सानेपाबाट नेता गिरीको अन्तिम बिदाई (तस्बिरहरू/भिडिओ) – Nepal Press
सानेपाबाट नेता गिरीको अन्तिम बिदाई (तस्बिरहरू/भिडिओ)
उमेश कार्की २०७९ भदौ ५ गते १२:०२
२०७९ भदौ ५ गते १२:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक अहिले पार्टी कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । सभामुख अग्नि सापकोटा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष बाबुराम भट्टराई एमाले नेताहरू सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायतका नेताहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कांग्रेसका शीर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ता गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा भेला भएका छन् । यसअघि गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो ।

आजै पशुपति आर्यघाटमा गिरीको अन्त्येष्टि गरिने तयारी छ ।

उपचारका क्रममा गएराति नेपाल मेडिसिटी अस्पतालमा उनको निधन भएको थियो ।