सिंहदरबार गेटमा कर्मचारीको पर्चा- खाइपाइ आएको सुविधा पनि खोसियो
काठमाडौं । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन माग गर्दै कर्मचारीहरुले सिंहदरबार प्रवेश गर्ने गेटमा पर्चा बाँडेका छन् ।
राष्ट्रियस्तरका ट्रेड युनियहरुले विगतदेखि उठाउँदै आएका मागहरू समावेश गरी संघीय संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा जारी गर्न माग गर्दै दबाब स्वरूप कर्मचारीहरुले कार्यालय समयमा सिंहदरबार अगाडि पर्चा बाँडेका हुन् ।
संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज बिहान ९ बजेदेखि १०: ३०सम्म सिंहदरबार गेटमा पर्चा बाँडेकाे गरेको संयुक्त ट्रेड युनियन सञ्जालले जनाएको छ । उनीहरुले सिंहदरबार प्रवेश गर्ने कर्मचारी, सर्वसाधरणहरुलाई पर्चा बाँडेका थिए ।
भाेलिदेखि ६ गते देखि १७ गते सम्म सबै कार्यालयहरुमा कर्मचारीकाे मागहरु लेखिएकोकालो व्यानर राख्ने र कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी कामकाज गर्ने सञ्जालले बताएका छन् ।
कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल र अस्थिरताको भुमरीमा परेको भन्दै निजामती प्रशासनलाई संघीय शासन प्रणाली अनुरूप व्यवस्थित गर्नका लागि १२ बुँदे सैद्धान्तिक विषयहरूलाई आधार बनाई राष्ट्रियस्तरका ट्रेड युनियहरुले विगतदेखि उठाउँदै आएका मागहरू समावेश गरी सङ्घीय संसदको चालु अधिवेशनबाट सङ्घीय निजामती सेवा जारी गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरुले बाँडेकाे पर्चामा आफनो खाइपाइ आएको सुविधा समेत खोसिएको भन्दै गुनासो गरेका छन् ।
संयुक्त ट्रेड युनियन सञ्जालले घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागि हुन कर्मचारीहरुमा हार्दिक अपिल समेत गरेको छ ।