बालेनको अर्को एक्सनः राहदानी विभागको पार्किङ खाली गराउँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज त्रिपुरेश्वरस्थित राहदानी विभागमा कारवाही चलाउने भएका छन् । विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिन लागेका हुन् ।
दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराउन लागेको स्रोतले बताए ।
आज बालेन आफैं भने फिल्डमा उत्रिने छैनन् । महानगरका नगरप्रहरीहरु पार्किङ खाली गराउनका लागि नगर प्रहरी उपस्थित भइसकेको छ । एसपी राजू पाण्डेको नेतृत्वमा नगरप्रहरीको टोली विभागमा आएको हो । आवश्यक परेको खण्डमा डोजर पनि बोलाउने तयारी छ ।