श्रावणी मेलाबाट डोलेश्वर महादेव मन्दिरले गर्‍यो ९० लाख आम्दानी – Nepal Press

श्रावणी मेलाबाट डोलेश्वर महादेव मन्दिरले गर्‍यो ९० लाख आम्दानी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ सिपाडोलस्थित डोलेश्वर मन्दिरले एक महिना चलेको श्रावणी मेलाबाट ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

मन्दिर विकास समितिका सचिव एवं श्रावणी मेलाका प्रचारप्रसार संयोजक हरिशरण बस्नेतका अनुसार श्रावणी मेलाबाट ८७ लाख ७५ हजार नगद र बाँकी जिन्सी समान गरी जम्मा ९० लाख रुपैयाँ आम्दानी भएको आम्दानी हो ।

समितिले डोलेश्वर महादेवलाई केदारनाथको शीर घोषणा गरिएको दिन भाद्र ६ गतेको अवसरमा आयोजित १४ औं वार्षिकोत्सवमा उक्त आम्दानी भएको जानकारी दिएको थियो ।

श्रावणी मेला व्यववस्थापन समितिका संयोजक सूर्यबहादुर खाइतूले साउन महिनाका पाँच सोमबारसँगै अन्य दिन मन्दिर पुगेका भक्तजनबाट उक्त नगद तथा जिन्सी संकलन भएको जानकारी दिए ।

१४ वर्षअघि भाद्र ६ गते भारतको उत्तराखण्डस्थित केदारनाथका पीठाधीश भीमाशंकरलिङ्गले डोलेश्वर महादेवलाई केदारनाथको शीर घोषणा गरेका थिए । उक्त दिनको सम्मानमा सूर्यविनायक नगरपालिकाले भाद्र ६ गते स्थानीय पर्व बिदासमेत दिएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण अघिल्ला दुई वर्ष मन्दिरमा श्रावणी मेला गरिएको थिएन ।

गुरुयोजना नै बनाएर विकास गरिएको डोलेश्वर महादेव मन्दिर परिसरमा अझै दर्जन बढी भौतिक संरचना निर्माण हुन बाँकी छ । मूल मन्दिर निर्माण भए पनि काठको काम बाँकी भएको प्रचारप्रसार संयोजक बस्नेतले जानकारी दिए । उनका अनुसार मन्दिरको चौबन्दी सत्तलसमेत निर्माण सम्पन्न हुन बाँकी छ ।

त्यस्तै मन्दिर प्रवेश गर्ने मुख्य प्रवेशद्वार निर्माण बाँकी छ । ‘पहिले निर्माणको प्रतिबद्धता गरेका दाताहरु पछाडि हट्दा धेरै भौतिक संरचनाको निर्माण नै बाँकी छ’, बस्नेतले भने, ‘हामी नयाँ दाताहरुको खोजीमा छौं । कोही दाताहरु मन्दिरसम्मै पुगेका छन् । उहाँसँग छलफल पनि भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर