ममाथि घेराबन्दी र षडयन्त्र भएको छ, मकवानपुरे जनताले न्याय दिनेछन् : कमल थापा – Nepal Press

ममाथि घेराबन्दी र षडयन्त्र भएको छ, मकवानपुरे जनताले न्याय दिनेछन् : कमल थापा

हेटौंडा । आज मकवानपुरको हेटौंडामा राप्रपा नेपाल आबद्ध महिला संगठनद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा महिला दिदिबहिनीहरुसङ्ग धक फुकाएर छमछमी नाचेका छन् ।

नृत्यमा पनि सौख भएका थापा सांस्कृतिक पर्व तीजको शुभकामना दिने भन्दै आज हेटौंडा पुगेका हुन् । तीजको शुभकामना दिन हेटौंडा पुगेका थापाले मंचको भरपुर सदुपयोग गर्दै राजनीतिक भाषण गरे । घुमाउरो भाषामा आसन्न निर्वाचनमा आफू उम्मेदवार हुने, सबैले सहयोग गर्ने र जित्नेसमेत थापाले उद्घोष गरे ।

‘म ५० वर्षदेखि मकवानपुरका जनताको सेवामा अविछिन्न छु, कुनै अनैतिक र बेईमानी काम गरेको छैन, इमान्दारिता, निष्ठा र सेवा मेरो पूँजी हो, यसैको बलमा उभिएको छु, मलाई मकवानपुरका जनताको भरपुर माया र सद्भाव छ’, थापाले थपे, ‘घेराबन्दी, षड्यन्त्र र अन्यायलाई मकवानपुरे जनताले सहन सक्दैनन् । ममाथि त्यो भएको छ । मलाई विश्वास छ मलाई यसपटक न्याय गर्नेछन् ।’

मकवानपुरे जनताको सुख, दुःख र विकासमा आफू दत्तचित्त भएको भिजेको, आफ्नो उर्वर राजनितिक जीवन मकवानपुरमा नै बिताएको भन्दै थापाले महिलाहरुको हक, हित र अधिकारको संरक्षण आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।

भावानात्मक भाषण कला भएका थापाले आज कुनै राजनीतिक दललाई गाली गलौज गरेनन् । महिला अधिकार र मातृ शक्तिको भुमिकाको धेरै चर्चा गरे । आफू महिलाहरुको पक्षमा रहेको अभिव्यक्ति दिए ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार आगामी निर्वाचनमा मकवानपुर – १ बाट कमल थापा उठ्ने गरी आफुहरुले सम्पुर्ण रुपमा तयारी गरेको र उनको विजय सुनिश्चित गराउने गरी काम गर्नु आफुहरुको धर्म रहेको भन्दै थापा उठ्ने निश्चित भएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर