पूर्वमन्त्री तामाङको आइडिया- डम्पिङ साइट चाहिँदैन, लाखौं बंगुर पालौँ हजारौंलाई रोजगार दिउँ (भिडिओ)
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता शेरबहादुर तामाङले फोहोर व्यवस्थापनको नयाँ ‘आइडिया’ अघि सारेका छन् । नेपाल प्रेस सँगको कुराकानीमा नेता तामाङले कुनै पनि स्थानीय तहलाई डम्पिङ साइटको आवश्यकता नै नपर्ने दाबी गरे ।
फोहोर व्यवस्थापनको विकल्प प्रस्तुत गर्दै उनले डम्पिङ साइट निर्माण गर्ने रकमले सुँगुर पाल्न सकिने बताए ।
नेपाल टकमा तामाङले प्रस्तुत गरेको फोहोर व्यवस्थापनको विकल्प उनकै शब्दमा :-
सोलिड वेष्ट म्यानेजमेन्ट तपाईंलाई लागे जस्तो पहाड विकराल छैन, यो एकदम साधारण छ । यसका लागि डम्पिङ साइट नै चहिँदैन, नागरिक पनि केही हदसम्म सचेत हुनैपर्छ । देशभरका जति पनि नगरपालिकाहरू छन् त्यहाँ अहिले फोहोर व्यस्थापन ठूलो चुनौतीको रूपमा देखिएको छ भने काठमाडौं महानगरमा त यो विकराल समस्याको रूपमा मान्छेले चित्रण गरिरहेका छन् । अहिले हामी यो विषयमा कुरा गरिरहँदा पनि काठमाडौंका सडकमा फोहोरका चाङ छन् । फोहोर व्यवस्थापनका लागि आफैंले गरिरहेको काम हामी स्वयंले नै बुझेनौं । त्यही भएर फोहोर व्यस्थापनका म केही टर्म्सहरू बताउन चाहन्छु ।
फोहोरको व्यस्थापनका निमित्त सबैभन्दा पहिला स्रोतमा कटौती गर्नुपर्छ भन्नुको अर्थ भान्सामा कटौती हैन भान्सामा आउने बेलामै कटौती । यसको साधारण उदाहरण- जस्तो काठमाडौंमा मकै आउँछ नि । दिनभरमा कति ट्रक मकै काठमाडौंमा बिक्री हुन्छ होला ? मकैको बोक्रा र खोया छुट्टयाउने हो भने खानयोग्य भाग मकैको कति होला ? लगभग ३० प्रतिशत । अब तपाईंले ३० प्रतिशत प्रयोग गर्नुहुन्छ , ७० प्रतिशत त्यही फोहोरमा फालिदिनुहुन्छ । १०० ट्रक मकै हिसाब गरियो भने ७० ट्रक त तपाईंले फोहोरमा फ्याँक्नुभयो । अनि यही सडक हुँदै सिसडोल- बञ्चरे डाँडा हैन ? त्यो नचाहिने चिज किन शहरसम्म ल्याउने त ? बाहिरबाट मकैको दाना प्याक गरेर नेपालमा ल्याएर बिक्री हुन्छ भने नेपालका ग्रामीण भेगका मकै प्याक भएर किन नआउने ?
फर्सीका मुन्टाकै कुरा गरुम, तपाईंले जति पकाउनु हुन्छ त्योभन्दा बढी फोहोरमा फाल्नु हुन्छ । फाल्ने चिज किन ल्याउन पर्यो शहरमा ? जुन खाने भाग हो त्यति नै पठाए भयो नि । पैसा उति नै तिरौंला । फाल्ने भाग गाईभैंसीलाई खुवाउँदा भयो । रासायनिक मल भएन भन्छौं त्यसले कम्पोस्ट मल त पक्कै बन्थ्यो । अहिले काठमाडौंमा दैनिक १२-१३ सय टन फोहोर निस्किन्छ, यस्तैयस्तै चिज थुप्रिँदैथुप्रिँदै १२-१३ सय टन फोहोर बन्ने त हो ।
नेपालमा तरकारी भारत या यहीँकै कुनै ग्रामीण भेगबाट आउँछ । गाउँबाट आउने तरकारीको लागि त्यहीँ एउटा सहकारी खोलेर काठमाडौंले जे खान्छ त्यो मात्र पठाउँदा भयो नि । बरु पैसा दोब्बर लिँदा हुन्छ । काम नलाग्ने चिजलाई देखाएर धेरै परिमाण बनाएर धेरै पैसा लिने भन्ने सोचाइ नै गलत छ । हामीले जुन भाग खान्छौं त्यही भाग मात्र पठाइदेऊ प्याकिङ गरेर । यसले सोलिड वेष्टमा कटौती हुन्छ ।
दोस्रो कुरा भान्सामा कटौती । मेरै घरमा कम्तीमा ३० प्रतिशत खेर जाँदो रहेछ । हाम्रो भान्सामा अलिकति मात्र ध्यान दिने हो भने हामीले ३० प्रतिशत खाध्य जोगाउँछौं । ३० प्रतिशत घटाएर पकाउँदैमा केही हुँदैन । हल्का नपुगनपुग जस्तो खाएर पनि केही फरक पर्दैन त्यसले स्वास्थ्य राम्रै बनाउँछ । यस्तै हरेकको घरमा ३ वटा डस्टबिन किनौ त । यी ३ वटामध्ये एउटामा कुहिने चिज मात्रै, अर्कोमा प्लास्टिक मात्र र तेस्रोमा मेटल/सिसाहरू । प्लास्टिक त पैसा आउने चिज हो । किन यसलाई कुहिने फोहोरमा मिसाउनुपर्यो र ?
बाँकी रहेको कुहिने फोहोरको म्यानेजमेन्ट भने जरुरी छ । काठमाडौंमा अहिले १२ सय टन फोहोर निस्किँदो रहेछ । त्यसमध्ये ६ सय टन मैले भने जसरी व्यवस्थापन गरौं त्योबाहेक त खाना हो नि । सरदर हिसाब गर्दा एउटा बंगुरले ५ किलो खान्छ । यसरी हिसाब गर्दा यति फोहोरले १ लाख २० हजार बंगुर पाल्न सकिन्छ । १ लाख २० हजार बंगुर कम्तीमा १५ देखि २० हजार मानिसलाई रोजगारी पनि हो । मानवबस्ती नभएका ठाउँमा फार्महरू विकास गरौँ ।
काठमाडौं उपत्यकाको फोहोरबाट पालेर वर्षभरिमा करिब १० लाख बंगुर हुर्काएर बेच्न सकियो भने महानगरलाई संघ सरकारले बजेट छुट्याउनै पर्दैन । नेपालमा खपत भएर ती लाखौं बँग्र चीनका लागि त आहारा हो नि । त्यसका लागि सम्झौता गर्न सकियो । काठमाडौं र साँघाईबीच भगिनी सम्झौता राख्दिम् । यो चाँही दीर्घकालीन सोलुसन हो । बंगुर भनेको ‘नेचुरल स्वीपर’ हो यसले सबै खाइदिन्छ । त्यसैले अब यता सोचौं हामीलाई ल्याण्डफिल साइट, डम्पिङ साइट केही चाहिँदैन ।