दाङमा गाडी आगजनीपछि प्रहरीको कडाइ, ८ प्रदर्शनकारी पक्राउ
रूपन्देही । दाङमा बन्दकर्ताले मंगलबार बिहानै सडकमा चलेको गाडीमा आगजनी गरेपछि प्रहरीले प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजेको आसपासमा बबई खोलाको पुल नजिक आगजनी गरेका थिए ।
चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो लगाएर भागेपछि प्रहरीले कडाइ गरेको छ ।
आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ। घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
तुलसीपुर र घोराहीबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रंहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
गाडी सवारी संचालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए । त्यस्तै घोराहीमा थप चार जना पक्राउ परेका छन् ।
घोराहीको शर्रामा बाटोमा अवरोध राखेर बन्द गरिरहेको अवस्थामा चार जना बन्द कर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए । हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई सवारी साधनमा अवरोध ताथ सडक खण्डमा अवरोध राखेर अवरोध गरेको पाइएको हूँदा नियन्त्रणमा लिनुपरेको डिएसपी गौतमले बताए ।