बालुवाटारमा देउवालाई ओलीको व्यंग्य- मंसिर ४ मा प्रतिगमन हुने भयो होइन त ? – Nepal Press

बालुवाटारमा देउवालाई ओलीको व्यंग्य- मंसिर ४ मा प्रतिगमन हुने भयो होइन त ?

काठमाडौं । लामो समयदेखि संवादहीनताको अवस्थामा रहेका प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बुधबार बिहान आफ्ना सहयोगीसहित भेट भयो । प्रधानमन्त्रीलाई भेट्न ओली संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेलसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँग उनीनिकट नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की थिए । प्राय दौरा सुरुवालमा देखिने ओली बुधबारको भेटमा सर्ट पाइन्टमा थिए । दुई नेताबीच लामो छलफलमा मुख्य चार विषय एमालेले उठाएको थियो ।

उपाध्यक्ष विष्णु पौडेलका अनुसार एमालेले निर्वाचनको निष्पक्षता, संक्रमणकालीन न्याय निरुपणमा पीडितलाई गरिएको उपेक्षा, नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका सवालमा प्रवेश नगरी राष्ट्रपति संस्थाको मानमर्दन गर्ने कार्य र मूल्यवृद्धि नियन्त्रणमा सरकारको उदासिनताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्रीले एमालेले उठाएका विषयलाई गम्भीररूपमा लिएर गठबन्धनमा समेत छलफल गर्ने आश्वासन दिएको सरकारका प्रवक्ता कार्कीले बताए । उनका अनुसार एमालेसँगको वार्ता सकारात्मक रह्यो ।

वार्तामा सहभागी नेताका अनुसार केहीबेर बालुवाटारमा घोचपेच र हाँसोसमेत चलेको थियो । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘मंसिर ४ मा प्रतिगमन हुने भयो होइन त ? कि तपाईँले चुनाव गर्दा चाहिँ प्रतिगमन हुन्न ?’ भनेर व्यंग्यात्मक प्रश्न गरेका थिए ।

ओलीको प्रश्नले नेताहरूबीच हाँसो चले पनि देउवाले कुनै जवाफ दिएनन् । आफूले चुनाव घोषणा गर्दा अहिलेको सत्ता गठबन्धनका नेताहरूले प्रतिगामी कदम भनेको सन्दर्भमा ओलीले देउवालाई व्यंग्य गरेका हुन् । चुनाव घोषणा गरेर जनताको मत लिन जानुलाई प्रतिगमन भन्न नहुने ओलीको अडान रहँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर