सर्वोच्चको फैसलासँगै लोकसेवाका सबै परीक्षा सुचारु, १५ दिनको समय दिएर सूचना निकालिने – Nepal Press

सर्वोच्चको फैसलासँगै लोकसेवाका सबै परीक्षा सुचारु, १५ दिनको समय दिएर सूचना निकालिने

काठमाडौं । लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने तयारी गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तिम फैसला आएसँगै अब यसअघि स्थगित सबै परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम तत्काल सुरु गर्ने जनाएको हो ।

अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । विभिन्न समयमा अदालतमा परेका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ ।

ती सबै पदपूर्ति यही आर्थिक वर्षभित्र गरिने आयोगका प्रवक्तासमेत रहेका सहसचिव तोयनारायण सुवेदीले नेपाल प्रेसलाइ जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतले मंगलबार संघीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो । धेरैजसो रिट खारेज भए पनि पूर्ण पाठ आएलगत्तै परीक्षाका कारबाही अघि बढाउने आयोगका प्रवक्ता सुवेदीको भनाई छ ।

संघीय संरचना कार्यान्वयनमा आएपछि प्रदेश र स्थानीय तहमा खटाइएका कतिपय कर्मचारीले समायोजनको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारेका थिए । यस्तै थारु समूहलाई छुट्याइएको, आरक्षण कम भएको भन्दै छुटै मुद्दा पनि सर्वोच्च अदालतमा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर