कांग्रेसको निर्वाचन केन्द्रीत अभियान– ‘जनताको साथमा कांग्रेस’ घोषणा – Nepal Press

कांग्रेसको निर्वाचन केन्द्रीत अभियान– ‘जनताको साथमा कांग्रेस’ घोषणा

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्वाचन केन्द्रीत अभियानको नाम ‘जनताको साथमा कांग्रेस’ नाम दिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यसको जानकारी दिएका हुन् ।

‘स्थानीय तह निर्वाचनका बेला हामीले पहिलो चरणमा घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने नारा दिएका थियौं,’ उनले भने, ‘मंसिर ४ गते हुने निर्वाचनका लागि यसपटक जनताको साथमा कांग्रेस नारा दिइएको छ ।’

पहिलो चरणमा यो अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने उनले बताए ।

अभियान अन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय समितिबाट प्रतिनिधि खटाइने उनले बताए । ती प्रतिनिधिहरूलाई अभियानका बारेमा भोलि ‘अभिमुखिकरण तालिम’ दिइने पनि जानकारी दिए । ‘भोलि उहाँहरूलाई पार्टी कार्यालयमैं अभिमुखीकरण हुन्छ । पार्टी सभापति(शेरबहादुर देउवा)ले त्यो दिनुहुन्छ,’ उनले भने ।

यो अभियानका क्रममा केन्द्रीय प्रतिनिधि जिल्लामा पुगेर पहिले जिल्ला कार्यसमितिको बैठक राखेर अभियान थालनी गरिने प्रवक्ता महतले जनाए । उनले भने, ‘बैठकपछि उहाँहरू कम्तिमा पाँचदिन जिल्लामा बसेर अभियानका कार्यक्रममा सहभागि हुनेछन् ।’

अभियानमा केन्द्रीय प्रतिनिधिजस्तै प्रदेश समितिले पनि प्रतिनिधि पठाउन निर्देशन गरिएको छ । यसरी पठाइएका प्रदेश प्रतिनिधिले केन्द्रीय प्रतिनिधिसँग समन्वय गरेर काम गर्नुपर्ने प्रवक्ता महतले बताए ।

यसबाहेक जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश निर्वाचन क्षेत्र, पालिका समिति र वडा समितिले पनि मातहतका टोलस्तरसम्म अभियान सञ्चालन गर्ने उनले बताए ।

‘अभियानमा कांग्रेस जनतामाझ गएर जनताका कुरा सुन्ने, आफ्ना कुरा राख्ने, कांग्रेसको नेतृत्वमा केके काम भयो ? जसबाट केके उपलब्धी मुलूकले हासिल गर्यो ? भोली के गर्छौं भन्ने कुरा पनि राख्नेछौं,’ उनले भने ।

यो अभियान पहिलो चरणमा भदौ २४ गतेसम्म सञ्चालन हुने र समानुपातिक तर्फको उम्मेदवारी दर्तापछि दोस्रो चरणमा जाने उनले बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेसको निर्वाचन केन्द्रीत अभियान– ‘जनताको साथमा कांग्रेस’ घोषणा

  1. काँग्रेस जनताको साथमा हुनै सक्दैन। काँग्रेस लुटेराहरुको साथमा भनेर अभियान चलाए भनाइ र गराइ मिल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर