डोटी कांग्रेसका नेता भन्छन्- देशभरमै पहिलो भएका छौँ, गठबन्धनको भारी बोक्दैनौँ – Nepal Press

डोटी कांग्रेसका नेता भन्छन्- देशभरमै पहिलो भएका छौँ, गठबन्धनको भारी बोक्दैनौँ

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस देशको पहिलो दल बन्यो । पहिलो हुने क्रममा ७७ जिल्लामध्ये कांग्रेसका लागि सर्वोत्कृष्ट नतिजा डोटीले दिएको छ । कांग्रेसका प्रतिवेदनहरूमा पनि त्यसको स-गौरव वर्णन गरिएको छ ।

त्यसको जगमा डोटी कांग्रेसले लिएको ‘एक्लै लड्ने’ निर्णय थियो । त्यो निर्णय लिन पनि निकै दबाब परेको डोटी कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

अन्तिम समयमा नेकपा एकीकृत समाजवादीका तर्फबाट तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भागबन्डाका लागि चर्को दबाब बढाएका थिए ।

आफ्नो पार्टीका केन्द्रीय नेतामार्फत कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामार्फत दबाब सिर्जना गराएको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् । भागबन्डामा जिल्लाका ९ स्थानीय तहमा कांग्रेसलाई ४ तह, माओवादी केन्द्रलाई ३ र नेकपा एसलाई २ स्थानीय तहको नेतृत्व पाउने गरी दबाब सिर्जना गरिएको थियो ।

उपप्रमुख/उपाध्यक्षको बण्डा पनि सोहीअनुसार नै प्रस्तावित थियो भने, वडाध्यक्षको भागबन्डामा पनि ६५ वडामध्ये कांग्रेसलाई ३० वडा दिएर बाँकी ३५ माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाले पाउने गरी ड्राफ्ट तयार पारिएको थियो ।

अन्तिममा कार्यकर्ताबाट चरम दबाब आएपछि कांग्रेसका तर्फबाट त्यो ड्राफ्टमा दस्तखत भएन र कांग्रेस एक्लै चुनावमा होमियो । त्यसपछि माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र राप्रपाले जिल्लामा तालमेल गरे । प्रतिपक्षमा रहेको नेकपा एमाले पनि एक्लै प्रतिस्पर्धामा थियो ।

यसरी भएको निर्वाचनमा कांग्रेसले ७ स्थानीय तहमा मेयर÷उपमेयर र अध्यक्ष/उपाध्यक्षसहित जित निकाल्यो । एउटामा उपाध्यक्ष जित्यो, जहाँ अध्यक्ष माओवादी केन्द्रले जितेको छ । एक तहमा नेकपा एमालेले अध्यक्ष/उपाध्यक्ष दुवै जित्यो ।

वडागत नतिजामा ६५ मध्ये ३९ मा कांग्रेस जित्दा एमालेले १८, माओवादी केन्द्रले ५, नेकपा एसले १ र १ स्वतन्त्रले जितेका छन् । स्वतन्त्र जितेका पनि कांग्रेसकै बागी हुन ।

मतका हिसाबले कांग्रेसका प्रमुख÷अध्यक्ष पदका उम्मेदवारहरूले ३५ हजार ८०१ मत बटुल्दा बाँकी सबै दलका उम्मेदवारहरूले ३३ हजार ५७८ मत पाएका छन् ।

यस्तै एमालेका प्रमुख/अध्यक्षका उम्मेदवारहरूले २४ हजार ३५ मत बटुल्दा माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ११८, नेकपा एसका उम्मेदवारहरूले ३ हजार ३६२, राप्रपाका उम्मेदवारले १३६ र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले २७ मत बटुलेको देखिन्छ । जसअनुसार सबै दलभन्दा २ हजार २२३ मत कांग्रेस अगाडि छ ।

यस्तै वडाध्यक्षका उम्मेदवारको मतअनुसार कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९१६, माओवादी केन्द्रको ७ हजार ७८९, नेकपा एसको ३ हजार २०५ छ ।

यसरी तीन महिनाअगाडिको निर्वाचनमा देशभरकै कांग्रेसको नतिजामा पहिलो भएको डोटी कांग्रेस फेरी आफ्नो प्रतिष्ठा जोगाउने लडाइँमा होमिने संकेत गरेको छ । राजधानीमा आयोजित कांग्रेसको डोटी–काठमाडौं सम्पर्क समितिको एक कार्यक्रममा डोटी कांग्रेसका नेताहरूले यसको प्रष्ट सन्देश दिएका छन् ।

उनीहरूले यो सन्देश दिनुपर्ने अवस्था मंसिर ४ गते हुने निर्वाचनले ल्याइदिएको हो । जहाँ सत्तारूढ गठबन्धनबीच हुने भागबन्डामा डोटीको प्रतिनिधिसभा सिट गुम्न सक्ने ‘भय’ले गाँजेको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रेमबहादुर आले डोटीबाट निर्वाचित भएका थिए । उनले कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य वीरबहादुर बलायरसँग १ हजार ६३२ मतान्तरले जितेका थिए । आलेले ३२ हजार ५१० मत पाउँदा बलायरले ३० हजार ८७८ मत बटुलेका थिए ।

अहिले आले नेकपा एसमा छन् । दुईपल्ट मन्त्री पनि भइसकेका छन् । सत्तारूढ गठबन्धनमा बन्नसक्ने मापदण्डमा उनलाई डोटीको प्रतिनिधिसभाको सिट दिन सक्ने भय डोटी कांग्रेसलाई छ । यसबाहेक माओवादी केन्द्रले मुख्यमन्त्री त्रिलोचन भट्टका लागि पनि डोटीको प्रतिनिधिसभाको सिट माग गरिरहेको छ । तर उनी पाउने सम्भावना देखिँदैन् । उनी फेरी पुरानै निर्वाचन क्षेत्र प्रदेशसभा ‘ख’बाट लड्ने सम्भावना देखिएको छ ।

तर कांग्रेसका नेताहरू भने प्रतिनिधिसभाको सिट मात्र नभई प्रदेशसभाका २ वटै सिट कसैलाई नछाड्ने भाषा बोलिरहेका छन् । डोटी–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्ने सबैजसो नेताहरूले डोटीमा एक्लै निर्वाचन लड्ने बताएका छन् ।

उक्त कार्यक्रममा कसले के भने ? उनीहरूको भाषणको सम्पादित अंश यहाँ उल्लेख गरेका छौँ ।

वीरबहादुर बलायर, प्रदेश सभापति

हाम्रा नेताहरूको जेनेरेसन राणासँग लडे, राजासँग लडे । तर हाम्रो जेनेरेसन बढी समय कम्युनिष्टसँग प्रतिस्पर्धामा रहेको छ । तसर्थ कम्युनिष्टले गठबन्धनका नाममा हामीलाई सहयोग गर्ने ठाउँ कम देख्छु । हामी हाम्रै बुताले उभिनुपर्छ भन्नेमा म ढुक्क छु ।

गठबन्धनकै हिसाबले स्थानीय तह निर्वाचनमा हामीले संवादको कोसिस गरेकै हौ नि । जहाँ हाम्रो हिस्सा नै बाँकी नराखेर मागेपछि एक्लै लड्यौँ । त्यसैले अहिले कोही व्यक्तिका लागि छाड्ने भन्ने सवाल नै छैन ।

गठबन्धन नभएका जिल्लामा कांग्रेस सफल भएको छ । डोटी मात्र होइन, डडेलधुरा र कञ्चनपुर पनि हेरौँ । गठबन्धन त हामी कमजोर भएको ठाउँमा जहाँ उनीहरूसँग मिलेर भागबण्डा गरेर जितिने ठाउँमा गर्ने हो ।

हामी बलियो भएको ठाउँमा, एक्लै जित्ने ठाउँमा आऊ तिमि काँध चढ भनेर कांग्रेस बोक्ने पक्षमा कहीँ पनि भन्ने छैन । यदि यसो भयो भने कांग्रेसले देशभर धोका खानेछ । त्यो धोकाबाट बचाउन हामी चुप लागेर बस्नेछैनौँ । म अहिल्यै धेरैठूलो अभिव्यक्ति दिने पक्षमा छैन ।

कसैलाई लाग्ला डोटीमा आफू लड्न म यसो भन्दै छु भनेर । डोटीमा मै हुन्छु पनि भनेको छैन, मात्र डोटीमा कांग्रेस गठबन्धनमा नगई कन आफ्नै बुतामा लड्न पाउनुपर्छ भनेको छु । संघमा मात्र होइन प्रदेशसभामा पनि । म चुनाव लड्न भन्दा लडाउन बढी केन्द्रित छु ।

त्यहाँको मुख्यमन्त्रीले कति पेलेको छ हामीलाई । डोटीका चार चार मन्त्री कांग्रेसले दिएका योजना काटेर आफ्ना कार्यकर्ताका खल्तीमा हालेको छ । कमिसन खाएर । त्यसैले नैतिक रूपमा पनि गठबन्धन गर्न सजिलो छैन ।

मैले बारम्बार भनेको छु केन्द्रीय सदस्य भएको मानिस प्रदेशको सभापति भएको छु । कांग्रेस सुदूरपश्चिममा जित्नुपर्दछ भनेर आएको हुँ । त्यसका लाग म हुनुपर्दछ भनेर आएको होइन ।

गठबन्धन गर्दा पनि कांग्रेसको स्वाभिमान जोगिनुपर्छ । कांग्रेसले स्वाभिमान गुमाएर गठबन्धन गर्नुपर्छ भने राजनीति त त्याग्न सकिँदैन तर राजनीतिका यी तिकडम बाजी स्वीकार गर्न सकिँदैन । कार्यदलका साथीहरूले सोधे पनि त हुन्थ्यो नि कस्तो छ सुदूरपश्चिममा ? तर कसैले सोधेको छैन । साँच्चिकै भन्नुस् त ३ हजारलाई ३५ हजार हालेर कहीँ जिताउन सकिन्छ ? कहीँ सम्भव छ त्यो ?

कांग्रेसको मानचित्रमा डोटी रोल नम्बर १ अरू पार्टीका सबैका मत जोड्दा पनि अढाई हजार बढी । २०७४ मा हामी ११ हजारले पछाडि हुँदा १६ सयले हारेका थियौ । यस पटक हामी आफै सबैभन्दा अगाडि छौँ । डोटीमा गठबन्धनको भारी बोक्नुपर्दैन म भित्रैबाट विश्वस्त छु ।

डोटीका गठबन्धनका कम्युनिष्टहरुसँग संवाद नै हुन्न हाम्रो । मुख्यमन्त्री मसँग बोल्नै सक्दैन । त्यो अर्कोसँग (प्रेम आले) भाषा नै मिल्दैन । त्यो भाषा र शैली म बोल्नै सक्दैन । गलतसँग काँध मिलाएर म हिँड्न सक्दैन ।

डोटीमा गठबन्धन भइहाले फेरी सरसल्लाह गर्न बस्नेछु । पशुपतिनाथले यो अवसर प्रदान नगरुन् । डोटी १ नम्बरमा रहको दुनियाँलाई थाहा छ ।

भरत खड्का, प्रदेश सभा सदस्य

गठबन्धन भनेको ७७ जिल्लामा नै गठबन्धन हो भन्ने हो जस्तो लाग्दैन । म त गठबन्धन विरोधी मान्छे हुँ । डोटी जिल्लामा गठबन्धन हुनुहुँदैन । डोटी जिल्लाको आफ्नै इतिहास पनि छ ।

२०१५ सालमा निर्वाचन हुँदा दुइटै सिट कांग्रेस जितेको हो । २०३६ को जनमतसंग्रहमा बहुदल जितेको थियो । २०४८देखि २०५६ सम्म दुवै सिट जितेका छौँ । त्यसयताका सबै निर्वाचनको समानुपातिक मतमा कांग्रेस पहिलो दल छ । अनि केका लागि गठबन्धन ?

मेरो बुझाइमा कांग्रेस गठबन्धनको विकल्पको तयारीमा पनि रहनुपर्छ । किनभने उनीहरूको माग नै धेरै छ । कांग्रेसले पुरा गर्ने ठाउँ पनि छैन । त्यो पुरा नहुँदा जे पनि हुनसक्छ । त्यसैले विकल्पको तयारीमा पनि हुनुपर्छ ।

नरेन्द्र सिंह, जिल्ला सभापति

प्रधानमन्त्रीको सामुन्नेमा पनि हामीले कुरा राखिसक्यौँ । उहाँले प्रस्ट जवाफ दिनुभएको छैन । उहाँ मौन रहनुभयो । कहिलेकाहीँ मौनतामा पनि जवाफ हुन्छ । उहाँको मौनताको अर्थ डोटीमा गठबन्धन हुँदैन भन्ने बुझेका छौँ । हामी कांग्रेसको शिर उँचो राख्न चाहन्छौँ ।

यदि डोटी गठबन्धनमा गयो भने कांग्रेसको दुर्भाग्य हुन्छ । किनभने आजका मन्त्री मुख्यमन्त्रीहरूले आफ्नो व्यवहारमै गठबन्धन देखाएका छैनन् । खै उनीहरूको बजेटमा कहाँ देखिएको छ गठबन्धन ? उनीहरूलाई कांग्रेसको भोट चाहिन्छ भनेर लागेको थियो कि थिएन ? के भनेर बोक्ने अहिले ?

विजय खड्का, उपसभापति (मेयर, दिपायल सिलगढी नपा)

गठबन्धन हुँदा वा नहुँदा डोटीका तीन सिटमा कांग्रेस लड्छ । हामीले बुझेको यही हो । थोरै त विवेक होला नि केन्द्रीय नेतृत्वमा । त्यत्ति नभएको भन्ने हामीलाई विश्वास छैन । बरकार इतिहास जानाजान अर्कोको हातमा कसले सुम्पिन्छ ? डोटीमा कांग्रेस नै लड्छ सबैलाई समेटेर लैजान्छ ।

रामप्रसाद उपाध्याय, पूर्व कार्यवाहक सभापति (अध्यक्ष, पूर्वी चौकी गापा)

गठबन्धन गर्ने नाउँमा हामी एक्लै जित्न सक्ने ठाउँमा ठूलो पद दिएर उनको कार्यकर्ता भएर अपमानित भएर बस्दैनौँ । नेताहरूले बुझे हुन्छ, देशभरमै एक नम्बर भएको जिल्लामा कम्युनिष्टलाई बोक्नुपर्छ भन्ने प्रस्ताव किमार्थ सोच्नसक्दैनौं ।

लोकेन्द्र शाही, महाधिवेशन प्रतिनिधि (अध्यक्ष केआइसिंह गापा)

गठबन्धन जुन पात्र र व्यक्तिका लागि गर्ने भनिएको छ, ती अहिले पनि कांग्रेसलाई पेल्दैछन् । कुन मुखले तीनका लागि भोट माग्ने ? कुन हातले दिने ? त्यो असम्भव कुरा हो । कांग्रेससँग भोट पनि माग्न सक्ने नाक छैन उनीहरूको ।

दीर्घ बलायर (मेयर, शिखर नपा)

डोटीमा गठबन्धन बनाउनु भनेको एमाले बलियो बनाउनु हो । ३ हजार मत नभएकाहरूलाई ३५ हजार मत खन्याउनु असम्भव कुरा हो । त्यो खन्याउँदा आधा अन्यत्रै पोखिन सक्छ । त्यो भनेको सरासर एमालेलाई फाइदा हुनु हो ।


प्रतिक्रिया

One thought on “डोटी कांग्रेसका नेता भन्छन्- देशभरमै पहिलो भएका छौँ, गठबन्धनको भारी बोक्दैनौँ

  1. केन्द्रकोे घैटाेमा नि घाम लगाउनु पर्छ । किन देशभरि नै अरुको बैशाकि बन्नु परेको हाे? कि केन्द्रीय नेतृत्व नै फेरिनु पर्छ । माओवादीको विउ नै पत्तासाफ हुन लाग्दा किन काँग्रेसको बोझ बढाउन लागेको सभापति ज्यूकाे फुस्के जस्तो लाग्यो। मलाई त केन्द्रकाे नेतृत्व नै पिटिक्कै चित्त बुझेको छैन । जय नेपाल !!!
    – क्रियाशील सदस्य सिमचौर, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर