१५ लाख रुपैयाँको १८ हजार डलर दिने भन्दै ठगी गर्ने गिरोह पक्राउ
माथिमाथि डलर, तल ५ देखि २० रुपैयाँका नेपाली नोट !
काठमाडौं । सस्तोमा डलर दिने भन्दै मानिसहरुलाई श्रृंखलाबद्धरुपमा ठगी गर्ने गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे–३ का ३२ वर्षीय संजय तामाङ र ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । उनीहरु १५ लाख नेपाली रुपैयाँमा १८ हजार अमेरिकी डलर पाइने भन्दै कारोबार गर्न लाग्दा सोमबार टोखाबाट पक्राउ परेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।
उनीहरुको साथबाट अमेरिकी डलर ५० दरका ३७ थान र एक दरका ८ सय थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, नेपाली रुपैयाँ ५ दरका ३ सय २५ थान, १० दरका ९ थान र २० दरका एक सय ९ थान नोट बरामद भएको छ ।
यो गिरोहले काठमाडौं उपत्यका र बाहिरसमेत गरी विभिन्न ५ वटा डलर ठगी घटनामा संलग्न देखिएको प्रवक्ता कोइरालाले बताए । नेपाली रुपैयाँ पाएपछि उनिहरु मोबाइल अफ गरेर बेपत्ता हुने गरेको प्रहरीले जनाएको छ ।
पीडितले दिएको हुलियाका आधारमा स्केच तयार गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। हालसम्म दुई जनाको जाहेरी आएको र अन्य पनि सम्पर्कमा आउन सक्ने प्रहरीले जनाएको छ । गिरोहमा अन्य पनि संलग्न देखिएको भन्दै खोजी भइरहेको प्रवक्ता कोइरालाले बताए ।