दरया दुगिनाको मृत्युले हल्लिएको रुस – Nepal Press

दरया दुगिनाको मृत्युले हल्लिएको रुस

काठमाडौं । गत शनिबार राति रुसमा भएको एक विस्फोटनमा परि एक जना महिलाले ज्यान गुमाइन् । उनी थिइन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकटतम सहयोगी मानिएका एलेक्जेण्डर दुगिननाकी छोरी दरया दुगिना ।

हाल रुस उनैको हत्याका कारण तंरगित भएको छ । दरया आफ्नो कारमा घर जान लागेको समयमा उनको कारमा विस्फोटन भएको थियो । रुसको अनुमान छ उक्त बिस्फोटन दरया दुगिना लक्षित नभएर एलेक्जेण्डर लक्षित थियो भने उक्त घटनामा युक्रेनको संलग्नता रहेको छ ।

यता युक्रेनले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ । घटनामा कसको संलग्नता रहेको थियो भन्ने कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसके तापनि घटनाक्रमलाई मध्यनजर गर्दा उक्त हमला एलेक्जेण्डर लक्षित नै थियो भन्ने आशंका भने जायज लाग्छ ।

बीबीसीका अनुसार मस्को भन्दा केही पर एक कार्यक्रममा सहभागिता जनाएर फर्किन लागेका एल्केजेण्डरले अन्तिम समयमा आफ्नो कार दरयालाई दिएका थिए । एलेक्जेण्डर आफ्नी छोरीसँग अत्यन्तै नजिक रहेको मानिन्छन् भने उनले आफ्नी छोरीलाई उदाउदो ताराको संज्ञा दिदै आएका थिए ।

दरयाको मृत्‍युसँगै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले एक टेलिग्राम पोस्ट जारी गर्दै घटनाको पछाडि युक्रेनको हात रहेको खुलासा भयो भने यसलाई ‘राज्य आतंकवाद’ मानिने घोषणा समेत गरिन् ।

दरया दुगिन युक्रेनमा रूसी आक्रमणको कट्टर समर्थक थिइन् भने रूसी साम्राज्यवादको पक्षमा आफ्ना बुबाको विचारलाई पनि खुलेर समर्थन गर्थिन्उ । उनी तुलनात्मक रुपमा त्यति धेरै परिचित व्यक्ति भने होइनन् । तर पनि यो घटनाले हाल रुसमा ठुलो तरगं ल्याइदिएको छ ।

जानाकारवालाहरुका अनुसार पुटिनले सन् १९९० पछि रुस एक शान्त राष्ट्रको रुपमा रहेको भाष्य निर्माण गर्न चाहन्छन् र केही हद सम्म पुटिन यसमा सफल पनि भएका छन् । यस्तो अवस्थामा पुटिनकै निकटतम सहयोगी माथि भएको उक्त हमलाले पुटिनले निर्माण गरेको भाष्यमा ठुलो प्रहार गरेको बताइन्छ ।

यसै गरी एलेक्जेण्डरलाई पुटिनको दिमाखको समेत संज्ञा दिने गरिन्छ । क्राइमियालाई रुसमा समाहित गराउनका निमित्त एलेक्जेण्डरको मुख्य भूमिका रहेको ठहर गर्दै अमेरिकाले सन् २०१५ मा उनीमाथि प्रतिवन्ध समेत लगाएको थियो ।

भनिन्छ, पुटिनका हरेक सोच पछाडिको ‘ड्राइभिङ फोर्स’ एलेक्जेण्डरका लेखहरु हुन् । रुसी सरकारलाई विश्वव्यापी मञ्चमा आक्रामक दृष्टिकोण अपनाउन र युक्रेन माथिको हमलालाई थप शसक्त बनाउन सल्लाह दिरहेका एलेक्जेण्डरकै छोरीको ज्यान जाने गरी भएको उक्त आक्रमणले पुटिनको नेत्र्त्व माथि प्रश्न उठाइरहेको कारणनै हाल रुस तरंगित भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर