘अब हामीले प्रत्येक वडामा जय नेपाल सेवा समिति बनाउने । वडा कमिटिको मातहतमा रहने गरी सकेसम्म महिला साथिलाई लिड गर्ने,’ उनले भने ।

त्यसबाट सके साप्ताहिक नसके महिनामा एउटा सामाजिक काम गर्नुपर्ने उनको प्रस्ताव छ । उनले भने, ‘त्यसमा कांग्रेसको झण्डा राखेर, रुख चिन्ह राखेर र टोपी लगाएर सामाजिक काम गर्ने एउटा परिपाटी बसाल्नुपर्छ । त्यसले एउटा युवा कांग्रेसको कार्यक्रम किन आउने भन्दा सामाजिक काम गर्न ।’

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा परीक्षणका लागि यो अभियान सुरू गरिसकेको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर