‘पेल्यो बेस्मरी’ सेलो गाउँदै पूर्वमेयरले छाडे माओवादी, सिन्धुका अरु नेता पनि एमाले प्रवेश गर्दै – Nepal Press

‘पेल्यो बेस्मरी’ सेलो गाउँदै पूर्वमेयरले छाडे माओवादी, सिन्धुका अरु नेता पनि एमाले प्रवेश गर्दै

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको निर्वतमान मेयर एवम् माओवादी नेता अमानसिं तामाङले टिकटकमा शनिबार बेलुकी भावुक हुदै तामाङ सेलो पोष्ट गरे, सेलोमो भनिएको छ-

माओवादी पार्टीको नेताले, पेल्यो मलाई बेस्मरी

पार्टीमा बस्नु नसकिने भो, निस्केर जाउँ म कसोगरी

बसौं भने पेलेर ल्याउँछ, निस्केर नगई भा छैन

पूर्वमेयर तामाङले तामाङ सेलोमार्फत माओवादी पार्टी छाड्न लागेको र लामो समय बिताएको पार्टी छाड्नु पर्दा दुःख लागेको बताएका छन् ।

सिन्धुपाल्चोक सदरमुकाम समेत रहेको जिल्लाको पहिलो नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट मेयरमा निर्वाचित भएका तामाङ भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा समेत पुनः उमेदवार हुन खोजेका थिए । तर, माओवादीले उम्मेदवार नबनाएपछि तामाङ असन्तुष्ट थिए ।

त्यतिबेला नै माओवादी छाडेर एमालेमा प्रवेश गर्ने अन्तिम तयारी भएपनि माओवादी अध्यक्ष प्रचण्डले पुनः उमेदवार बनाउने आश्वासन दिएपछि उनी रोकिएका थिए । तर, अन्तिम समयमा तामाङलाई उम्मेदवार नबनाएपछि उम्मेदवार मनोनयनको दिन तामाङ समर्थक र माओवादी कार्यकर्ताहरूबीच झडपसमेत भएको थियो ।

पार्टीले उम्मेदवार नबनाए पनि उनी माओवादी उमेदवार कृष्णप्रसाद सापकोटाको चुनावी अभियानमा भने सहभागी भई सापकोटालाई मत मागेर हिँडेका थिए । माओवादी सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित वैशाख १६ गते सम्पन्न बैठकले तामाङलाई पार्टीको केन्द्रीय सदस्य र वागमती प्रदेश सदस्यका लागि सिफारिस गर्ने, सिन्धुपाल्चोक जिल्लाको सहइञ्चार्ज बनाउने लगायतका सहमति भएको थियो ।

तर, चुनाव सकिएको दुई महिनाभन्दा बढी हुँदासमेत सहमति कार्यान्वयन नभएपछि पूर्वमेयर तामाङले पार्टी परित्याग गर्न लागेको उनी निकटका नेताहरूले जानकारी दिएका छन् । तामाङसहित माओवादीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टी प्रवेश गराउन लागेको एमाले सिन्धुपाल्चोक अध्यक्ष कमल नेपालले जानकारी दिए ।

२०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भएका तामाङ २०४९ को स्थानीय निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट कुभिण्डे गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०५८ मा माओवादीमा भूमिगत भएका तामाङ जिल्ला जनसरकार प्रमुख समेत भएका थिए ।

भोटेकोशीको उपाध्यक्षसहितको टोली पनि प्रवेश गर्ने

यसैबीच भोटेकोशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष दाबुटी शेर्पासहितको पूर्वमाओवादी नेता कार्यकर्ताहरू पनि एमाले प्रवेश गर्ने भएका छन् । माओवादीका भोटेकोशी गाउँपालिकाका अध्यक्ष आङछिरीङ शेर्पालगायतका माओवादी नेताहरू एमाले प्रवेश गर्न लागेको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष शेर्पा,पार्टीका अध्यक्ष आङछिरीङ शेर्पालगायतका भोटेकोशीका माओवादीका नेताहरुले चुनावको बेलामा नै पार्टी छाडेका थिए । उनीहरू स्थानीय चुनावमा टिकटको आकांक्षी भएपनि माओवादीले पुन राजकुमार पौडेललाई नै उमेदवार बनाएपछि शेर्पाहरूको समूहले पार्टी छाडेको थियो । उनीहरूलाई स्थानीय निर्वाचनपछि माओवादी वागमती प्रदेश कमिटीले कारबाहीसमेत गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर